सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-५, गुन्सामा गएराति एक युवाको घाँटी रेटी हत्या गरिएको छ।

सामान्य विवादमै २८ वर्षीय विजय लामाको सोही गाउँपालिका बस्ने मिलन स्याङ्बो र बमबहादुर स्याङ्बोले हत्या गरेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लामाको घाँटी रेटेर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी माधवप्रसाद काफ्लेले पुष्टि गरे। प्रहरीले फरार अभियुक्तहरुलाई खोजी गरिरहेको जनाएको छ।
ad

फरार अभियुक्तहरुलाई खोजी गर्नका लागि प्रहरीले पाँचपोखरी थाङपाल गाउँपालिकाको मानेखरदेखि माथिल्लो भेगसम्म व्यापकरुपमा परिचालन गरेको छ। प्रहरीले सिन्धुपाल्चोक आउने-जाने नाकामा समेत कडा निगरानी गरेको जनाएको छ।

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १३५ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्। उनले १०९४ मत प्राप्त गरे भने आचार्यले जम्मा ९५९ मत पाए।

उपाधायक्षमा वद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी / महिला उपाध्यक्षमा रविना थापा विजयी भए। यसैगरी महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्। सचिवमा गौरी जोसी र आरके शर्मा र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका हुन्।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै सकिएकोछ। निर्वाचनमा २ हजार ३४० मत खसेको थियो ।

काठमाडौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक 'अटम' अफर ल्याएको छ ।

अटम अफर बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने टेलिकमले जनाएको छ । यसअघि उपलब्ध गराइएको समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको टेलकमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको टेलिकमले जनाएको छ ।

डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी एक सय मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको एक हजार दुई सयको प्याकलाई एक हजार, तीन हजार चार सयको प्याकलाई तीन हजार, ६ हजार चार सयको प्याकलाई पाँच हजार पाँच सय र १२ हजार तीन सयको प्याकलाई अब १० हजार पाँच सय रुपैयाँमात्र पर्ने भएको छ ।

साथै पहिलेदेखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, एक जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोस्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इण्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ ।

त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र (ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

विश्व ट्रमा दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गरे । उनले भने, “संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन । सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ ।”

स्वास्थ्य सचिव खगराज बराललले सातवटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औँल्याउँदै काठमाडौँको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको बताए । ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता औँल्याए ।

ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव रहेको उनले गुनासो गर्दै तत्काल एमआरआई उपकरणको अति आवश्यकता रहेको बताए । हाल सेन्टरमा ११ श्ययाको आईसियु दश श्ययामा मात्र सञ्चालनमा छ । आर्थिक वर्ष २०७२-७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा (ओपिडी) लिने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो सङ्ख्या ७९ हजार २३९ रहेको थियो ।

यसैगरी सेन्टरमा आव २०७२-०७३ मा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको थियो । आव २०७५-०७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ । आव २०७२-०७३ भर्ना हुनेको संख्या तीन हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ ।

सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन पाँचदेखि सात तथा वार्षिक करीब दुई हजार जनाको अकालमा मुत्यु हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन् ।

किस्पाङ । नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत (हाकिम) कृष्णराज जोशी कार्यालयको काम छाडेर बुधबार काठमाडौमा आयोजित नेकपाको चियापान कार्यक्रममा सहभागी भएका छन् ।

किस्पाङ गाउँपालिकाको कार्यालयको प्रमुख भएर आएदेखी नै विभिन्न विवादमा तानिने गरेका र जनतालाई सेवा प्रवाहका क्रममा क्रियाशिल नभएको आरोप लाग्ने गरेका जोशी कार्यालयको काम छाडेर नेकपाको चिया खान काठमाडौ पुगेका हुन् ।

उनी बुधबार कार्यालयमा नआएको र बिदा समेत नलिई सम्पर्क बिहिन भएकोमा साँझ नेकपाको चियापानमा सहभागि भएको फोटो र भिडियो बाहिर आएको हो । राज्य सञ्चालन गर्दै आएको पार्टीले आयोजना गरेको चियापानमा उपत्यका बाहिरको गाउँपालिकाको कार्यालयको प्रमुख जोशी चिया खान काठमाडौ पुग्नु सामान्य विषय भएपनि कार्यालयमा अनुपस्थित हुनको लागी बिदा नलिनु र पार्टीको कार्यक्रममा सरिक हुनुले कर्मचारीमा छाडापनको उदाहरणको रुपमा लिन सकिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत जोशीको अनुपस्थित भएको सम्बन्धमा गाउँपालिकाको कार्यालय र गाउँपालिकाको अध्यक्षतथा उपाध्यक्ष बेखबर रहेका छन् भने सेवाग्राही दिनभर कार्यालयमा उनको प्रतीक्षामा बसेका थिए । किस्पाङमा प्रमुख प्रशासकीय अधिकृत भएर आएदेखि नै उनी राजनीिितक पूर्वाग्रही भएर सेवा प्रवाह गर्ने र गाउँपालिकाले बनाएको लक्ष्य अनुसार काम गर्न विभिन्न कानूनी अबरोध र कर्मचारी अभाव देखाएर पन्छदै आउने गरेका थिए ।

राज्य पुर्नसंरचना पश्चात गठन भएका स्थानीयतहमा कर्मचारी अभावका कारण स्थानीय सरकारले परिकल्पना गरे अनुसार सेवा दिन कठिनाई कायम रहेको अबस्थामा राष्ट्रसेवक कर्मचारी भएर कार्यालयको काम छाडेर पार्टीको चिया खानकै लागी नुवाकोटको किस्पाङदेखि काठमाडौसम्म पुग्नुलाई उनी कतिसम्म काम चोर प्रवृत्ति र राजनीति गुलामीमा लिप्त रहेको भन्ने प्रमाणको रुपमा लिन सकिन्छ ।

जिल्लामा दशै लागेदेखि अहिलेसम्म नै कतिपय कार्यालयका प्रमुख सहित ठूलो सङ्ख्यामा कर्मचारीहरु अनुपस्थित रहेको सेवाग्राहीको गुनासो छ । उक्त गुनासोको सम्बोधन गर्नको लागी प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सक्रियता देखाएर अनुगमन गर्ने, छड्के हाजिर हेर्ने, स्पष्टिकरण सोध्ने, सचेत गराउने तथा कारबाहीको लागी सिफारिस गर्ने अधिकारी भएपनि उनले पनि वेवास्था गर्दै आएका छन् ।

काठमाडौ । नेपाली समाजमा लामो समयदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।

शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् ? सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ ।

जनताबाट विश्वासको मत पाएर निर्वा्चित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो । विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन् ।

सांसद गुरुङविरुद्ध पक्राउ पुर्जी :

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न दोलखा प्रहरीले ३५ दिने म्याद जारी गरेको छ ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले २२ दिनअघि अर्थात् ८ असोजमा नै पक्राउ पुर्जी तामेल गरेको हो । उनीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।
गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले २९ वैशाख २०७६ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका थिए । २०७४ वैशाखको स्थानीय निर्वाचनका समयमा खड्कामाथि राजधानीको गौशालामा आक्रमण भएको उजुरीमा उल्लेख छ ।यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

चितवन । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा चितवन जिल्लाबाट १३ हजार २४८ जनाले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो । जसअनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

भरतपुर महानगरपािलका–१६ मा विसं २०७६ असोज ७ गते १८ वर्ष पूरा भएका र खैरहनी नगरपालिकाका मतदाताको हकमा साउन १६ गते १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउनेछन् । ती वडामा वडाध्यक्षको निधनपछि पुनः मतदान हुनलागेको हो ।

ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा तीन मतदानस्थलमा १० केन्द्र रहनेछन् भने खैरहनी नगरपालिका–४ मा दुई स्थानमा तीन केन्द्र र ५ मा एक स्थानमा दुई केन्द्र रहनेछन् । निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मीबाहेक १३५ कर्मचारी खटिने उहाँले जानकारी दिनुभयो । ६० स्वयंसेवक मतदानस्थलमा नै नियुक्ति हुनेछन् भने ७५ कर्मचारी कार्यालयले खटाउने तयारी गरेको छ ।

विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षको निधनपछि पुनः निर्वाचन प्रक्रियामा जानुपरेको हो । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको विसं २०७६ असोज ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो भने खैरहनी नगरपालिका–४ र ५ का वडाध्यक्ष क्रमशः नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको विसं २०७४ फागुन ७ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।

अहिले निर्वाचन हुन लागेका वडामा खैरहनीका दुई वडा काङ्ग्रेस र भरतपुर महानगरको वडा नं १६ को वडाध्यक्षमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो । तीनै वडाका लागि नेपाली काङ्ग्रेसले उम्मेदवार तय गरिसकेको छ भने नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाउने तयारी भइरहेको जनाएको छ ।

काठमाडौ । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द ‘विप्लव’ का दाजु हुन् ।

रामहरि न्यौपाने,
बेत्रावती । नुवाकोटमा भूकम्पले लडाएका छपन्न हजार भन्दाबढी घरको पुर्ननिर्माण सम्पन्न भएको छ ।
जिल्ला स्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७ भूकम्प पीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुर्ननिर्माण गरेका छन् ।

पीडितलाई घर पुर्ननिर्माणका लागी नेपाल सरकार र सरकारबाट अनुमति लिएका सामाजिक सँस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाको कुल लाभग्राही मध्ये ७३ प्रतिशतले घर निर्माण गरेर नयाँ घरमा बसोबास गर्न थालेका छन् ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाईका प्रमुख शम्भुकुमार शाहले जानकारी दिनुभयो । उहाँको अनुसार तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई स्थानीयस्तरमा खटिएका प्राविधिकको सिफारिसमा सरकारी अनुदान र रु तीन लाख उपलब्ध गराइएको हो ।

भूकम्प पीडित मध्ये ६७ हजार ९५५ लाभग्राही (८८.४७ प्रतिशत) ले आवास निर्माणको लागी घरको जग बसालेर अनुदानको दोश्रो किस्ता बापत रु एक लाख पचास हजार लिएर घर निर्माण अन्तिम चरणमा पु-याएका छन् ।

कुल लाभग्राही मध्ये ७३ हजार ५१ (९५.११ प्रतिशत) ले भूकम्प प्रतिरोधि आवास बनाउनका लागी सम्बन्धित वडा कार्यालयमा सम्झौता गरेका छन् । तोकिएको मापदण्ड अनुसार नयाँ घर निर्माण गर्ने प्रतिबद्धता जनाएका लाभग्राहीलाई सम्झौता पश्चात रु पचास हजार अनुदान उपलब्ध गराइसकेको कार्यालयका सूचना अधिकारी बिशाल सापकोटाले जानकारी दिनुभयो ।

उहाँको अनुसार घर निर्माणको लागी सम्झौता गरेर पहिलो किस्ता लिका अधिकांश लाभग्राहीले पुर्ननिर्माण अघि बढाएका छन् ।
“अनुदान रकम लिएका मध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरुको लागी कार्यालयले ताकेता गरिरहेको छ ।” सापकोटाले भन्नुभयो “अहिलेको प्रगतिको आधारमा पुर्ननिर्माण जारी रहेमा तोकिएको अवधिमा भूकम्पले लडाएका घरको पुर्ननिर्माण सम्पन्न गराउन सक्ने आशा जगाएको छ ।”

सरकारले भूकम्प पीडित लाभग्राहीलाई आवास पुर्ननिर्माणको लागी तोकिएको मापदण्ड अनुसार घर बनाउदा सम्झौत गर्ने बित्तिकै पहिलो किस्ता बापत रु पचास हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोश्रो किस्ता बापत रु एक लाख पचास हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेश्रो किस्ता बापत रु एक लाख गरेर तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराउदै आएको छ । विनासकारी भूकम्पले लडाएको निजी आवासको पुर्ननिर्माण यो वर्ष भित्रै पूरा गर्ने सरकारी लक्ष्य छ ।

साल्मे । नुवाकोटको किस्पाङ गाउँपालिकाको वडा नं. ४ को साल्मे स्थित ठूलोगाँउसम्म बस सेवा सञ्चालनमा आएको छ । यसअघि नै विस्तार भएको सडकमा गाँउपालिकाले मर्मत तथा सम्भारको लागी छुट्टाएको बजेटले दशै पर्वदेखि बस सेवा सञ्चालनमा आएको हो ।

गाँउपालिकाको मात्र नभई जिल्लाकै दुर्गम क्षेत्रको रुपमा परिचित रहेको साल्मेको अन्तिम बस्ती ठूलोगाउँसम्म नै बस चल्न सक्ने गरेर दशै पर्व आउन एक साता अघि देखि सुरु भएको कामले फूलपातिको दिनदेखि मिनीट्रक र दशैको पूर्णिमाको दिनदेखि ठूला बसहर समेत चल्न थालेको किस्पाङ गाउँपालिका वडा नं. ४ ग्रामीण सडक मर्मत समितिका उपाध्यक्ष डुब दोर्जे लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार गाँउपालकाको अध्यक्ष छत्रबहादुर लामाले विशेष प्रथामिकता दिएर उक्त सडकको लागी गाउँपालिकाबाट छुट्टाएको ८ लाख ५० हजार रुपैयाँले स्काभेक्टर र श्रमदानबाट सडक मर्मत गरेर गाडी चल्न सक्ने बनाइएको हो । सडक मर्मत तथा सञ्चालनको लागी वडा नं ४ का वडाअध्यक्ष एकराज घले सडक मर्मतको लागी गठन भएको समितिका पदाधिकारीले निरन्तर कार्यक्षेत्रमा नै बसेर सहजिकरण गरेका थिए ।

साल्मेको ठूलोगाँउसम्म पुग्ने बसले साविकको सिङ्गो गाविस तथा अहिलेको वडा नं. ४ को सम्पूर्णबस्तीका बासिन्दालाई शहर आउजाउ गर्न, दैनिक उपभोग्य तथा घरायसी प्रयोजनको लागी चाहिने सामाग्रि गाँउ लैजान तथा गाँउमा उत्पादन भएका कृषि एंव अन्नबाली लगायतका सामाग्रि बजार पु¥याउन निकै सहज भएको सडक मर्मत समितिका अध्यक्ष मोहनराज घलेले बताउनुभयो ।

काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास बढेको हो ।

आफ्ना समकक्षीको सम्मानमा आयोजित रात्रिभोजमा राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी थिइन् । उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरेकी थिइन् ।

चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा चीनको यातायात मन्त्रालयका तर्फबाट नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् ।

पूर्वसम्भाव्यता अध्ययन भइसकेको र सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी सम्झौताले काठमाडौँ–रसुवागढी रेलमार्ग निर्माणका लागि नयाँ प्रक्रियामा प्रवेश गरेको रेल विभागका पूर्वसिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायले बताए ।

राष्ट्रपति भण्डारीले गत अप्रिलमा गरेको चीन भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यतायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको थियो ।

यस्तै, चीनले हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्ग समावेश भएका थिए । त्यसबाट भूपरिवेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने विषय समावेश थियो ।

चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मङ्सिरमा बुझाएको थियो । त्यसयता एकपटक नेपाल र चीनका अधिकारीबीच सो विषयमा छलफल भयो । सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

पूर्वसिनियर डिभिजनल इन्जिनीयर उपाध्यायले भने, “रेलमार्ग निर्माणको विषयमा आइतबारको सम्झौताले मार्गप्रशस्त गरेको छ । अब केही समयभित्रै सम्भाव्यता अध्ययनको काम शुरु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।”

सो अध्ययनमा समेत चीन सरकारले अनुदान सहयोग उपलब्ध गराउनेछ ।

केरुङ हुँदै काठमाडौँ आउने रेललाई विस्तार गरेर पोखरा पुर्याउने लक्ष्य छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । उपाध्याय भन्छन्, “चिनियाँ र हाम्रो काम गर्ने तरिका नै फरक छ । उनीहरुको प्री फिजिबिलिटी भनेको हाम्रो फिजिबिलिटी तहको हुन्छ । फिजिबिलिटी भनेको हाम्रो डिटेल इन्जिनीयरिङ तहको हुन्छ । त्यसैबाट निर्माण आरम्भ गर्न मिल्छ ।” चिनियाँले डिपिआर भन्दैनन् ।

काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन भइसकेको छ । सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ । गत असारमा दुई देशका अधिकारीबीच सो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीलगायत विषयमा छलफल भएपनि उपयुक्त निर्णय हुन सकेको थिएन ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा भएको सहमतिले थप मार्ग प्रशस्त गर्दै हिमालको काखै काख रेल चल्ने नेपालीको सपना पूरा हुने देखिएको छ । र गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा सहभागी भएका चिनियाँ अधिकारीले उक्त रेलमार्ग निर्माणका विषयमा उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने जानकारहरुको भनाइ छ ।

उच्चस्तरको सहमतिलगत्तै सम्भाव्यता अध्ययन शुरु गरिनेछ । सो अध्ययनसँगै लगानीको ढाँचालगायत विषयमा आवश्यक निर्णय हुनेछ । सामान्यतया त्यस्तो अध्ययनका लागि डेढ वर्षदेखि दुई वर्षसम्म लाग्ने देखिन्छ । अध्ययनका लागि रु एक अर्ब ७० करोड जति खर्च लाग्ने अनुमान गरिएको छ । लाओस, भियतनामलगायत देशमा चिनियाँ लगानी ७० प्रतिशत र ती देशको लगानी ३० प्रतिशत हुने गरी ढाँचा तयार गरिएको छ । कूल तीन खर्बलागत अनुमान गरिएको रेलमार्गमा सोही आधारमा लगानीको ढाँचा तयार पार्दा खासै ठूलो लगानी एकैपटक नपर्ने पनि देखिन्छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले आइतबारको सम्झौताले सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त भएको जानकारी दिए ।

उनले अन्य विषयमा भने तालुकदार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयल नै भएकाले उसले दिने निर्देशनका आधारमा नै थप विषय र प्रक्रिया अगाडि बढ्ने बताए ।

सोही रेलमार्गसँग सँगै रसुवागढी–रातमाटे ४०० केभी अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण गर्ने तयारी भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई करीब करीब अन्तिम चरणमा पुर्याएको छ ।

काठमाडौ । इँटाभट्टामा हालेर पाँचजनाको निर्मम हत्या गरेको अभियोगमा प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलम पक्राउ परेका छन् । राजपुर फरहदवास्थित घरबाट गौरतर्फ आउनेक्रममा गौर–चन्द्रपुर सडकखण्डमा आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । ११ वर्षअघिको घटना भए पनि राजनीतिक दबाबका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि छ । चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ । विपक्षीलाई तर्साएर चुनाव जित्न उनले बम विस्फोटको योजना बनाएका थिए ।

बम विस्फोटमा सरुअठा गाउँका २५ वर्षीय पिन्टु सिंह, राजपुर फरहदवाका ओसी अख्तर र अन्य तीन भारतीय घाइते भएकोमा घटनाको पोल खुल्ने डरले उनीहरूको हत्या गरेको प्रहरी दाबी छ । घटनालगत्तै मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रुखसाना खातुनले सांसद आलम, उनका भाइ शेख मोहमद महताभ आलम, सोही ठाउँका शेख भदै, शेख मोमिन र हालको गरुडा नगरपालिकाअन्तर्गत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाएर जिल्ला हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए । तर, प्रहरी र सरकारी वकिलमाथि दबाबका कारण अहिलेसम्म उनी पक्राउ परेका थिएनन् ।

त्यतिवेला घटनाका केही प्रत्यक्षदर्शीले समेत बम विस्फोटमा उनीहरू घाइते भएको र पछि इँटाभट्टाको आगोमा हालेर हत्या गरेको कागज गरिदिएका थिए । यसरी हत्या गरिएका ओसीका आमा रुखसाना खातुनको समेत पछि गोली हानेर हत्या भएको थियो । सो प्रकरणमा पनि आलममाथि छानबिन हुने प्रहरीले जनाएको छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । दिउँसो कांग्रेस कार्यकर्ताले गौरमा विरोध गरे । कांग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादवले गौरमा पत्रकार सम्मेलन नै गरेर आलम पक्राउको विरोध गरेका छन् । कम्युनिष्ट सरकारले कांग्रेसमाथि ज्यादति गरेको उनको भनाई छ । सुरक्षा चुनौती थपिएपछि अन्य जिल्लाबाटसमेत प्रहरी मगाएर जिल्लाभरको सुरक्षा कडा पारिएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।

अदालतको आदेशको सात वर्षपछि पक्राउ
बम विस्फोट गराउँदै अन्य प्रतिस्पर्धीलाई तर्साएर चुनाव जित्ने रणनीतिअन्तर्गत सो घटना भएको थियो । कांग्रेस नेता आलम ०६४ को संविधानसभा निर्वाचन विजयी पनि भए । राजनीतिक शक्तिको आडमा अपराधबाट भने उनी जोगिँदै आएका थिए । प्रहरीले मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, २९ असार ०६५ मा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो । भोलिपल्ट महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिल कार्यालयकै निर्णयलाई सदर गर्यो ।

त्यसपछि सर्वाेच्च अदालतमा रिट पर्यो । १६ जेठ ०६९ मा सर्वाेच्चका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको आदेश बदर गर्यो । त्यतिवेलै उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । तर, राजनीतिक दबाबमा प्रहरीले छुन सकेन । बरु फरार अभियुक्त रहेकै अवस्थामा ०७४ को निर्वाचनमा पनि टिकट पाएर विजयी भए ।

पछिल्लो समय महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गरेकोमा सर्वोच्चले पुरानै आदेशलाई सदर गरेपछि बल्ल प्रहरीले उनलाई पक्राउ गरेको छ । आलमका भाइसहित सो मुद्दामा फरार अन्य चारजनालाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ । आलमलाई मंगलबार अदालतमा उपस्थित गराई थुनामा राख्न म्याद लिइने रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए ।