काठमाडौं ।
सर्वोच्च अदालतको फुल कोर्टले न्यायाधीशले खाइपाइ आएको तलबका अतिरिक्त ५० प्रतिशतसम्म न्यायिक भत्ता हुनुपर्नेलगायत प्रस्ताव पारित गरेको छ ।

सर्वोच्च बैठकको निर्णयअनुसार न्यायाधीशको कार्यबोझका आधारमा सर्वोच्च, उच्च र जिल्ला न्यायाधीशको सुविधा बढाउन सरकारमा प्रस्ताव पठाउने भएको हो।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित बुधबार बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले यो निर्णय गरेहो हो ।
यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ।

काठमाडौं ।
नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ ।

भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको खबर आजको नागरिकमा छापिएको छ।

निर्देशिकामा अन्य देशमा उत्पादन भएको बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ ।

भारतमा विजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत व्यापार कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ।

ओखलढुंगा ।
जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सिद्धिचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएका थिए । त्यसपछि उनका नजिकका साथीहरू सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए । त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली जिल्ला प्रहरीको गाडी लिएर पुगे । त्यहाँको अवस्था सामान्य देखेपछि उनी फर्किए ।

तर फेरि अर्का सई पशुपति झालाई पक्राउ गरेर ल्याउन आदेश दिएपछि उनको टोली गयो । सोही समयमा मापसे गरेका प्रहरी टोली गोरुमारेभञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताए ।

‘अरूको झगडा मिलाउने पुलिस आफंै हानाहान गरेपछि हामीले छुटयाउने अवस्था नै रहेन,’ एक स्थानीयले भने, ‘जिल्लाबाट अर्को टोली पठाएपछि मात्र झगडा नियन्त्रणमा आयो ।’ त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पताल, ट्राफिकको मेसिनमा समेत प्रमाणित नभएपछि जिल्ला स्वास्थ्य कार्यालय पुर्याइएको स्रोतले बतायो । पक्राउ गरेर लगिएपछि ती जवानहरूलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए ।

मंगलबार नै प्रहरी प्रमुख डीएसपी मिलन केसी भने हेलिकप्टर चढेर व्यक्तिगत कामका लागि राजधानी गएका थिए । केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिँडेको प्रहरीहरू आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।

जिल्ला प्रहरीका निमित्त प्रमुख दीपक साहले झगडा गर्ने टोलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

काठमाडौं,मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य मुलुकबीच बृहत्तर सहयोग अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३१औँ वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने बताउनुभएको छ ।

सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले यस क्षेत्रका जनताको विकासका आकाङ्क्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाउनुभएको छ । सार्कका विगतका निर्णय र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा उहाँले जोड दिनुभएको छ ।

तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एसियामा गरिबी निवारण, शान्तिको प्राप्ति, स्थायित्व र समृद्धि भएको चर्चा गर्दै उहाँले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ – “सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न हामीले पुनःप्रतिबद्धता जाहेर गर्नुपर्छ । गरिबी, आतङ्कवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन हाम्रा साझा चुनौती हुन् ।” सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य भएको पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सार्क दिवसका अवसरमा यसका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटूट प्रतिबद्धता दोहो¥याउँदै सार्कको संस्थापक सदस्यका नाताले नेपालले काम गरिरहने बताउनुभएको छ ।

दक्षिण एसियाली मुलुकका नागरिकप्रति हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बान्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ । रासस

काठमाडौं,मंसिर २२ । पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता ललितपुरमा बुधबार सुरु भएको छ । महिलातर्फ २६ र पुरुषतर्फ ६९ खेलाडीले छनोट प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पहिलो दिन ललितपुरका क्यारोन महर्जनले बाराका जितेन्द्र यादवलाई १८–२१, २१–१५, २१–१९ले पराजित गर्दै दोस्रो चरणममा स्थान बनाए ।

यस्तै ललितपुरकै दिपेश शाक्यले नुवाकोटका विक्रम भण्डारीलाई २१–५, २१–५ को सोझो सेटमा हराए । यस्तै बुधबार भएको प्रतियोगिताबाट दोस्रो चरणमा प्रवेश गर्नेहरुमा प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, विजय के.सी. धनुषा, साईनिङ्ग महर्जन ललितपुर, हरी गोतामे धादिङ्ग, सन्तोष श्रेष्ठ दोलखा, भिमबहादुर थापा ललितपुर, रेवती कार्की मकवानपुर, रमेश श्रेष्ठ सिन्धुपाल्चोक, बरुणकुमार दाहाल महोत्तरी, भुपाल राना सर्लाही आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको समिरबहादुर सिंहले जानकारी गराए ।

सुदूरपश्चिमाञ्चल

यस्तै सुदूरपश्चिमाञ्चलको टिकापुरमा जारी कराते प्रतियोगिताको पुरुष तर्फ आकाश पाल प्रथम हुंदै राष्ट्रिय प्रतियोगिताको लागि छनोट हुन सफल भएका हुन् । उनले ५० केजी समूहमा नरेश बोगटीलाई पराजित गरेका थिए । यस्तै ५५ केजीमा गणेश विकले दीपक भण्डारीलाई, ६० केजीमा राजेन्द्र अवस्थीले गोविन्द बानियाँलाई तथा ६४ केजीमा मोहमद सेख आलमले खेल जोशीलाई पराजित गर्दै पूर्वाञ्चलमा हुने साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका छन् ।

यस्तै महिलातर्फ ४५ केजीमा निषा थापाले बर्षा साउदलाइ, ५० केजीमा अन्फ विष्टले निर्मला भखामीलाई पराजित गर्दै छनोट हुन सफल भए । प्रतियोगिताको महिला एकल कातामा बर्षा बिष्ट र सुनिता सुनार पहिलो र दोश्रो तथा पुरुषतर्फ ललित खत्री प्रथम भए । यस्तै समूह कातामा महिला तर्फ कञ्चनपुर र कैलाली तथा पुरुषतर्फ कैलाली र कञ्चनपुर पहिलो र दोस्रो भए ।

पश्चिमाञ्चलबाट ह्यान्डबल र भारोत्तोलन खेलाडी छनोट

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट ह्यान्डबल पुरुष र भारोत्तोलनका खेलाडी छनोट भएका छन् । ह्यान्डबलमा कास्कीका खेलाडीले वर्चश्व जमाएका छन् । छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन् ।

छनोट प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न खेलबाट विशाल बस्नेत(कास्की), बिमल अधिकारी (कास्की), सन्दिप खड्का (कास्की), दिनेश श्रेष्ठ (कास्की), प्रेम गुरुङ (कास्की), सरन थापा (कास्की), चन्द्र केसी (कास्की), भासु गुरुङ (कास्की), सुरज देवकोटा (कास्की), प्रतिक भुजेल (रुपन्देही), प्रतिक थापा (रुपन्देही), प्रचन काला (बाग्लुङ), कल्याण भण्डारी (बाग्लुङ), डम्वर बहादुर महतो (नवलपरासी) रहेका छन् भने बैकलपिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी (कास्की) रहेका छन् ।

भारत्तोलन

यस्तै भारत्तोलनमा कास्कीका भोजबहादुर विक ६६ केजी तौल समूहमा छनोट भएका छन् भने ६२ केजी तौल समूहमा धनबहादुर झाँक्री मगर र ५६ केजी तौल समूहमा पुष्कल थापा छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता सचिवालय कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

एथ्लेटिक्स

छनोट प्रतियोगिता अन्र्तगत ५ हजार मिटर दौड पुरुषमा प्रकाश कुँवर (पर्वत)ले स्वर्णपदक जिते । उनले १६ मिनेट ५० सेकेन्डमा दुरी पूरा गरे । आर्यन सिग्देल(गोर्खा)ले १७ मिनेट १७ सेकेन्डमा दुरी पार गदै रजत जित्दा १७ मिनेट ४४ सेकेन्डमा दुरी पुरा गदै प्रताप भुसाल(पर्वत)ले कास्य पदक जिते । ५ हजार मिटर महिला दौडमा दोलमया महतो(नवलपरासी)ले स्वर्ण, सिता सेन(गुल्मी)ले रजत र बबिता चौहानले कास्य पदक जितिन् । त्यस्तै १ सय मिटर पुरुष दौडमा जयसदामराम चौधरी(कपिलबस्तु)ले स्वर्ण जिते भने विकासकुमार शाह(कास्की)ले रजत र युवराज थापा(तनहुँ)ले कास्य पदक जिते ।

१ सय मिटर महिला दौडमा विपना परियार(नवलपरासी)ले स्वर्ण जितिन भने रिमा कार्की(म्याग्दी)ले रजत र अनिषा भण्डारी(कास्की)ले कास्यपदक जितिन् । छनोट अन्र्तगत एक सय गुणा चार रिले पुरुषमा कपिलबस्तुले स्वर्णपदक जित्यो भने कास्कीले रजत र नवलपरासीले कास्यपदक प्राप्त गर्न सफल भयो । ४ सय मिटर पुरुष दौडमा सन्दिप चौधरी(कपिलबस्तु)ले स्वर्ण, युवराज थापा(तनहुँ)ले रजत र टिकराज गुरुङ(स्याङजा)ले कास्य पदक जिते ।

ट्रिपलजम्प

छनोट प्रतियोगिता अन्र्तगत बुधबार भएको ट्रिपलजम्प पुरुषतर्फ जोयेन्द्र गुरुङ(लम्जुङ)ले स्वर्ण, जयसराम चौधरी(कपिलबस्तु)ले रजत र प्रकाश राना मगर(नवलपरासी)ले कास्य पदक जिते । त्यस्तै ट्रिपलजम्प महिलामा विपना परियार(नवलपरासी)ले स्वर्ण, प्रतिमा थापा(लमजुङ)ले रजत र ज्योती श्रेष्ठ(तनहुँ)ले कास्य पदक जितिन् । त्यस्तै डिसकस थ्रो पुरुषतर्फ केशब कुमाल(गुल्मी)ले स्वर्ण, भद्रबहादुर खत्री थापा(तनहुँ) रजत र विनोद थनेत(नपलपरासी)ले कास्य पदक प्राप्त गरे ।

डिसकस थ्रो महिला तर्फ मनिष आले(कास्की)ले स्वर्ण, सोनु नेपाली(कास्की)ले कास्य र लक्ष्मीदेवी थारु(नवलपरासी)ले कास्यपदक जितिन् । मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।

ज्याभलिन थ्रो

छनोट अन्र्तगत ज्याभलिन थ्रो महिलामा मनिषा आले(कास्की)ले स्वर्ण जित्दा कास्कीकै सोनु नेपालीले रजत पदक जितिन । लक्ष्मी देवी थारु(नवलपरासी)ले कास्य पदकमा चित्त बुझाइन् ।

फुटबल

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बुधबार भएको फुटबल खेलमा कास्की विजयी भएको छ । पोखरा रगंशालाको फुटबल मैदानमा भएको खेलमा कास्कीले कपिलबस्तुलाई ५–० को फराकिलो जित निकाल्यो ।

मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।

एजेन्सी ।
लोखर्के बिरुद्ध भाषण गरेका एक अमेरिकी नेताको टाउको लोखर्केले फुटाइदिएको छ ।

अमेरिकाको शिकागोका एक राजनीतिज्ञको नोभेम्वर १३ मा लोखर्केले खप्पर फुटाइदिएको र उनले त्यसअघि लोखर्के बिरुद्ध भाषण गरेको बताइएको छ ।

हफिंटन पोष्टले उल्लेख गरे अनुसार राजनीतिज्ञ होवार्ड ब्रुकिन्स जुनिएरले लोखर्केले आफुमाथि बदलास्वरुप आक्रमण गरेको दाबी समेत गरेका छन् ।

उनले अक्टोबरमा सहरमा नगर प्रशासनले बाँडेका फोहोर फ्याँक्ने भाँडोहरु लोखर्केले खाइदिएको भन्दै सार्वजनिक रुपमा लोखर्केको आलोचना गरेका थिए ।

उनले आफु घाइते भएर उपचार गरिरहेको भन्दै केही समय सार्वजनिक कार्यक्रममा भाग नलिने बताएका छन् ।

घाइते भएका उनले आफुमाथि लोखर्केले आत्मघाती हमलाकारीले एम्बुस थापेजस्तै गरी हमला गरेको बताएका छन् ।

समाचार अनुसार नोभेम्बर १३ मा बाइक चलाएर गन्तव्यतर्फ गइरहेको बेलामा बिच सडकमा देखा परेको लोखर्केमा ठोक्किएर लडेको थियो । जसका कारण नेताको टाउको फुट्यो भने लोखर्के टुक्रा टुक्रा भएर मरेको थियो ।

टोकियो ।
प्रथम जेआरएफ प्रभु गोल्डकप फुटसलको उपाधि नेपाल ब्रर्दश क्लवले जितेको छ ।

टोकियोमा आईतवार भएको खेलमा टोकियो ब्रर्दशलाई ट्राईब्रेकरमा २(१ गोल अन्तरले हराउदै नेपाल ब्रदर्शले उपाधी उचालेको हो ।
उपाधी सहित नेपाल ब्रदर्शले नगद दुईलाख एक जापानी येन प्राप्त गर्यो भने उपविजेता बनेको टोकियो ब्रर्दशले नगद एक लाख एक येन पाएको छ ।

कुल २० टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाईनलमा नेपाल ब्रर्दशले राईजिङ नेपाल क्लवलाई ट्राईब्रेकरमा २(१ गोल अन्तरले हराउदै फाईलन पुगेको थियो ।

खेलमा टोकियो ब्रदर्शले गुरिल्लाज युथक्लवलाई ३(२ गोल अन्तरले हराएको थियो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी दिपेन गुरुङ, उत्कृष्ट रक्षक दिपक मानन्धर उच्च गोलकर्ता विजय गुरुङ र वेस्ट प्लेयर असिम शाक्य घोषित भए भने भेट्रान वेस्ट सुटर अवार्ड प्रकाश थापाले पाए ।

विजयी क्लव तथा खेलाडीहरुलाई प्रमुख अतिथि जेआरएफ रेमिटका अध्यक्ष सुनि सरवार सहित एनआरएनए जापानका कार्यवाहक अध्यक्ष टासी वाङदी लामा, एनआरएनए जापान कान्तो संयोजक प्रकाश थापा, तमुधीँ जापानका अध्यक्ष श्री गुरुङ, नेपाल जापान युथ क्लवका अध्यक्ष लेलिन भट्टचन, जेआरएफ रेमिटका निर्देशक राजिव श्रेष्ठ, नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी बसन्त गौचन, बुद्ध गुरुङ र जेआरएफ रेमिटका वातानावे लगायतले पुरस्कार प्रदान गरेका थिए ।भएको थियो ।

कार्यक्रममा पूर्व भलिवल राष्ट्रिय खेलाडी श्री गुरुङ र नेपाली राष्ट्रिय फुटवल खेलाडी बसन्त गौचनलाई सम्मान समेत गरिएको थियो।

२२ मंसिर, काठमाडौं । पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।

पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो ।

संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा यस्तो प्रावधान राखिएको छ । विधेयकमाथिको छलफल सकेर सांसद राधेश्याम अधिकारी संयोजक रहेको उपसमितिले समिति सभापति गङ्गा चौधरीसमक्ष मंगलबार प्रतिवेदन बुझाएको छ ।

संयोजक अधिकारीले संहितामा मुलुकी ऐनका ६० प्रतिशत प्रावधान, सर्वोच्चले प्रतिपादन गरेका नवीनतम नजिर र केही अन्तर्राष्ट्रिय अभ्याससमेत समेटेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए ।

अधिकारीले सम्पत्तिमा इच्छापत्र, गैरआवसीय नेपालीको अचल सम्पत्ति हस्तान्तरणसम्बन्धी व्यवस्था र विवाह तथा अंशबण्डामा नवीनतम पक्षहरू समेटिएको बताएको आजको गोरखापत्रमा समाचार छ । ।

उपसमितिको प्रतिवेदन अनुसार सम्वन्धविच्छेद गर्न पुरुषका लागि मुलुकी ऐनको प्रचलित व्यवस्थामा परिमार्जन भएको छ । अहिले पुरुषले सम्बन्धविच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्नेमा प्रस्तावित व्यवस्थामा जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । महिलाको हकमा भने अहिले पनि अदालतबाटै प्रक्रिया सुरु हुन्छ ।

यस्तै सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुनेछ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्वन्धविच्छेद गराइदिनुपर्नेछ । उपसमितिले मूल विधेयकको दफा ९८ मा प्रतिबन्धात्मक वाक्यांश थप गरी त्यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

२२ मंसिर, काठमाडौं ।
इन्डोनेशियको उत्तरी क्षेत्र आच प्रान्तमा ६.५ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

इन्डोनेशियाको नेशनल डिजास्टर मेनेजमेन्ट एजेन्सीका अनुसार ६.५ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसार बिहान साढे पाँच बजे गएको हो ।

भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।

भूकम्पका कारण कम्तिमा २३ जना को मृत्यु भएको पुष्टि गरिएको छ ।

अस्पतालहरूलाइ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार दर्जनौं घरहरु भत्किएका छन् । सयौं व्यक्ति घाइते हुँदा धेरै व्यक्ति भत्किएका घरहरुमा फसेको ठानिएको छ ।

इन्डोनेसियाको यहि आचे प्रान्तमा सन् २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प जाँदा भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।

२२ मंसिर, काठमाडौ ।
नाता र सम्वन्धका आधारमा नेपाली नागरिकता हत्याउने भारतीयहरुको क्रम बढेको पाइएको छ ।

पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले नाता सम्बन्धका आधारमा नेपाली प्रशासनसम्म पहुँच बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइएको छ ।

भारतीयले नेपाली नागरिकता लिने बढी जिल्लामा अन्य तराईका जिल्लालाई सुनसरीले उछिनेको छ ।

भारतीय आतंककारी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनुरी धरानबाट ०६३ सालमा नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । उनले पहिलो संविधानसभा निर्वाचन अघि घुम्ती शिविरमार्फत वंशजका आधारमा नागरिकता लिएका हुन् ।

प्रहरीले उनलाई नागरिकता दिन सिफरिस गर्ने तत्कालीन समयका माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरकिा प्रमुख अभिकृत नुनुलाल उरावलाई धरौटीमा छाड्यो ।

पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ ।

भारतीय नागरिक उनले झुटो विवरण पेश गरेर नागरिकता लिएको आरोपमा अनुसन्धान जारी छ ।

मधेस आन्दोलन चर्किएका बेला र भोटको आशामा राजनीतिक दलले समेत भूमिका खेल्दा थुप्रै भारतीय नागरिकले बंशजका आधारमा सुनसरीबाट नागरिकता लिएको पाइएको आजको नागरिक दैनिकमा समाचार छ ।

यसरी भारतीयले नागरिकता पाउँदा सहयोग गर्नेमा अधिकाशं तराई केन्द्रित राजनीति गर्दै आएका दल र तीनका स्थानिय नेता र कार्यकर्ता रहेको ठानिएको छ ।

घुम्ती शिविरमार्फत सुनसरीबाट नागरिकता लिने भारतीयको संख्या ठूलो छ । शिविर सञ्चालन गर्नुभन्दा अघि र पछि पनि यहाँबाट थुप्रै भारतीयले नागरिकता लिएको भेटिएको छ ।

एजेन्सी,मंसिर २२ । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हरायो । समूह सी अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेस्सीले एक गोल गरे । १६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल ग¥यो ।

५०, ५३ र ६७ औं मिनेटमा गोल गर्दै तुरानले ह्याट्रिक पूरा गरे । जितपछि बार्सिलोना समूह सीको विजेता बनेको छ । राति नै भएको खेलमा म्यानचेस्टर सिटीले सेल्टिकसँग १–१ को बराबरी खेल्यो । म्यानचेस्टर सिटीका लागि केलिची इहिनाचो तथा सेल्टिकका लागि प्याट्रिक रोबर्टसले गोल गरे । बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बन्यो ।

एजेन्सी,मंसिर २२ । लिओनल मेसी र बार्सिलोनाको खेल हेर्न इङ्लिस क्लब लिभरपुल मंगलबार राति क्याटलान शहरस्थित बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्प पुग्यो। प्रशिक्षक जर्गेन क्लोपको अगुवाईमा नोउ क्याम्प पुगेको लिभरपुलका सबै खेलाडीले बार्सिलोना र बोरुसिया मोनचेनग्लाडबाचबीचको खेलको आनन्द उठाए। जुन खेलमा मेसीको एक र आर्डा टुरानको ह्याट्रिक गोलको सहयोगले बार्सिलोना ४–० ले विजयी भयो।

इङ्लिस प्रिमियर लिगमा आइतबार राति बर्नेमाउथसँग ४–३ गोलको पराजय भोगेको लिभरपुलका खेलाडी एक्कासी बार्सिलोनाको रंगशालामा देखिएपछि सबै चकित परेका थिए।

लिभरपुल स्पेनको न्यायो मौसममा एक साताको ट्रेनिङका लागि क्याटलान शहर पुगेको थियो। आउँदो आइतबार लिभरपुलले प्रिमियर लिगको अघिल्लो खेल वेष्ट हामसँग एनफिल्डमा खेल्ने कार्यक्रम छ। जर्मन प्रशिक्षक क्लोपले खेल सकिएपछि नोउ क्याम्पमा खेलाडीसँग बसेको तस्बिर ट्विटरमार्फत सेयर गरेका थिए।

setopati.com