‘नाकाबन्दी’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ ! -बसन्त गौतम

कुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हामी राजीखुशीले कुटिएका हौं! भन्नुपर्छ
लुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हामीले राजीखुशी राजिनामा दिएका हौं! भन्नुपर्छ
उसका लागि हामीले-
‘रोटी-बेटी’को बुर्का ओढिदिईरहनुपर्छ
र उसले-
हाम्रो ढाडमा छुरा रोप्न पाईरहनुपर्छ
उसले हाम्रो ढाडमा छुरा रोप्दा-
हामीले ‘ऐया!’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘छुराले किन रोपिस्?’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हाम्रो ढाड आफैं छुरा खोज्दै गएको हो।‘ भन्नुपर्छ
ढाडबाट भुल्भुली निस्केको- रगत होईन भन्नुपर्छ
त्यो उसको ‘महान मित्रता’को निशानी हो भन्नुपर्छ

हाम्रो आँगनमा उसले बुट बजारे ताली बजाइदिनुपर्छ
हाम्रो मझेरीमा उसले खुट्टा पसारे रमाईदिनुपर्छ
रमाईदिन नसके आँखा चिम्लिदिनुपर्छ
उसको हात चिलाए हामीले गाला थापिदिनुपर्छ
उसको हात अझै चिलाए अर्को गाला थापिदिनुपर्छ
यसरी हामीले-
गालापछि गाला थापिदिईरहनुपर्छ

नदी दिनुपर्छ, पानी दिनुपर्छ
पहाड दिनुपर्छ, ढुंगा दिनुपर्छ
‘बगेर पनि उतै जाने त हो नि!’ भन्नुपर्छ
उस्का लागि हामी भेलमा बगिदिनुपर्छ
उस्का लागि हामी बाढीमा डुबिदिनुपर्छ
तर गुनासो गर्नुहुँदैन, सम्बन्ध बिग्रन्छ
यौवन दिनुपर्छ, जीवन दिनुपर्छ
ठाऊँ-ठाऊँमा उसको जयगान गर्दिनुपर्छ
खटाई-खटाई सास फेर्नुपर्छ
लुकेर सुस्केरा हाल्नुपर्छ
तर हामीले चित्त दुखाउनु हुँदैन
हामी चित्त नभएका ढुंगा-मूढा बनीदिनुपर्छ
हामीले चित्त दुखाए उसलाई रिस उठ्छ
यसैले चित्त दुखाउनु हुँदैन, सम्बन्ध बिग्रन्छ
हामीले लामो सास ताने उसलाई झर्को लाग्छ
यसैले लामो सास तान्नुहुन्न, सम्बन्ध बिग्रन्छ

नाकाबन्दी गर्यो भन्नुहुन्न
नाकाबन्दी शब्दै निकाल्नुहुन्न
नाकाबन्दी भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हामी आफैंले आफूलाई थुनेका हौं!’ भन्नुपर्छ
‘सम्बन्ध ‘असहज’ भयो!’ सम्म भन्न पाईन्छ
त्यो पनि ‘असहज’ मानी-मानी भन्न पाईन्छ
टाउको झुकाई-झुकाई मात्र भन्न पाईन्छ
हामीले-
‘हामी नै खत्तम, ऊ त महान!’ भनीरहनुपर्छ
‘गल्ती भयो! माफ पाऊँ!’ भन्दै उठबस गरीरहनुपर्छ
ऊ बाहेक कसैसंग नबोल्ने कसम खाईरहनुपर्छ
उठबस गरीरहनुपर्छ
कसम खाईरहनुपर्छ

‘ऐया!’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘छुराले किन रोपिस्?’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
चित्त दुखाउनु हुँदैन, सम्बन्ध बिग्रन्छ
लामो सास तान्नुहुन्न, सम्बन्ध बिग्रन्छ
नाकाबन्दी भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
नाकाबन्दी भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ

साहित्यकार बसन्त गौतमका अन्य रचनाहरु यहाँबाट पढ्न सकिन्छ

बार्सिलोना एथ्लेटिकोसँग बराबरीमै रोकियो

६ असोज, काठमाडौं ।
लिग लिडर बनिरहेको रियल मड्रिडसँग अँक घटाउने प्रयासमा रहेको बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

एथ्लेटिकोसँग बराबरीमा रोकिएसँगै बार्सिलोनाको लिग लिडर रियल मड्रिडसँगको अंक दुरी झनै बढ्ने देखिएको छ ।

लिओनल मेस्सी घाइते भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो ।

बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४१ औं मिनेटमा राकिटिकको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जोगाउन सकेन ।

५९ औं मिनेटमा मेस्सी घाइते भएर मैदान छाडे । त्यसको दुई मिनेटपछि नै कोरिआले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल फर्काए ।  बार्सिलोनाका जेरार्ड पीके र एथ्लेटिकोका डिएगो गोडिन गोल नजिक पुगेका थिए ।

यो बराबरीले बार्सिलानाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । रियलको १३ अंक छ भने बार्सिलोना १० अंकसहित तेस्रो स्थानमा छ ।

सञ्चारमन्त्री राम कार्की भारतीय पूर्व कर्मचारी र भारतमा सम्पत्ती रहेको खुलासा

चीनसंगका नाका खोल्दा पर्यावरण बिग्रन्छ भन्ने एमाओवादी नेता राम कार्कीको हुन् ?

उनी रामराजाप्रसादसिंको जनवादी मोर्चाबाट अलग्गिएर नेकपा मसालमा आएका हुन् । दिल्लीले बाबुरामलाइ मसालबाट छुटाएर पुष्पकमल दाहालसंग जोडिन पठाउँदा उनी बाबुरामसंगै माओवादी बनेका हुन् ।

०५२ सालमा कथित जनयुद्ध सुरू हुँदा माओवादीका केन्द्रिय नेता रहेका कार्की युद्धकै बीचमा एकाएक केहि बर्ष गायब भए ।

पछि थाहा भयो की उनी सिक्कीमका मूख्यमन्त्री पवन चाम्लिङको कर्मचारिका रूपमा सिक्कीममा बसेका रहेछन् ।

कथित योद्धा दलको केन्द्रिय नेता भएको व्यक्ति उनी कसको सहयोगले सिक्कीम सरकारको कर्मचारि बने र कुन प्रयोजनका लागि त्यहाँ गए भन्ने कुरा अझैसम्म गोप्य राखिएको छ ।

सर्वहारा हैसियतका उनको अहिले भारतको सिलगढीमा प्रसस्त सम्पत्ति छ । यस्तारहस्यमय व्यक्तिले चीनसंग खुल्ने नाकाहरूको विरो ध किन गर्छ ?

सबै नेपालीलाइ याद रहोस्

पहिलो श्रीमतिलाइ सडकमा फालेर दोश्रो पटक ल्याइएकि राम कार्कीकि श्रीमति भारतीय हुन् र उनी सिक्कीमको सरकारमा सचिव स्तरको कर्मचारिका रूपमा जागिरे छन् ।

राजनीतिक विश्लेषक भरत दाहालको फेसबुकबाट साभार गरिएको हो ।

बेल्जियममा सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” सम्पन्न

बेल्जियम  । समुद्री तट नजिक रहेको ब्रेदेनेमा १७ र १८ सेप्टेम्बरमा डाक्टर फर दि पिपुल्स र सोलिडारिटी साप्ताहिकको आयोजनामा यस वर्षको सोलिडारिटी फेस्टिभल “मानिफेष्टा” भव्यरुपमा सम्पन्न भयो ।

आयोजकले जनाएअनुसार, मेलामा शनिवार १९ हजार भन्दा बढी मानिसहरु सहभागी भए । आइतवार पनि सहभागीहरुको संख्या कमि नभएको आयोजकले जनाएका छन् । उक्त मेलाकी प्रमुख अतिथि विश्व प्रसिद्द क्रान्तिकारी नेता चे ग्वाभाराको छोरी डा अलैदा ग्वाभारा थिइन् ।

विश्वभरबाट विभिन्न सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहने गरेको उक्त मेलामा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्धन कार्य गरेको छ ।

मेलामा अभियानले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा स्वागत छ भन्ने सन्देश लेखिएका ब्यानरहरुको प्रदर्शन सहित पर्यटन प्रवर्धनका सामाग्रीहरु वितरण गरेको थियो । र बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसारका साथै नेपालको संस्कृतिक र प्राकृतिक धरोहरहरुको बारेमा बनेका वृत्तचित्रहरुको हरेक दुई घन्टाको फरकमा प्रदर्शन गरेको थियो ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको निमन्त्रणालाई स्वीकार्दै उक्त कार्यक्रमकि प्रमुख अतिथि डा अलैदा ग्वाभाराले अभियानको इन्फो स्टलको अवलोकन गरेकी थिइन्र ।

सो अवसरमा अध्यक्ष आचार्यले डा ग्वाभारालाई सुन्दर फ्रेममा राखिएको सगरमाथाको पोस्टर उपहारस्वरूप प्रदान गरे । त्यसपछि डा ग्वाभाराले अभियानको तर्फबाट त्यस अवसरमा बिक्रि वितरण गरिएको स्वादिष्ट म:म र समोसाको परिकार समेत ग्रहण गरिन् ।

यसै वर्ष बेल्जियम सरकारबाट (Non-profit organisation) नाफारहित संस्थाको रुपमा आधिकारिक स्वीकृति पाएको लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले मेलामा पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

इन्फो स्टल राख्ने प्रयोजनका लागि अभियानले ५६२ युरो ६५ सेन्ट अर्थात् नेपाली रु. ६७ हजार ४४० भाडा आयोजकलाई बुझाएको थियो। नेपालको पर्यटन क्षेत्रको प्रवर्धनको लागि अभियानले यो विशाल मेलालाई एउटा अवसरको रुपमा लिएर केहि सहयोग पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले गरेको एउटा सानो प्रयास हो ।

पर्यटन प्रवर्धनका सामाग्रीहरु उपलब्ध गराई दिनु हुन अभियानले २१ जुन २०१६ का दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन मंत्री आनन्दप्रसाद पोखरेलज्यू समक्ष आधिकारिक अनुरोध गरेको थियो। त्यसपछि मन्त्रालयको निर्देशनमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्धनका सामाग्रीहरु नेपाली दुतावास, बेल्जियममा पठाईदिएको सुचना अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यलाई तत्कालिन पर्यटन सचिव प्रेमकुमार राईले फोन संवादका क्रममा दिए ।

नेपाली दुतावास, बेल्जियममा सामाग्रीहरु आईपुगेको जानकारी कार्यवाहक राजदुत घनश्याम भण्डारीले दिए पछि दुतावासमा भएका केहि पहिलेका सामाग्रीहरु र पर्यटन बोर्डले पठाएका सामाग्रीहरु लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई कार्यवाहक राजदुत घनश्याम भण्डारीले हस्तान्तरण गरेका थिए ।

संस्थाको लागि फण्ड रेज गर्ने उदेश्यले इन्फो स्टलमा एकातर्फ समोसा र मम बिक्रि वितरण गरिएको थियो । अभियानले यस कार्यक्रमका लागि संस्थाको सचिव गीर्ट कत्रिस्सेलाई संयोजनको जिम्मेवारी दिएको थियो ।

नेपालको काठ तस्करी गरेर भारत लैजान विद्यार्थीको प्रयोग

६ असोज, काठमाडौं ।
नेपालको चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्कर गरी भारत पुर्याउन तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् ।

धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले  विद्यालयमा अध्यनरत बालबालिकालाई पैसाको प्रलोभनमा पारेर काठ ढुवानी गर्न प्रयोग गर्न थालेपछि बालबालिका पढाइ छाडेर तस्करीमा लागेको पाइएको आजको अन्नपूर्णमा समाचार छ ।

काठमो एउटा फेन्टा ढुवानी गरेबापत तस्करहरुले बालबालिकालाई १ हजारदेखि १२ सय रुपैयाँसम्म दिने गरेको स्थानीयले बताएका छन् ।

कक्षा ११ मा अध्ययनरत स्थानीय रियान लामाले कक्षा छाडेर काठ काट्न गएको बताए । उनले काम गरेपछि हातको हात पैसा पाइने भएकाले साथीहरुसँग आफू पनि गएको बताए ।

यसरी तस्कर गरिएका काठ तराईका विभिन्न सिमा नाका हुँदै भारत निकासी हुने गरेको छ । चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा लगायत अवैध उत्खनन गरेर भारत निकास हुँदै आएपनि प्रशासन मौन रहँदै आएको छ ।

बिहान हुन नपाउँदै नेपालमा रक्सी पिउन भारतीयको भिड

६ असोज, काठमाडौं ।

नेपाल भारतको सीमामा पर्ने धनुषको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ ।

युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।

भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका आजको अन्नपूर्णमा समाचार छ ।

बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायक वैद्यनाथ लाल कर्ण बताउँछन् ।

उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् ।

विहान १० देखि १२ बजेभित्रै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर फर्किन्छन् ।

काठमाडौंका व्यापरिक मलले करोडौं राजश्व तिरेनन्

६ असोज, काठमाडौं ।
काठमाडौंमा खुलेका व्यापारिक भवनहरूले सरकारलाई करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको पाइएको छ ।

काठमाडौंका एक दर्जन बढी व्यापारिक मलहरूले नियमित रूपमा सरकारलाई कर नतिरी आलटाल गर्दै आएको पाइएको हो ।

स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घरजग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वाषिर्क रूपमानै तिर्नुपर्ने प्रावधान रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

खाद्यसंस्थानको जग्गामा रहेको कंचनगंघा टावर, विश्वविद्यालयको जग्गामा रहेको युनाइटेड वर्ड ट्रेड सेन्टर, नेशनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसीसद्वारा नवनिर्मित दुईवटा भवन, सिविल मल र काठमाडौं मलले नियमित कर नतिरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

सरकारलाई वार्षिक घरजग्गा बहाल, व्यवसायिक , सवारी कर तिर्नुपर्ने प्रावधान रहे पनि कतिपय व्यापारिक संस्थाले कारोबारको विवरणसमेत पेश गरेका छैनन् ।

अर्जेन्टिनी स्टार मेस्सी घाइते

६ असोज, काठमाडौं ।

बार्सिलोनाबाट स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा लिओनल मेस्सी घाइते भएका छन् ।

खेलको ५९ औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सी डिएगो गोडिनको ट्याकलका लडेर घाइते भएका छन् । घाइते भएका मेस्सीले कम्तीमा तीन हप्ता आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ ।

मेस्सीले यसअघि चोटकै कारण विश्वकप छनौटमा भेनेजुएला विरुद्धको खेल पनि गुमाएका थिए ।

सरकारले टेर्दैन संसदबाट पारित निर्देशन, सांसद मौन

काठमाडौं,असोज ६ । व्यवस्थापिका संसदले पारित गरेको संकल्प प्रस्ताव र सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको कार्यान्वयन हुँदै नभएको पाइएको छ ।

सरकारले पछिल्लो समयमा मात्रै संसदबाट पारित भएको एक दर्जन निर्देशन अवज्ञा गरेको हो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि व्यवस्थापिका संसदमा दुई संकल्प प्रस्ताव पारित भएका थिए भने करिब एक दर्जन जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।

त्यसबारे के प्रगति भएको छ भन्ने विषयमा न त संसदलाई जानकारी छ, न सरकारले नै यसबारे जानकारी दिन सक्छ । संकल्प प्रस्ताव पारित भएपछि सरकारले त्यसलाई सिधै कार्यान्वयनमा लैजानु पर्ने र के कति प्रगति भयो ? त्यसको जानकारी संसदलाई दिनुपर्छ ।

तर अहिलेसम्म सरकारका तर्फबाट संकल्प प्रस्तावको कार्यान्वयनका विषयमा संसदबाट कुनै जानकारी नगराएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।

भूकम्पपीडितले किस्ता नपाएपछि प्रधानमन्त्री असन्तुष्ट, पुनर्निर्माण सीईओ फेर्न कसरत

काठमाडौं,असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार बेलुका कामु मुख्यसचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउन नसक्नुको कारणबारे चासो राखे । उनले आइतबार बिहान १० बजे प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन शर्मालाई निर्देशन दिएका छन् । ‘भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र पुनरावलोकन गरिने बताए । आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भए पनि राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको उनले बताए ।

रियो ओलम्पिकमा नेपालको खर्च १ करोड १६ लाख

काठमाडौं,असोज ६ । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ। तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ ।

२९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए ।

एनओसीको बुधबार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २९ जनाका लागि ९८ लाख ६४ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको बैठकमा सहभागी एक पदाधिकारीले नयाँ पत्रिकालाई जानकारी दिएकाे समाचार छापिएको छ ।

यद्यपि प्रतिवेदन बुझाए पनि कोषाध्यक्ष टण्डनले केही खुलाउन चाहेनन् भने अध्यक्ष जीवनराम श्रेष्ठले सबै जानकारी टण्डनसँग रहेको बताए । परिषद्ले रियो ओलम्पिकका लागि १८ लाख बजेट छुट्याएको थियो । ‘परिषद्ले रियो ओलम्पिक शीर्षकमा १८ लाख बजेट छुट्याएको थियो,’ परिषद्को आर्थिक विभाग स्रोतले बतायो । काठमाडौंदेखि रियो दी जेनेरियोसम्मको दुईतर्फी टिकटका लागि एनओसीले लगभग ४४ लाख खर्चेको स्रोतले बतायो । सदस्यसचिव केशवकुमार विष्ट, सात खेलाडी र पाँच प्रशिक्षकको खर्च आफूहरूले नै गरेको परिषद्को उच्च स्रोतले जानकारी दिएको छ ।

‘रियोमा परिषद्ले नै सदस्यसचिव, खेलाडी र प्रशिक्षकको टिकटदेखि दैनिक भत्तासम्म उपलब्ध गराएको थियो,’ स्रोतले भन्यो ।

राष्ट्रिय भलिबल खेलाडी सञ्जय र मञ्जु सम्मानित

काठमाडौं, असोज ५ । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप कप्तान हुन । दुबै एक दशक भन्दा अघि देखी राष्ट्रिय टोलीबाट भलिबल खेल्दै आएका छन । घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस क्लब र मञ्जुले पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्ने गर्छिन । सम्मान कार्यक्रममा डा. भंटराईले नेपाल खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महशुस भएको बताए ।

‘देशले सोचे अनुसार प्रगति गर्न नसकेको बेला हाम्रा खेलाडीले जनतालाई खुसी दिएको छन । राजनिति मतभिन्नताले देश अप्ठयारो परेको बेला नेपाली खेलाडीले जनतालाई एकता, राष्ट्रियता र सहकार्यका लागी सन्देश दिएका थिए । भलिबल, मलाई मन पर्ने खेल हो । नेपालको माटो सुहाउँदो खेल हो भलिबल ।’ उनले थपे,‘ खेल्न सहज, गाउँघरमा त भलिबल मानिसको जीवनसँग जोडिएको हुन्छ । हामीले अनुभव गरेको कुरा हो भलिबल नेपालको लोकप्रिय खेल हो ।’

भंटराईले भने, ‘खेलाडी राष्ट्रको पहिचान हुन । उनीहरुको सफलतामा राष्ट्रले गर्व महशुस गर्छ । उनीहरुलाई सम्मान र प्रोत्साहन जस्ता कार्यक्रम हुनु जरुरी छ । सम्मान गर्ने अवसर दिएकोमा प्रतिष्ठानलाई धन्यावाद ।’

भंटराईले नेपाली खेलकुदमा थुप्रै सम्भावना भएपनि सकारात्मक रुपमा अगाडी बढे धेरै सफलता हासिल गर्न सकिने बताए । उनले थपे, ‘ म प्रधानमन्त्री भएकोबेला खेलाडीको सफलता अनुसार सम्मान गर्नु पर्छ भनेर सम्मानको सूरुआत गरेको थिए । तर पछि त्यसले निरन्तरता पाएन । थुप्रै कमजोरी छन खेककुदमा । तर हामी आसावादी भएर अगाडी बढनु पर्छ ।’

यसैगरी प्रतिष्ठानको अध्यक्ष विश्व विजय जोशीले संस्थाले विगत देखी नै खेलाडीलाई प्रोत्साहन गदै आएको बताए ।

‘हामीले हरेक वर्ष स्व. सञ्जय मास्केको स्मृतीमा विभिन्न सामाजिक कार्यक्रम गदै आएको छौं । सामाजिक विकास, खेल र खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गरेको छौं । तर खेलाडीलाई सम्मान गर्न पाउँदा हामीलाई खुसी लाग्छ ।’ उनले भने, ‘ स्व. सञ्जय मास्के एउटा खेल प्रेमी ब्यक्ति हुनु हुन्थ्यो । त्यस कारण हामीले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनितित्व गदै सफलता र योगदान गरेको भलिबल खेलाडीलाई सम्मान गर्ने योजना अनुसार आज सञ्जय अर्याल र मञ्जु गुरुङलाई सम्मान गरेको हौं । सम्मानले उहाँहरुको खेल करियरमा थप उर्जा थप्ने हामीले विश्वास लिएको छौं ।’

जोशीले थपे,  ‘सामाजिक काम सँग हामीले खेलकुदलाई मुख्य क्षेत्र बनाएर काम गरेको छौं । नेपाली खेलाडीमा थुप्रै सम्भावना छन । तर उनीहरुलाई हौसला र प्रोत्साहन आवश्यक छ ।’

सम्मानित खेलाडी सञ्जय अर्यालले नेपालमा राष्ट्रिय स्तरको खेलाडी भएर जीवन यापन गर्न कठिन अवस्था रहेको बताए । उनले भने, ‘भन्दा हामीलाई दुख लाग्छ । नेपालमा विभागीय क्लब नभएको भए नेपालको खेलकुदको स्तर कहाँ पुग्थ्यौं । खेलाडीले मैदानमा जति मेहनत गर्छन संघका पदाधिकारीले सक्रिय भएर काम गरेको भए खेलाडीको थुप्रै समस्या समाधान हुने थिए ।’

प्रतिष्ठानकी संरक्षक निरोज मास्केले भविष्यमा पनि खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन । उनले भनिन, ‘हामीले दुइ वर्ष अघि दुइ खेलाडी सम्मान गरेको थियौं । भलिबलको राष्ट्रिय स्तरको प्रतियोगिता धेरै हुन्छन । तर खेलाडीलाई सम्मान र हौसला दिने कार्यक्रमको अभाव छ । म संघको उपाध्यक्ष भएर पनि त्यस्तो कामको सुरुआत गर्न सकेको छैन । तर प्रतिष्ठानबाट हामीले खेलाडीलाई सम्मान गर्ने प्रयास गरेको छौं ।’

दुई वर्ष अघि प्रतिष्ठानले राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना र महिला टोलीकी पुर्व कप्तान निता शाहलाई सम्मान गरेको थियो । बुधबार सम्मानित भएकी मञ्जु गुरुङले भविष्यमा थप मेहनत र उपलब्धी हासिल गर्ने हौसला मिलेको बताइन । उनले भनिन, ‘सम्मान गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यावाद । खेलाडीलाई यस्ता सम्मानले हौसला थप्छन । र खेलमा थप मेहनत गर्न प्रेरणा मिल्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web