लोकप्रिय पूर्व अर्थमन्त्री वाम आन्दोलनका लोकप्रिय नेता भरतमाेहन अधिकारीकाे निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । करिब सात दशक लामो समय वाम आन्दोलनमा समर्पित गर्दै राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुषदेखि अधिकारीलाई ललितपुरको मेडिसीटी अस्पतालमा राखिएको थियो । तर, स्वास्थ्यमा थप सुधार नभएपछि चिकित्सकहरुको सल्लाहमा २४ माघमा ह्याम्स अस्पताल सारिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि १६ दिनदेखि भेन्टिलेटरमा राखेर गरिएको उपचारले पनि स्वास्थ्यमा सुधार भएन । तीन दिनदेखि अधिकारी अचेत थिए ।

महोत्तरीको भ्रमरापुरा विस १९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारीको स्थायी ठेगाना भने मोरङको विराटनगर हो । उनी मोरङ क्षेत्र नं. २ बाट ०४८, ०५१ र ०५६ मा गरि तिन पटक प्रत्यक्ष निर्वाचित भए । एकपटक संविधानसभामा सभाषद् थिए ।

२००८ सालदेखि सक्रिय कम्युनिष्ट राजनीतिमा लागेका उनी ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष जेल जीवन बिताएका थिए । अधिकारी स्वच्छ छविका नेताका रुपमा चिनिन्थे । नेपालमा औद्योगिकरणका समस्या, मेरो जीवन यात्रा भाग १ र भाग २ अधिकारीका प्रकाशित कृति हुन् ।

२०५१ साल मंसिर १४ गठन भएको पहिलो कम्युनिष्ट सरकारमा उनी अर्थ मन्त्री बनेका थिए । उनका सहोदर दाई मनमोहन अधिकारी प्रधानमन्त्री थिए । सरकार गठन भएको एक महिना पनि बित्न नपाउँदै पुस १४ गते उनले वजेट प्रस्तुत गरेका थिए । सो वजेटले जनस्तरमा निकै लोकप्रियता पाएको थियो । आफ्नो गाउँ आफै बनाउँ, ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई भत्ता उपलब्ध गराउने जस्ता कार्यक्रमहरु लागू हुँदा सरकारले जनस्तरमा गहिरो छाप छाड्यो ।

नौं महिने छोटो समयको सरकारले गरेका कामहरुले दीर्घकालिन रुपमा राम्रो प्रभाव पर्न गयो । अधिकारीले अघि सारेको बजेटका कारण तत्कालीन एमालेमा समेत लोकप्रियता बढ्न गयो । त्यतिबेला देखि आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत प्रत्येक गाविसमा तीन÷तीन लाख रुपैयाँ रकम नियोजन गर्न थालिएको हो ।

पछि क्रमैसँग वृद्ध हुँदै उल्लेख्य मात्रा बजेट विनियोजन हुन लाग्यो । एक सय रुपैयाँबाट वृद्धा भत्ता सुरु गरिएकोमा पछिल्ला सरकारले क्रमशः वृद्धि गर्दै दुई हजार पुगेको छ । अधिकारी अर्थ मन्त्री हुँदा कालिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु, गंगालाल हृदयरोग केन्द्र स्थापना भएको हो ।

तत्कालीन सरकारले ल्याएको नौं ‘स’ को अवधारणा पनि लोकप्रिय बनेको थियो । ठूला जलविद्युत आयोजनासँगै गाउँमा सिंचाइको प्रबन्धन गर्ने कार्यक्रम बजेट मार्फत सार्वजनिक गरेको थियो । उनले ल्याएको वजेटले लोक कल्याणकारी राज्यको अनुभूति दिलाएको थियो । त्यतिबेलै भूमिसुधारको काम अघि बढेको थियो ।

सुकुम्बासी समस्या समाधान आयोग बनाएर ६० हजार सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको थियो । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमलाई विश्व वैंकले नेपालको ५० वर्षको इतिहासमा सबै भन्दा प्रभावकारी विकासको कार्यक्रम भनि रिपोर्ट तयार पारेको थियो । अधिकारीले अर्का पटक अर्थमन्त्री हुँदा सुत्केरी भत्ताको पनि सुरुवात गरे ।

शिवरात्रीको तयारी पुरा, यसरी गर्न सकिन्छ पशुपतिनाथको दर्शन

काठमाडौं । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उहाँले बताउनुभयो । फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ ।

भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ ।

साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।

दर्शन मार्ग

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयवागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको सदस्य–सचिव ढकालले बताउनुभयो ।

भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गरिने छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । ज्येष्ठ नागरिक र अशक्तलाई दर्शन गर्ने विशेष व्यवस्था मिलाइएको जनाइएको छ । पर्वको तयारीका लागि आठ उपसमिति गठन गरी सबै तयारी अन्तिम चरणमा पुगेको छ

नुवाकोटमा मिनीबास दुर्घटना, चालकको अबस्था गम्भीर

त्रिशूली । शुक्रबार साँझ मिनीबस दुर्घटना हुदाँ चालक गम्भीर घाइते भएका छन् ।
त्रिशूलीबाट गेर्खुको गैरीखर्कतर्फ जादै गरेको ना.४ ख ७३०० नं. को बस दुर्घटना हुदाँ त्यसका चालक श्यामबहादुर तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ४८ वर्षका तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारको लागी काठमाडौ पठाइएको छ ।

विदुर नगरपालिका–१० स्थित चालकले आफ्नो घरतर्फ लैजादै गरेको बस साँझ सात बजेतिर गेर्खुटार स्थित सडकमा अनियन्त्रित भएर करीब एकसय मिटर तल पुगेर रुखमा अड्किएको वडा नं .१० का वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिनुभयो । प्रहरीको अनुसार दुर्घटनाको समयमा बसमा चालक मात्र रहेका थिए ।

पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको अवस्था गम्भिर

काठमाडौं । अस्वस्थ्य भई अस्पताल भर्ना हुनु भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। लामो समयदेखि अस्वस्थ रहनु भएका अधिकारीको २० दिनदेखि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
उहा अचेत रहेको र आइसियुमा भेन्टिलेटरमा राखिएर उपचार गरिरहेको अस्पताल स्रोतले बताएको छ। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। उहा लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएको थियो । हाल उहालाई ह्याम्स अस्पतालमा वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्की, मुटुरोग विशेषज्ञ डा. भगवान कोइरला र डा. रोसन राउत लगायतका छाती रोग र मुटुरोग विशेषज्ञको टोलीले उपचार गरिरहेको छ ।

हेलिकोप्टर दुर्घटना:पाँच जनाको पशुपतिमा सामूहिक अन्त्येष्टी,आङछिरिङको आइतबार मात्र

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका ५ जनाको एकैसाथ अन्त्येष्टि गरिएको छ । उनीहरुको शुक्रबार पशुपतिस्थित आर्यघाटमा एकसाथ अन्त्येष्टि गरिएको हो ।

दिवंगत भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन अधिकारीको शुक्रबार एकै साथ अन्त्येष्टि भएको हो ।

सोही दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टिका लागि गृहजिल्लामा अन्त्येष्टी गरिएको छ भने आङछिरिङको आइतबार मात्र अन्त्येष्टी गरिनेछ ।

मन्त्री अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि,काजकिरिया अब चार दिनमै सकिने

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ।  हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको प्रार्थिव शरिरलाई राजकीय सम्मानका साथ गृहनगर पोखराको रामघाटमा अन्त्येष्टि गरिएको हो ।

अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र छोरा विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्। यसअघि पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा गरिएको थियो। शवयात्रा नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म पुगेको थियो। अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारिक तयारी छ। आज तीन दिन बितिसकेपछि अब चारदिनमा काजकिरिया सकिने तयारी थालिएको हो ।

हेलिकप्टर दुर्घटना : दिवंगत हुनेहरुको शव ल्याउन शुरु (अपडेट)

काठमाडौ । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो ।

हेलिकप्टर दुर्घटना : घटनास्थलमा सातै जनाको शव संकलन (अपडेट)

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ ।

गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् ।

शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर उडिसकेको समेत प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना भएको स्थान विकट भएकाले हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टा लाग्ने छ ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो । यसैबीच हेलिकप्टर दुर्घटनास्थल तारेभीरमा पुगिसकेको बताइएको छ ।

आफै डोजर लगाएर बाटो खन्ने जनप्रतिनिधीलाई कारवाही गर्ने मुख्यमन्त्रीको चेतावनी

त्रिशूली ।   प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताउनुभएको छ । विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाहीे गरिने बताउनुभयो ।

“जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिले आफँैले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो । कोही पहिले नै ठेकेदार रहेछन् भने पनि जनप्रतिनिधि भएपछि पुरानो पेशा छोड्नुपर्छ”, उहाँले भन्नुभयो । “जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएर छाड्छ ।”

मुख्यमन्त्री पौडेलले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको पाइएको बताउनुभयो । मुख्यामन्त्री पौडेलले जनताका काम गर्न छाडेर विभिन्न वहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले सङ्घीयताको आभास दिने आधार कार्यालय वडा कार्यालय भएकोले वडा कार्यालयले दिने सेवा र सुविधाहरु प्रभावकारी भए मात्र सङ्घीयताको वास्तविक अनुहार जनताले देख्न पाउने बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनताको काम छाडेर ठेकेदारी गर्दै हिँड्ने जनप्रतिनिधिलाई आफ्नो कर्तव्यअनुसारको काम गर्न सचेत गराइने र सचेत गराउँदा पनि नटेरमा कारवाहीको प्रक्रिया थालिने बताउनुभयो । यसैबीच, आज नै मुख्यमन्त्री पौडेलले बट्टारमा रहेको सङ्गम बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा तथा सङ्गम प्लाजाको उद्घाटन गर्दै सहकारीले व्यावसायिक क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

‘प्रथम नुवाकोट आदिबासी महोत्सब’को तयारी पूरा

विदुर । नुवाकोटको बट्टारमा सञ्चालन हुन लागिरहेको आदिबासी जनजाति महोत्सबको आवश्यक तयारी पूरा भएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकोटको आयोजनामा हुन लागिरहेको ‘प्रथम नुवाकोट आदिबासी महोत्सब २०७५’ को व्यबस्थापनका कार्यहरु सबै सम्पन्न भएको आयोजकले जनाएको छ । यही फागुन १६ गतेदेखि २६ गते सम्म हुन लागेको महोत्सबमा स्टल र स्टेज निर्माण, खेलकुदका सामाग्रि जडान एंव सञ्चालन लगायतका सबै काम पूरा भएको महोत्सव आयोजक समितिका संयोजक भगवान रानामगरले आज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सवको उद्घाटनको लागी १६ गते अपरान्ह १ बजे पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउन लाग्नुभएको छ ।

महोत्सबमा पर्यटन, उद्योग, कृषिमा बिकास साथ आर्थिक समृद्धि र सामाजिक तथा साँस्कृतिक अधिकारको महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र जातीय पहिचान लाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएकोले नुवाकोटमा यसअघि सञ्चालनमा रहेका विभिन्न किसिमका महोत्सव भन्दा फरक तथा पृथक बनाउन लागिएको संयोजक थापामगरले जानकारी दिनुभएको छ । महोत्सवले सबै जातजाती तथा भाषाभाषीको प्रतिनिधित्व झल्काउने गरी आवास निर्माण गरिने र त्यहाँ कला, सस्कृति जन्मदेखि मृत्युसम्म गरिने रितिरिवाजलाई देखाउन लागिएको छ । डकुमेन्ट्रीको माध्यमबाट जनजातिको पहिचानलाई सकारात्मक रुपमा चित्रण गराउने समेत तयारी गरिएको छ ।

महोत्सवमा जनजातिको भेषभूषा, भाषा, धर्म, सस्कृति, खाना, पहिरन, लवज, धार्मिकग्रन्ध, पर्व तथा चाड लगायतलाई समेत प्रस्तुत गर्न लागिएको छ ।
महोत्सबमा आदिबासी तथा जनजातीको झाक्री सांस्कृतिक प्रदर्शनी, जिल्लास्तरीय नृत्य आइडल सञ्चालन हुने उत्कृष्ट साहित्य छनौट, कृषि तथा लघु उद्यम सामग्रीको बिक्रि अटोमोबाइल प्रदर्शनी तथा बिक्री, सडक नाटक, निःशुल्क स्वास्थ्य शिविर, आदिबाशी तथा जनजातिको खानाका प्रकारहरु, रमाईलो मेल, आदिबाशी तथा जनजातिको भेषभुषा प्रदर्शनी तथा बिक्रि, स्थानीय कला तथा प्रतिभालाई बिशेष प्राथमिकता, धार्मिक संस्कृतिक पहिचान तथा अवलोकन , लोकदोहोरी प्रस्तुति, लोपोन्मुख सांस्कृतिक प्रदर्शनी साथै नेपालको अत्यन्तै चर्चित कलाकारहरु प्रमोद खरेल, प्रिती आले, प्रकाश सपुत, रामजी खान, सम्झना लामिछाने, पशुपति शर्मा, राधिका हमाल, सागर एस वाईबा, मेलिना राई, सुगम पोखरेल, धिरज राई, बद्रि पगेनी, विश्व दोङ्ग साथै कमेडीतर्फ महादेव त्रिपाठी, सुमन कार्की, काउलीबुढी, भट्भटे माईला, मनोज गजुरेल, बले र कक्रोज डान्सर तर्फ दिपासा बि.सी र अशोक दर्जी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

महोत्सब लाई शव्य तथा भब्य रुपमा सफल बनाउनको लागी सलोमी उलान कास्ठ , काठमाडौँले ब्यबस्थापनमा सहयोग पु-याएको छ भने बिशेष सहयोगी आदिबासी जनजाति आयोग, काठमाडौँ , आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थान सानेपा, ललितपुर , नेपाल आदिबासी महासंघ, केन्द्रीय कार्यालय, संस्कृति पर्यटन मन्त्रालय सिंहदरबारले सहयोग गरेको छ । यसैगरी नुवाकोटमा रहेका सबै स्थानीयतहहरु, जिल्ला समन्वय समिति, विभिन्न पेशागत संघसगठनहरुले सहयोग पु-याएका छन । नुवाकोटबाट सञ्चालनमा रहेका सबै सञ्चारमाध्यम मिडिया पार्टनरको रुपमा आबद्ध भएका छन् ।

ऐतिहासिक झिल्टुङ गाउँ

0 नारायण नेपाल (पिपलबोटे कान्छो)
वर्तमान नुवाकोट जिल्लाको दक्षिण पश्चिममा अवस्थित एक प्राचीन गाउँ वस्तीको नाम हो झिल्टुङ । तल उत्तर पश्चिम त्रिशुली नदिको किनारादेखि दक्षिणमा कोल्पुखोला र पर्वमा चिम्टेश्वरको टापुसम्म झिल्टुङले छोएको छ ।
झिल्टुङ गाउँको नामाकरणको सन्दर्भमा विभिन्न किम्वदन्ती रहि आएको पाईन्छ । डाडापाखामा झिंगटीले घर छाएको गाउँ भएकोले झिल्टुङ गाउँ भनिएको हुन सक्ने अनुमान बुढापाकाको छ । प्राचिन कविला युगमा गणप्रथा थियो । सुन्दर,झिक्ले, ठाटिलो पाराले देखिने गणनायीका भएकाले झिल्केश्वरी देविकी रुपमा हाल सम्म पुजा आजा भएको पाईन्छ । उनै देवीको विर्ता जग्गा रुपमा रहेको क्षेत्रलाई झिल्टुङ भनिएको हुनसक्छ ।

ज्यादै दुब्ला पातला मान्छेहरु धेरै भएकाले झिल्टुङ भनिएको हुुन सक्ने पनि केहीको अनुमान छ । झिलिक्क टल्कने टलकदार पत्थर अभ्रख, सिल्कन पाईने स्थान समेत प्रयाप्त भएकाले समेत यस ठाँउलाई झिल्केश्वर भनिने त्यहीबाट झिल्टुङ नाम हुन गएको पनि केही बुढापाकाहरुको भनाई छ ।

मालिकाथानदेखी ठुलोखोला त्रिशुली नदिको दक्षिणतर्फ र कोल्पुखोलाको उत्तर तर्फका बस्तीलाई झिल्टुङ गाउँ भन्ने गरिन्छ । जुन नेपाल थरका ब्राहमणहरुको एक आदीम बस्ती मानिन्छ । गाउँ पञ्चायतको अवधारणासंगै झिल्टुङवेशीलाई रातमाटे र गाउँलाई दुईपिपल भन्न थालियो । ३३.९२ वर्ग कि.मी क्षेत्रफल यसमा पर्दछ । समुन्द्री सतहबाट यो क्षेत्र ४२० मिटर देखी २०७५ मिटर सम्मको उचाईमा अवस्थित छ । १६०१ घरधुरी रहिआएको यो क्षेत्रमा ८७१५ जना जनसख्याको बसोबास गर्दै आएका छन् ।

झिल्टुङ क्षेत्रको झिल्केश्वरी, कामरु र चिम्टेश्वर क्षेत्रको धार्मिक स्थलहरुलाई पौराणिक धर्म ग्रन्थको आधारमा महत्वपूर्णस्थान मानिन्छ । यसका अलावा ऐतिहासिक पक्षबाट हेर्दै झिल्टुङकोट, अर्चलकोट, मालिका, चुरेशाही धामीरुम्टो, झिल्केश्वरी पृथ्वीनारायण शाहको सेनाले  चिम्टेश्वर क्षेत्रमा निर्माण गरेको बङकर यस क्षेत्रमा नै अवस्थित छ ।
नेपाल थरका ब्राह्मणहरुको एउटा प्राचिन वस्तीको रुपमा यो ठाउँ रहेको छ । वि.सं. १३८४ मा खस राजा आदित्य मल्ल नुवाकोट लड्न आएका थिए । उनले कब्जा गरी बसेका थिए भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ । खस आर्यहरुको पश्चिमबाट पूर्व तिरको बस्ती विस्तारको क्रममा विस्तारित (अवधी गरेको भन्ने इतिहासकारहरुको दाबी छ) ।
सिञ्जाली खस मल्ल राजाका पुरोहितका रुपमा रहेका उपाध्याय पण्डितलाई दुल्लु राज्यका राजाले दैलेखको नेपा भन्ने स्थानमा बिर्ता दिएको र नेपामा बिर्ता पाउनेहरु नेपाल जात भएको तथ्य पाइन्छ । (कौसीकाजी सन्तती, पूर्णप्रकाश नेपाल यात्री)

ऐतिहासिक तथ्य अनुसार भाष्कर पण्डितका तिन भाई छोरा मध्येका कान्छा छोरा धैवुपाध्य नेपालले खस सम्राट आदित्य मल्ल देवबाट झिलतुङ विर्ता प्राप्त गरेको र बाग्मती प्रदेशमा उनै धैवुका सन्तानको ब्यापक रहेका छन । देशभर फैलिएका नेपालहरुको उद्गम थलो यही रहेको मानिन्छ ।
संस्कृतमा निप आलयबाट नेपालय बनेको हो । निप भनेको पहाडफेदी र आलय भनेको वासस्थान हो । यसर्थ हिमाल पहाडको फेदीमा बस्ने ब्राह्मणहरु नेपाल भनिएको हुनसक्ने देखिन्छ । यो क्षेत्र नेपालहरुको प्राचिन भूमि भएको तथ्य प्रशस्त पाइन्छ । बल्भ उपाध्यायले आफ्नो सृजना विस १९४८ मा (नुवाकोटेली साहित्यको इतिहास श्रीहरी फुयाँल) उल्लेख गरेका छन् । हेरौँ एक अंश ः
श्री नेपाल काठमाडौँ त्रिशुली बीच नुवाकोट तीनकोशमा
जुन पश्चिम पट्टी देख्नु नगीचै छ, बुधसिंघाट सामान्य त्यहाँ ।
हाथोक गाउँ झिल्टुङ तखत अति सफा वेशी कास्टार जहाँ
श्री भिसिनवाद नेरा सकल परिवार जनलिइ बस्याको हुँ त्याहाँ ।।

यतिबेला झिल्टुङको माथिल्लो क्षेत्र अचर्ले तल्लोवेशी, भालुखोला नेपालटारलाई विशेष महत्वको उर्वर जमिन मानेर भागवण्डा गरेको पाइन्छ । हालसम्म बुढापाकाहरुले भन्ने गरेको जनश्रुतीमा आधारित श्वलोकले तिनै पण्डितको भाई छोराहरुको भागवण्डामा आज झिल्टुङ खण्ड खण्ड पारिएको प्रष्ट हुन्छ ।
अचर्ले बारी तितेपातीघारी,
बेसी दाहाल टारी नेपालटारी ।
भालुखोला बारी र पारी दाहाल भान्जालाई पूर्णसारी
कुन्तु र कुन्तुलाई आधा–आधा पूर्णसारी । ।

यसरी हालको जिलिङ्ग, रातमाटे र दुईपिपलको क्षेत्रमा भएको जमिनको भागवण्डा र नेपालहरुको भान्जा भान्जी भन्दै एक अंश दिएर दाहाल वस्ती बसालेको तथ्य इतिहासमा पाइन्छ । आफ्नो सन्ततीलाई अंश र वंशको जानकारीका श्लोकको लयमा सृजना गरी छाड्नेहरुले इतिहासको केही तथ्य पक्कै हामीलाई दिएका छन् । त्यस्तै अलिखित तथ्य जनश्रुतीमा रहेको छ श्लोकहरुले ।
राजधानी नजिकै भएपनि आफ्नै मौलिकतामा बाँचेको छ झिल्टुङ गाँउ । पहाडी जीवन, निबन्ध र कुन्जिनी खण्डकाव्य लक्ष्मिप्रसाद देवकोटाले झिल्टुङको समाज र प्रकृती नियालेर मन्थन गरेका थिए । साँच्चै महाकवी देवकोटाको झिल्टुङको भावना यसरी दर्शाएका छन् ।
यो घाँसको डोको भरी जानु छ पिपलघारी
सपना वारी पारी स्वर्गको सानो फुलबारी ।
ढस्वर्ग छैन टाढा अब पहाडको टाकुरामा
कलेजी रङ हरियो भो मनको अंकुरामा  ।।
(कुन्जिनि खण्डकाव्य)

विसं २००२ सालमा प्रकाशित कुञ्जिनि खण्डकाव्य देवकोटाले उतिबेला एकै रातमा लेखेका थिए भनिछ । जतिबेला देवकोटालाई पागल भन्दै राँची पु¥याएर फिर्ता ल्याएपछि झिल्टुङको धामी झाँक्री लगाउँदा ठीक होला की भन्दै परिवारले झिल्टुङको डाँडामा पु-याएका थिए समेत भन्ने गरिन्छ । त्यो बेला कार्गीलको युद्धमा नेपाली युवाहरुको बलिदान, यता उसको परिवार र मायालुको पीडामा आक्रान्त गाउँले जीवनको सचित्र काव्य व्याख्या देवकोटाले कुञ्जिनीमा गरेका छन् । मान्छे र समाजको बिम्व मात्र होइन देवकोटाले प्रकृतीप्रेम र प्रकृति पूजा पनि उत्तिकै गरेका छन । कुञ्जिनिमा झिल्टुङलाई सम्झेर हेरौ उनका पक्ती  :
त्रिशुली माथि खंगारे भीर झिल्टुङको पहाडको यो छटामा
त्रिकोण परि झरेको पहाड कहानीले लैजाने यो छटामा ।
कोल्पु नदी त्रिशुली साथ भेट गर्ने गहिरो खाडीमा
आप लिच्ची बँगैचा बारी नाङो अग्लो पूर्वको यो इटीमा ।।
(कुन्जनी खण्डकाव्य)
देवकोटाले औधी मनपराएको एउटा पहाडी गाउँलाई साहित्य पर्यटनको केन्द्र बनाउने जमर्काे हाल देवकोटा सहित्य प्रतिष्ठानले गर्दै आएको छ । हरेक वर्ष साहित्यीक भ्रमण, कविता वाचन कार्यक्रम, साहित्य सम्मान गर्दै आइरहेको छ । झिल्टुङको दृश्यावलोकनले मोहित भएका साहित्य यात्री कवि कृष्णदेव रिमालले मनको एक भुल्कोलाई काव्य सृजनामा यसरी पोखाएका थिए । हेरौ उनको शब्दर्सजना :

त्रिशुली नदि घुमेर बग्ने झिलुङ गाउँछ
कुञ्जिनी सित गोरेले प्रित यही ठाउँला लाउँछ ।
हिजोका गोरे कार्गील जान्थे आजको कतार
विरानो भयो झिल्टुङ कठै लौ माया नमार ।।
आज समय बदलिएको छ । सामाजिक व्यवस्था फेरिएको छ । समाजमा सामाजिक उत्पीडन र विभेदका सुत्रहरु नयाँ–नयाँ ल्याएको छ । जनताको जीवन दैनिकी र दुःख उस्तै छ तर झिल्टुङ उस्तै प्रकृति र समाजको पछौटेपनमा बाँचिरहेको छ । जनमनका भावना जस्तै यो मनमा उठेका सृजनालाई शब्दमालामा मैले उनेको थिएँ ।
हिजोका मदन लासामा जान्थे आजको अरबमा
विचरी मुना एक रात सुत्छे एक सय डलरमा ।।
मुना र मदन परदेश गाको आजको कहानी
देवकोटा छैनन् कसले लेख्ला यिनका जीवनी ।।

झिल्टुङ एक प्राचीन ऐतिहासिक गाउँ हो । ऐतिहासीक अध्यनको स्थल हो ।  झिल्टुङ ग्रामीण साहित्य यात्राको केन्द्र हो । ग्रामीण साहित्य पर्यटनको उदाउदो केन्द्र हो । यसको यी सबै पक्षलाई बचाएर अगाडि बढाउन सके पक्कै पनि यहाँको पहिचान भेटिने छैन ऐतिहासिकता झल्किरहने छ । आजको हाम्रो अठोट पनि यही हो ।
चुरेशाइको विशाल पर्वत लेक छ उच्च स्तर
झिल्टुङ वेशी त्रिशुली तिरमा सुस्ताउछीन विस्तार ।।
कोल्पु वेशीवन र पाखा मयुर कालिज नाचेको
उतर हेर्दा हिमशैल्य छ मधुर स्वरमा हाँसोको ।।

देवकोटाले समकालिन समाजमा लाहुरे कार्गीेलको युद्धमा सामेल नेपाली युवाका भावुक प्रेमिकाको कहानी समाज भित्र झिल्टुङको पाखा परिवेशमा कोल्पु खड्गछाप त्रिशुली नदी लगायतको प्राकृतिकसँगै गोरे भूजेल जो देवकोटाको लागी मामाससुरालिले राख्वाली राखेका थिए । उनैलाई बिम्ब बनाउँदै समाज, युद्धको कहानिको प्रतिविम्वन गरेका थिए । कुन्जीनी खण्डकाव्यमा आज देवकोटालाई सम्झदै गर्दा कुञ्जिनी लेखिएको ७० वर्षपछि समाजको विम्व र आजको कुञ्जिनी को यथार्त यस्तो छ । हेरौँ एक अंश, आजको कुञ्जिनी ः
गोरे – प्रेमका खानी हे मेरा साथी लौ माया नमार
हिजोका गोरे कार्गील जान्थे आजका कतार ।।
पसिना बेची धन कमाई ल्याउला परदेशी ठाउँमा
मै मरे भने वाकसमा आउला प्रियको गाउँमा ।।

कुन्जीनी – के भन्या त्यस्तो हे मेरा प्राण साइतको बेलामा
घास र पात जहान बच्चा जाने छु मेलामा ।।
हजुर परदेश धन कमाई ल्याउनु म घर धानौला
सुदिन आउला यो जुनी हामी हाँसेर बाँचौली,
माया पिरति गासौँला ।
आज हाम्रो सामु अनेकौ चुनौति छ । पुजिवादले ल्याएको बजारबाद र उपभोक्ताबादी संस्कृती र पश्चिमा सभ्याताको अतिक्रमणले आक्रान्त बनाएको छ । हाम्रो समाज के हामी त्यो प्रचिन गाँउलाई एक समुन्नत आधुनिक ग्रामिण समाजको रुपमा मौलिकता बचाउन सक्छौ त ? एक नया अभियानको थालनी जरुरी छ । त्यो सुरु गर्न ढिलाई भइसकेको छ ।

पाँच मिनेटको फरकमा दुई भूकम्प गयो

काठमाडौ । दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ।

मंगलबार ४ः१५ बजे दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रिक्टर स्केल र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर  ४ः२० मा ४ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

पाँच मिनेटको अन्तरमा दुई भूकम्प गएको केन्द्रले जानकारी दिएको हो।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web