२५ असोज, काठमाडौं ।
आज नेपालीहरुको महान् चाड बिजया दशमी देशभर हर्षोल्लासपूर्बक मनाईदै छ ।

दसैघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना बिधिपूर्बक आज बिर्सजन गरिन्छ र श्री नबदुर्गा भबानीको प्रतिक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठुलाबडा एबं मान्यजनहरुबाट टीका र जमरा लगाईदै छ ।

आज बिजयादशमीको टीकाको साईत बिहान ८ः४५ मिनेट देखि दिनभरी नै रहेको पंचाग्न निर्णयाक समितिले जनाएको छ ।

मीठो खाने,राम्रो लाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एबं सद्भाब अभिबृद्र्धि गर्ने पर्बका रुपमा दश दिनसम्म मनाईने यो बडादशै पर्ब धार्मिक मात्र नभएर सामाजिक सांस्कृतिक पर्बका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको बिजयका रुपमा मनाईने यो पर्ब पर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक राबणमाथि बिजय प्राप्त गरेको पुनीत सम्झनामा मनाउने पनि गरिन्छ ।

राम्रा राम्रा पोसाकमा सजिएका निधारभरि दही अक्षताका राता टीका लगाएर सिरमा जमरा सिउरेका मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज बिशेष चलहपहल देखिन्छ ।

स्वदेश वा बिदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई बिजयादशमीको टीका,जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका
बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न महानुभाव र सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिनु भयो ।

राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजे देखि हपरान्ह सम्म सर्वसाधारणलाई टिका लगाइदिनुभयो ।

कुमारीको हातबाट टीका ग्रहण
विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रुपमा पुजिँदै आएको कुमारीको हातबाट आज टीका ग्रहण गर्नेको घुइँचो लागेको छ ।

कुमारी जिविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाउनु भएको छ ।

कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उहाँको हातबाट टीका लगाउने परम्परा रहेको छ ।

प्रधानमन्त्रीको दसैँ
प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाउनुभएको छ ।

उहाँले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाउनुभएको उहाँका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिनुभयो ।

सभापति देउवाद्वारा विजया दशमीको शुभकामना

यसै अबसरमा दिनुभएको शुभकामना सन्देशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनद्वारा विजयादशमीको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आज सन्देश दिदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशलाई प्रकृतिको सुन्दरतासँगै हाम्रा मौलिक संस्कार, संस्कृति तथा चाडबाडले झनै सुन्दर बनाइरहेको उल्लेख गर्नु भएको छ ।

ब्रह्मायणी जात्रमा हजारौँको भीड
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रह्मायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप आज दर्शनार्थीको भीड लागेको हो ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

मान्यवर छविलाल काका,
देशको प्रधानमन्त्री तपाइँ टीका बहिष्कार
गरेर बालुवाटारमै बस्नुभो भन्ने समाचारहरु आएका छन् । प्रधानमन्त्रीका
रुपमा तपाइँसँग टीका थाप्न चाहनेहरु कि शीतलनिवास (राष्ट्रपति कहाँ) गए, कि
त निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र कहाँ) । आगामी निर्वाचनमा तपाइँका
मतदाता बढे कि घटे होलान्, हिसाब गर्दै गर्नुहोला ।

कुनै धर्म वा
संस्कृति मान्ने वा नमान्ने स्वतन्त्रता तपाइँलाई छ । तर, दशैंमा टीका
लगाएको भए, सांस्कृतिक पोशाक दौरासुरुवाल लगाइ दिएको भए तपाइँको कथित
क्रान्तिकारी छवि बिग्रने थिएन । बरु, ८१
प्रतिशत नेपालीहरुसँग सांस्कृतिक सद्भाव र सामिप्यता अझै बढ्ने थियो । अझ
राजनीतिक नेताहरुले त जनसम्पर्कका लागि सांकेतिक रुपमा सबै कुराको नेतृत्व
लिनु पर्ने हुन्छ ।

यहाँलाई
थाहै होला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहम्मद मोहसिन दशैंको
टीका थाप्न राजदरबार जान्थे । उनी जन्मजात मुस्लिम थिए, तर उनको टीका ग्रहण
धर्मान्तरण थिएन, बहुसंख्यक नेपालीहरुप्रति उनले दर्शाएको सद्भाव थियो
किनभने उनका धेरै मतदाता हिन्दु थिए । उनी सांस्कृतिक रुपमा सबैसँग जोडिन
चाहन्थे ।

वर्तमान अमेरिकी राजदूत एलाइना बी. टेप्लिजले आजै दशैंको टीका
जमरा लगाएर नेपालीहरुको सांस्कृतिक पर्वप्रति सद्भावना प्रकट गरिन् । उनी
धर्मले क्रिस्चियन हुन् । तर, उनी बहुसंख्यक नेपालीहरुले खुसी साटेको
बेलामा त्यसमा सरिक हुन चाहिन् । उनी हिन्दु भएकी होइनन् ।

अमेरिकी
राष्ट्रपति, बेलायत र क्यानडाका प्रधानमन्त्रीले दिवाली पर्व मनाएर हिन्दु
धर्मावलम्बीहरुको मन जितिरहेका छन् । गत वर्षको होली महोत्सवमा क्यानडाका
प्रधानमन्त्री जस्टिन ट्रुडो हिन्दुधर्मावलम्बीहरुसँग धुमधाम होली खेलेका
थिए । राजनीतिक नेताहरुले सांस्कृतिक सहभागी हुनु भनेको चुनावमा भोट बढाउनु
पनि हो ।

तपाइँले १२ वर्षमा मनाइने पचली भैरवको जात्रामा जान अस्वीकार
गरेका कारणले पूर्वराजा ज्ञानेन्द्रलाई १० दिन अघि स्थानीयवासीले राजाकै
हैसियतमा बोलाए । यसले तपाइँको कद होचिँदै गएको अनुभव गर्न सकिन्छ । अझ
स्पष्ट भन्नु पर्दा तपाइँको हेलचेक्र्याइँले राजतन्त्रवादीहरुलाई अझ बल
पुग्यो । यति सामान्य गणित तपाइँले बुझ्नु भएन ।

छविलाल काका,
तपाइँको जीवनकालमै माओवादी केन्द्रमा दुइचारजना आसेपासे बाहेक कोही नरहने
अवस्था आउन सक्छ । सांस्कृतिक विखण्डनले निकै दूरगामी असर पारेका अनेक
घटनाहरु इतिहासमा दर्ता भएका छन् । प्रधानमन्त्रीको टेबलमा सजाइएका तीन थान
डिक्सनरीहरु मात्रै नपढ्नुस्, झिनामसिना ठानिएका व्यवहारिक कुराले अझै
महत्वपूर्ण र रणनीतिक भूमिका खेल्छ । तपाइँको चेत खुलोस् । तपाइँ अझै
धेरैको साझा प्रधानमन्त्री बन्न सक्नुहोस् ।

शुभेच्छुक
भानुभक्त आचार्य

यी २ वटा पाखण्डिहरूकाे छटपटाहटमाथि कतिले ध्यान दिनु भएकाे छ ? पहिलाे कुरा त संस्कृतिकाे अालाेचनाकाे कुरा गर्दा यीनीहरूले जहिले पनि हिन्दुत्वकाे मात्र यसरि कुरा उठाउँछन् कि मानाैं अरू सबै सम्प्रदायहरू विज्ञानकाे कसिमा खारिएर चलेका छन्। यीनीहरूकाे दाेश्राे वर्वराहट हिन्दू धर्म/संस्कृतिकाे सुधारकाे पुनर्व्याख्या हुनुपर्छ रे !

ब्रम्हाण्डकाे कुनै कुरा दाेषमुक्त छैन भन्ने तथ्य यीनीहरूले पढाउनु पर्दैन। यीनीहरू पश्चिमी साम्राज्यवादकाे मिशनका किटाणुहरू भएकाले हिन्दूत्वकाे मात्र समस्या देख्छन् भन्ने पनि बुझिएकै विषय हाे। १७ हजार मानिसहरूकाे बलि चढाएर अाएका यीनीहरूले गर्ने बलि प्रथाकाे विराेधका पछाडि पनि हिन्दू विराेधि अभियान छ भन्ने कुरा सबैले बुझ्छन्।

अब रह्याे राजनीतिक परिवर्तनसंगै संस्कृतिकाे पुनर्व्याख्या गर्ने र मन्त्रहरू फेर्ने कुरा। संस्कृति भनेकाे यीनीहरूका मानस पिताहरू प्रणब मुखर्जी, श्यामशरण र हर्मिज थाराकानले गराएकाे १२ बुँदे हाेर्इन। संस्कृति मानिसहरूकाे जीवनकाे अावश्यकताले परिस्कृत हुँदै जान्छ, पुष्पकमल र बाबुराम जस्ताे भएर विदेशीकाे अादेशमा परिर्तन हुँदैन।

यीनीहरूकाे राजनीतिले संस्कृति बदल्ने भए, यीनीहरूले हिंसाकालमा जबर्जस्ति रूपमा गराए जस्तै, नेपालीहरूले अहिले मन्दिरहरूमा पेशाव गर्ने, किरियापुत्रीका घाँटीमा गाइका अान्द्राकाे माला लगाउने, गाइ काट्ने पेशा गरेर डलर थाप्ने र माेदीकाे अारती गरेर वर माग्ने काम गरिरहेका हुन्थे। अाफ्नाे दलाल, हत्यारा, भ्रष्ट चरित्रले अाफैलार्इ मान्छेका रूपमा रहन दिएकाे छ कि छैन भनेर पहिले अाफ्नै पुनर्परिभाषा गर कवाडिहरू हाे !

भरत दाहालको फेसबुकबाट साभार

काठमाडौं ।
प्रचण्ड नेतृत्वको माओवादी छाडेर आफैं नयाँ पार्टी खोलेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले विजया दशमीको शुभकामना समेत फेर्न प्रस्ताव गरेका छन् ।

नेपालको राष्टिय झण्डानै फेर्न प्रस्ताव गरेका उनै भट्टराईले दशैंको शुभकामना भन्दै सामाजिक सञ्जाल फेसबुकमा दशैंको टीका लगाउँदा दिइने आशीर्वाद फेर्नुपर्ने बताएका छन् ।

संस्कृतको मन्त्रमा दशैंमा महिला र पुरुषलाई दिने आशिर्वाद फरक भएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मान्यजनले पुरुषलाई दिने आर्शीवाद ‘आयुर् द्रोण सुते श्रेयम दशरथे।।। विज्ञान विदूरे, भवन्तु भवताम्, कीर्तिस्च नारायणे’ तथा महिलालाई दिइने आर्शीवाद ‘ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी।।। रहेको भन्दै फेर्न माग गरेका छन् ।

युग फेरिएको तथा महिला र पुरुषमा भिन्नता नरहेकाले आर्शीवाद पनि समान गर्नु पर्ने उनको प्रस्ताव छ ।

तर भट्टराईले महिला र पुरुषलाई दिएको आशिर्वादको भिन्नता र यसको फेर्नुपर्नाको स्पष्ट कारण भने खुलाएका छैनन् ।

नेपालको राष्टिय झण्डा फेर्न प्रस्ताव गर्दै द्धन्द्धकालपछि शान्तिकालमा आउँदा चर्को जनदवाव र आक्रोश परेपछि आफ्नो विचार मात्र राखेको भन्दै बचाउ गरेका भट्टराईको दशैंको आशिर्वाद फेर्ने प्रस्ताव पनि बिवादमा पर्ने देखिएको छ ।

यस्तो छ भट्टराईले फेसबुकमा लेखेको स्टाटस

विजया दशमी २०७३ को उपलक्ष्यमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्यूभाइहरूमा हार्दिक शुभकामना!!

आज मान्यजनहरूले पुरुषलाई दिने आशीर्वाद ( ' आयुर् द्रोण सुते श्रेयम दशरथे, शत्रुक् क्षेयम् राघवे ……विज्ञान विदूरे, भवन्तु भवताम्, कीर्तिस्च नारायणे ) र महिलालाई दिने आशीर्वाद ( ' ओम् जयन्ती मंगला काली भद्रकाली कपालिनी। दुर्गा क्ष्यमा शिवा धात्री स्वहा स्वधा नमोस्तुते।) लाई बलिएको युग अनुरूप परिमार्जन र समान गर्दा कसो होला?

२५ असोज, एजेन्सी ।
सन् २०१८ को विश्व कप फुटवलको छनौट खेलमा नयाँ विश्व रेकर्ड कायम भएको छ ।

विश्वकप छनौट खेलमा जिब्रालटारसँगको खेलमा ह्याट्रिक गर्दै बेल्जियमका क्रिष्टियन बेनटेकले नयाँ विश्व रकेर्ड समेत राखेका छन् ।

उनले खेलको ८.१ सेकेण्डमा गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा छिटो गोल गर्ने खेलाडीमा नाम लेखाएका छन् ।

यसअघि सान मारिनोका डेविड गुएलटिएरको नाममा थियो । उनले सन् १९९३ मा भएको विश्व कप छनौट अन्तर्गत इंग्ल्याण्डसँगको खेलमा ८.३ सेकेण्डमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।

बेनटेकले खेल सुरु भएलगतै दोस्रो टचमा नै गोल गरेका हुन् । उनले ४३ र ५५ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक समेत गरे । यो खेलमा बेल्जियम ६–० ले विजयी भएको छ ।

२५ असोज, काठमाडौं ।
आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको तेस्रो खेलमा नेपालले चीनलाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा पहिलो जित दर्ता गराउँदै नेपालले चीनलाई २० रनले हराएको हो ।

नेपालले प्रस्तुत गरेको ९६ रनको सामान्य लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा मात्र ८ विकेटेको क्षतिमा ७५ रनमात्रै बनाउन सक्यो ।

चीनकी वु जुएनले ११ तथा जोउ मिएओ र लि यिङयिङले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी सीता राना मगरले तीन तथा सबनम राईले दुई विकेट लिइन् ।

हङकङको कोवलुनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनायो ।

नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन् । यस्तै निर्मला कुमारी शाहीले १४ तथा ज्योती पाण्डेले १० रन बनाइन् ।
जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको छ ।

प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ ।

नेपालले अघिल्लो चरणमा पुग्न बाँकी खेल जितेर मात्र पुग्दैनकी अन्य खेल समेत आफ्नो पक्षमा हुनेगरि हार जित हुनुपर्ने देखिन्छ ।

एजेन्सी ।
यस बर्षको नोबेल शान्ति पुरस्कार जितेका कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाउने पुरस्कार बापतको रकम द्धन्द्ध पिडितलाई दिने बताएका छन् ।

नोबेल शान्ति पुरस्कारको ९ लाख २५ हजार अमेरिकी डलर आफ्ना देशका द्धन्द्धपिडितको लागि खर्च गर्ने उनको भनाई छ ।

कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया ९फार्क० विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको कारण कोलम्बियामा लाखौंको सङ्ख्यामा द्वन्द्व पीडित भएका छन्।

कोलोम्बियामा पाँच दशकसम्म जारी द्वन्द्वमा परी २ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

त्यसैगरी ४५ हजार बेपत्ता भएका छन्। । यस द्वन्द्वका कारण सात लाख व्यक्ति विस्थापित भएका छन्। ।

कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप सान्तोषलाई यस बर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको छ ।

२५ असोज, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको टिका शुभ साईटमा ८ ४५ बजे हनुमानढोका दसैँघरका मूल पुजारीबाट लगाएकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी देवराज अर्यालले विजयादशमीको टीका राष्ट्रपतिलाई लगाइदिएका हुन् ।

राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकालको पनि उपस्थिति रहेको थियो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगादिएका थिए ।
राष्ट्रपति भण्डारीले भने छोरी उषाकिरणलाई टीका लगाइदिएकी थिइन् ।

साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिइन् ।

राष्ट्रपति कार्यालयका अनुसार सर्वसाधारणले राष्ट्रपतिको हातबाट टिका लगाउन चाहे २ बजेपछि शितल निवास जान सक्नेछन् ।

२५ असोज, काठमाडौँ ।
नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादशैंको मूख्य दिन आज घरघरमा टीका जमरा लगाएर आशिर्वाद थाप्ने काम भइरहेको छ ।

बिहान ८ बजेर ४५ मिनेटमा दशैंको टिकाको उत्तम साइत भएपनि दिनभरनै टिका लगाउन मिल्ने भन्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिले आर्शिवाद र टीका लगाउन साइत नचाहिने बताएको छ ।

हिन्दु धार्मीक ग्रन्थ अनुसार असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको टिकाको दिनलाई सबैभन्दा महत्वपूर्ण दिन र चाडको रुपमा मान्ने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत भने बिहान ८ बजेर २५ मिनेट रहेको थियो ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरेर मनाउने गरिन्छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन ।

आफ्ना मान्यजनहरूबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकस्वरूप कान तथा शिरमा सिउरने गन्छि ।

दशैंमा प्रयोग गर्ने विधि अनुसार उमारेको जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

त्रेतायुगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक कथन रहि आएको छ ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट टीका र जमरा लगाइन्छ ।

बडा दशैंको टिकाको दिन आज आफ्ना गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आशिर्वाद लिने चलन रहि आएको छ ।
मान्यजनले यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद दिने गर्दछन् ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने प्रचलन समेत रहेको छ ।

पहिलो पटक बिवाह गरेका जोडीहरुले आजै दशैंको टिकाकै दिन ससुरालीमा टिका थाप्ने प्रचलन पनि रहि आएको छ । यस बाहेक दशैंको शुभ दिनमा बिवाह गर्नको लागि समेत साईत नचाइने बताइन्छ ।

यस्तै विदेशमा रहेका लाखौं नेपालीहरुले पनि सामुहिक तथा साथिभाई र आफन्त जम्मा भएर बडा दशैं मनाईरहेका छन् ।

बैदेशीक रोजगारी, अध्ययन तथा व्यवसायको लागि बिदेशमा रहेका दशौं लाख नेपालीहरु काममा समय मिलाएर शुभ साईत तथा बिहानै र आज दिनभर समेत टिका लगाएर दशैं मनाउने गर्दछन् ।

२५ असोज, एजेन्सी ।
सन् २०१८ को विश्व कप छनौटको आफ्नो दोस्रो खेलमा फ्रान्स र स्वीडेनले लगातार दोस्रो जित दर्ता गराएका छन् ।

सोमबार राति भएको खेलमा फ्रान्सले नेदरल्याण्डसलाई १–० ले हराएको हो । फ्रान्सको जितमा पउल पोग्बाले ३० औं मिनेटमा गेरको गोल नै निर्णायक बन्यो । फ्रान्सले यसअघिको खेलमा बुल्गेरियालाई ४–१ ले हराएको थियो ।

समूह ए अन्तर्गत नै भएको खेलमा स्वीडेनले बुल्गेरियालाई ३–० ले हरायो । स्वीडेनका लागि टोइभोनेन, हिल्जेमार्क र लिन्डेलोफले एक एक गोल गरे ।

जितपछि समान सात अंक भएपनि स्वीडेन गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ । समूह ए अन्तर्गतकै खेलमा बेलारुसले लग्जेम्बर्गसँग १–१ को बराबरीमा रोकेको छ ।

२५ असोज, एजेन्सी ।
भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भइरहेको छ ।

समाचार अनुसार पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमबार बिहानदेखि सुरु भएको भिडन्त अहिले पनि जारी छ ।

भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले जनाएको छ ।

सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ ।

श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्त इन्स्टिच्युडको यो भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको हो ।

२५ असोज, अछाम ।
अछामको बुढाकोट–८ मा अत्यधिक मदिरा सेवन गरेका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बुढाकोटका भीम बिकले श्रीमतीको हत्या गरेका हुन् ।

४५ वर्षका भीमले आइतबार राति कुटपिट गरेर ४० वर्षकी श्रीमती डिक्रादेवी विकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख निरन्जनदत्त भट्टले बताउनुभयो ।

आफूले रक्सी खाकाले श्रीमतीलाई कुटपिट गरेको र त्यसकै कारण ज्यान गएको भीमले स्वीकारेको प्रहरीले जनाएको छ ।

भीमलाई प्रहरी हिरासतमा राखिएको डिएसपी भट्टले जानकारी दिनुभयो ।