राष्ट्रपति कार्यालय लक्षित आक्रमण : ६ जनाको मृत्यु, ३० घाइते

यमन । यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।

स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो ।

“हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वार तर्फ काम गरिरहेका थियौं, पहिला सादा आवाज सुन्यौं, त्यसपछि विस्फोटनको आवाज आयो,” कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भने । उनले बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको बताए । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले मोदी भ्रमणमा प्रोटोकल नतोड्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रोटोकल’ नतोड्ने भएका छन् । पटना हुँदै जनकपुर उत्रिन लागेका मोदीलाई जानकी मन्दिरमा भने ओलीले नै स्वागत गर्ने कार्यक्रम तय भएको छ ।  ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले हेलिकोप्टरबाट जनकपुर उत्रिने मोदीलाई विमानस्थलमा स्वागत गर्न प्रधानमन्त्री ओली नजाने पुष्टि गरे । मोदीको स्वागतका लागि ओलीले वरिष्ठ मन्त्रीसमेत रहेका रक्षामन्त्री इश्वर पोखरेललाई विमानस्थल पठाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा पनि मोदीले त्यहाँका वरिष्ठ मन्त्री गृहमन्त्री राजनाथ सिंह पठाएका थिए । मोदी दुई दिने नेपाल भ्रमणका लागि २८ वैशाखमा जनकपुर उत्रिनेछन् । उनी भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत जनकपुर रंगभूमि मैदानमा उत्रिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले यसपटक जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथको दर्शन गर्नेछन् । दुई दिने भ्रमणका क्रममा विशेष सम्बोधनका साथै जनकपुरदेखि अयोध्यासम्म बस सेवाको उद्घाटन हुनेछ ।

धार्मिक र पौराणिक सम्बन्धको आधारलाई लिएर यो बस सेवा सञ्चालन गर्न लागिएको हो । अयोध्या भगवान् राम र जनकपुर सीताको जन्मथलो हो ।

जानकी मन्दिरमा दुवै प्रधानमन्त्रीले संयुक्त पूजा अर्चना गर्नेछन् । प्रधानमन्त्री ओली जानकी मन्दिरमा पूजापाठ गरेर काठमाडौं फर्कनेछन् भने मोदी जनकपुर उपमहानगरपालिकाले तयार गरेको नागरिक अभिनन्द लिन बाह्रबिघा मैदान जानेछन् । काठमाडौं महानगरपालिकाले पनि त्यही दिन मोदीलाई नागरिक अभिनन्दन गर्नेछ ।

त्यसका लागि काठमाडौं महानगरपालिका भृकुटीमण्डपस्थिति राष्ट्रिय सभा गृहमा रंगरोगनदेखि मर्मत सम्भार गरेको छ । सडकको सरसफाइमा समेत महानगरले विशेष ध्यान दिइरहेको बताइएको छ ।

शुक्रबार २ः४५ बजे महानगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो । जनकपुरबाट काठमाडौं आएपछि उनलाई टुँडिखेलमा गार्ड अफ अर्नर दिइनेछ । त्यसमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । काठमाडौं आएलगत्तै मोदीले द्वारिकाज होटलमा नेपालका उच्च अधिकारी तथा विभिन्न दलका नेताहरूसँग भेट गर्नेछन् ।सोही होटलबाट प्रधानमन्त्री ओली र मोदीले स्वीच थिचेर अरुण तेस्रो हाइड्रोपावरको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

जनकपुरदेखि काठमाडौंसम्म स्वागतको तयारी नै तयारी
मोदीको भ्रमण तयारीको व्यवस्थापनको जानकारी लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार एड्भान्स लाइट हेलिकोप्टरमा नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीका साथ जनकपुर पुगेका थिए । जनकपुरबाटै प्रधानमन्त्री ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मोदीलाई ५ घेराको सुरक्षा
मोदी भ्रमणलाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा गरिएको छ । मोदीलाई पाँच घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।  भारतीय सुरक्षा अधिकारी नेपाल आइसकेका छन् । भारतीय सुरक्षा घेरापछि नेपाली सेनाले सुरक्षा दिनेछ ।

त्यसपछि प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका अधिकारीहरु मोदीको सुरक्षामा खटिनेछन् । करिब ७ हजार सुरक्षाकर्मी मोदीको भ्रमणका लागि परिचालन गरिने भएको छ । (राजधानी दैनिक)

गर्भपतन गराउँदा बिचार गर्नु है ५ वर्षसम्म जेल बस्नुपर्ला नि !

काठमाडौँ । गर्भपतन गराएर उम्कन पाउँछु भन्ने सोच्नुभएको त छैन ? तपाईंले यस्तो कार्य गरे ५ वर्षसम्म कैद बस्नुपर्नेछ भने ५० हजारसम्म जरिवाना तिनुपर्नेछ। मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ। तर यो कानुन आगामी भदौ १ गतेबाट लागू हुनेछ।

परिच्छेद १३ को दफा १ सय ८८ मा भएको यो ऐनले कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन नहुने व्यवस्था गरेको छ।

गर्भपतन गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मने र त्यसको परिणामस्वरूप जन्मिएको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिने छ।

गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको २५ हप्ता वा २५ हप्ताभन्दा बढी अवधिको गर्भ पतन हुन गएमा सो काम गर्ने कसुरदारलाई यस ऐन वा अन्य कानुनबमोजिमको सजायमा थप ५ वर्ष कैद हुनेछ। गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने वा गराउनेलाई ३ महिनादेखि ६ महिनासम्म कैद हुनेछ।

तर गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराए, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजतप्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले गर्भपतन गराएमा, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गराएमा गर्भपतन भएको मानिनेछैन।

आत्महत्या गर्न दुरुत्साहन गर्ने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ। क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारे, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारे, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारे, सार्वजनिकरूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारे, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या ९जेनोसाइड० गरे वा गर्ने उद्देश्यले कसुर गरे, जबरजस्ती करणी गरी ज्यान लिए जन्मकैद हुनेछ।

दफा २ सय ९६ मा ‘अनुमतिबिना एकको तस्वीर अरूलाई दिन वा बिक्री गर्न नहुने’ उल्लेख छ। यसरी अरूलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउने वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्ने र प्रचार वा खरिद–बिक्री गरे त्यस्तो व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना हुनेछ।

अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमतिबिना कसैको चिठ्ठी खोले वा अरूले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुने २ वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ। त्यस्तै कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गरे पनि २ वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध संहिता ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ आगामी भदौ १ गतेदेखि लागू हुँदै छ। दोस्रो संविधानसभाको विधायन समितिले यी ऐन बनाएर संसद्बाट पास गरेको थियो।

मुलुकी फौजदारी कार्यविधि (संहिता) को संयोजक तत्कालीन सांसद्हरू लक्ष्मणलाल कर्ण, मुलुकी देवानी (संहिता) को संयोजक राधेश्याम अधिकारी, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनको संयोजक रामनारायण बिडारी र मुलुकी देवानी कार्यविधिको संयोजक रेवतीरमण भण्डारी रहेका थिए । ५ जना संयोजक नै कानुनी पृष्ठभूमिका थिए । भण्डारीबाहेक सबै अहिले पनि सांसद् छन् । (नेपाल समाचार पत्र दैनिक)

धर्मका नाममा अतिवाद, यसरी घोषणा गरियो ‘प्रभु’को राज्य !

दाङ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ । छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाइएको छ ।

प्रभु राज्यका शासकहरु कहाँ बस्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पूर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ ।

रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक (प्रभु राज्यमध्येका एक शासक) गेटबाहिर निस्किए । आफूलाई जापानी नागरिक भनेर परिचय दिएका उनी नेपाली भाषा अस्पष्ट बोल्दा रहेछन् ।

पत्रकारको परिचय थाहा पाउनासाथ गोरो बर्णको उनको अनुहार एकाएक परिवर्तन भयो । आफू निकै ब्यस्त रहेको भन्दै उनले गेटभित्र छिर्न हतार गरे । संगीत अभ्यासका लागि जापानबाट लमही आएको बताएका ती युवकको दिनहुँको गतिविधि नजिकैको पसलेले देखिरहन्छन् ।

को हुन उनी ? पसल संचालिकाले भनिन, ‘क्रिश्चियन धर्म प्रचारमा आएका रे, दिनहुँ धर्मको प्रचार बाँडेर गाउँगाउँ हिड्छन ।’

यो घर विगत २ वर्षदेखि प्रभुका शासकहरूको आश्रय स्थल बनेको रहेछ । बेलाबेलामा यो घरमा विदेशी नागरिकहरू फेरिइरहन्छन् ।

‘कहिले को कहिले को, नयाँ नयाँ अनुहारका विदेशीहरू आइरहन्छन्,’ ती सञ्चालिकाले भनिन्, ‘कोही कोरियाका हौँ भन्छन्, कसैले जापनीज भन्छन् ।’

प्रभुको राज्य र प्रभुका विदेशी शासकहरूको बडेमानको थलो पहिल्याएपछि प्रभुको शासनबारे खोजतलासको पछि लागियो ।

बग्रेल्ती अमानवीय घटनाहरूले यो पुष्टि गर्यो कि ‘प्रभुको शासन’ देउखुरीमा बलजफ्ती ढंगबाट चलिरहेको रहेछ ।’ (नागरिक दैनिक)

पार्टी एकता सरेको हो कि टरेको ? प्रचण्ड र भारतीय राजदूतहरूको रहस्यमय बैठक

काठमाडौं । बहुप्रतिक्षित एमाले र माओवादी केन्द्रबीचको एकीकरण कहिले होला ? यसबारे नेपाली जनता बिलखबन्दनमा परेका छन् नै । यी दुई पार्टीका नेता कार्यकर्ताहरू समेत अलमलमा देखिन्छन् ।
एकताका शूत्रधार नेताहरू छिटै एकता हुने सन्देश दिइरहेका छन् । पार्टी एकता सरेको हो कि टरेको हो भन्ने जिज्ञासामा एकीकरणका कार्यदलमा खटिएका एक नेताले भने, ‘एकता टरेको छैन, एकीकरणलाई फाइनल दिँदैछौँ ।’

एकीकरण मिति किन सरिरहेको छ त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘नेताहरूको व्यवस्थापन र केन्द्रीय समितिको संख्या निर्धारण गर्ने वित्तिकै एकता घोषणा गर्छौं ।’ साँघु साप्ताहिकले समाचार छापेको छ ।

तर, एकता निश्चित भएपनि एकता हुने मिति अनिश्चित देखिन्छ । वाम एकता हुन नदिने देशी–विदेशी षड्यन्त्रलाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पन्छाउँदै नेपाले कम्युनिस्ट पार्टी निर्माण गर्न कति दिन, कति हप्ता, कति महिना वा कति वर्ष लगाउने हुन् ? सर्वत्र चासोको विषय बनेको छ ।

डोल्पा जिल्लाको रहस्यमय भ्रमण सकेर काठमाडौं फर्किएका नयाँ दिल्लीको १२ बुँदे सम्झौताका रचनाकार तथा नेपालका लागि पूर्वभारतीय राजदूतहरू श्याम शरण, रञ्जित रे र देव मुखर्जीले वैशाख ११ गते प्रचण्डलाई भेटेर ३ घण्टा लामो छलफल गरे लगत्तै यसअघि पार्टी एकताबारे अनेक अत्तो थाप्दै आएका प्रचण्डले एकता गरिहाल्ने प्रचार गर्नुलाई रणनीतिक विश्लेषकहरूले विशेष अर्थपूर्ण रहस्यमयरुपमा लिएका छन् ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अगाडि एकता गर्दा नेपालमा इण्डियन फ्याक्टरको कारण एकता भएको नकारात्मक सन्देश जाने हो कि भनेर मोदीको भिजिट समाप्ति लगत्तै एकता गर्ने आन्तरिक गृहकार्य भएको एकता कार्यदलका एक सदस्यले बताए ।

देशभर मदिरा नियन्त्रण अभियान चलाइने, यस्तो छ तयारी

काठमाडौं । गृह मन्त्रालयले देशव्यापीरुपमा मदिरा नियन्त्रण अभियान सन्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमामात्रै मदिरा बिक्री–वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो ।

सोहीक्रममा आइतबार गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृह मन्त्रालयमा सो विषयमा छलफल गरेका छन् । छलफलमा गृहमन्त्री थापाले समाज, परिवारमा विखन्डनको प्रमुख कारण मदिरा रहेको र यसको नियन्त्रण गर्ने तयारी थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेत्रीहरुसँग आग्रह गरे ।

उनले पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौं गुणा घातक रहेको टिप्पणी गरे ।

देशभर रहेका करिब ६ हजार ५०० स्थानीय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सन्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए ।

यसका लागि मन्त्रालयले विस्तृत् खाका बनाइरहेको र अभियान केन्द्रको प्रयासलेमात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सन्चालन गरिने गृहमन्त्री थापाको भनाइ छ ।

यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सन्चालनका लागि आवश्यक गृहकार्य गरिरहेको गृहमन्त्रीले जानकारी दिए । उनले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र भन्डाफोर कार्यक्रम आयोजना गरिने बताए ।
उनले अनुमति नलिइ र मापदन्ड नपुगी सन्चालनमा ल्याइएको मदिरा पसललाई नियन्त्रणमा लिन सुरक्षाकर्मी तत्काल परिचालन गरिने बैठकमा जानकारी दिए । विकास र समृद्धिको बाधक तथा भ्रष्टाचारको कारकसमेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिबद्धता बैठकमा गृहमन्त्रीले व्यक्त गरे । मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानकारुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरि बाँस्कोटाले मदिरा नियन्त्रणका उपायका सम्बन्धमा कार्यपत्र प्रस्तुत् गरेका थिए । छलफलमा महिला नेत्रीहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै मदिरा नियन्त्रण अभियानमा साथ दिन तयार रहेको बताएका थिए ।

उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए । उनीहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रकोसमेत तत्काल विकास गर्नुपर्ने बताए ।

विगतमा टोल, गाउँ र जिल्लागतरुपमा यस्तो अभियान सन्चालन गरिएपनि यसपटक केन्द्रस्तरबाटै अभियान सुरु गर्न लागिएकाले अभियान सफल हुनेमा छलफलमा सहभागी सबैको एकमत रहेको थियो । रासस

यस्तो छ मोदीको २९ घण्टे नेपाल बसाइको कार्यक्रम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथ साढे २९ घण्टा बिताउन भएका छन्। तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ।

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी २८ गते बिहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय हवाई सेनाकाेको विशेष हलिकोप्टरमा जनकपुर विमानस्थलमा आउनेछन्। जानकी मन्दिरमा पूजा सम्पन्न गरेपछि मोदी रामायण सर्किटसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि काठमाडौं सेनाको हेलिकोप्टरबाट आउने छन्। विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ। नागरिक दैनिकमा समाचार छ ।

एल क्लासिको : रियल मड्रिड र बार्सिलोना बराबरीमा रोकिए

काठमाडौं । स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल आइतबार राति बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगाको उपाधि विजेता बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ ।

रियल मड्रिडले गएको डिसेम्बरमा भएको एल क्लासिकोमा बेहोरेको हारको बदला लिन नसके पनि पराजयबाट भने जोगियो। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । निकै तनावपूर्ण खेलको १० औं मिनेटमा लुइस स्वारेजको गोल मार्फत बार्सिलोनाले अग्रता बनायो । तर, खेलको १४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
पहिलो हाफमा इन्जुरी समयमा बार्सिलोनाका रेर्गि रोबेर्टोले मर्सेलोलाई फल गरेपछि रेफ्रिले सोझै रातो कार्ड देखाए । दश खेलाडीमा सिमित बार्सिलोनाका लागि खेलको ५२ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै अग्रता बनाए । तर, ७२ औं मिनेटमा काउन्टर अट्याकमा ग्यारेथ बेलले गोल गर्दै खेल दुई–दुई गोलको बराबरीमा पुर्याए ।
त्यसो त यो खेलमा रेफ्रिको निर्णय पनि निकै विवादस्पद रह्यो । एकपटक जोर्डी अलावाले मर्सेलोलाई फल गरे पनि पेनाल्टी दिएनन भने पुरै खेलमा ८ वटा पहेलो कार्ड दिइएको थियो ।

रियलका रोनाल्डो घाइते भएका कारण दोस्रो हाफ खेल्न सकेनन्। गोल गर्ने क्रममा गोलीगाँठो बाङ्गीएकाले रोनाल्डो दोस्रो हाफमा खेल्न नसेका हुन्। उनको स्थानमा एसेन्सिओ आएका थिए ।

यो बराबरी बार्सिलोनाका लागि जित सरह हो। लिगका ३५ खेल भइसक्दा उ पराजित भएको छैन। अझै चिरप्रतिद्धन्द्धी रियलभन्दा १५ अंकले अगाडि छ ।साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो।

एमाले–माओवादी एकता जेठ पहिलो साता

काठमाडौं । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता संयुक्त अधिवेशन बोलाउने भएका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि संयुक्त अधिवेशन बोलाउने समझदारी गरेका हुन्। जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमिति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठकमार्फत मिति तोक्ने तयारी छ।

बालुवाटारनिकट स्रोतले पनि केन्द्रीय कमिटीसहित दशवटै तहका कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य नेता छनोट गरेर टुंग्याउने गरी अध्यक्षकै तहमा गृहकार्य भइरहेको दाबी गरेको छ। ‘माओवदी केन्द्रका अध्यक्षज्यूले पनि पार्टीका तर्फबाट योग्यहरुको खाका तयार पारिसक्नुभएको छ, त्यसबाटै नयाँ पार्टीमा समावेश गर्नुहुनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘एमालेको तहगत संरचना रहेकाले छनोटका लागि कुनै समस्या छैन।’ नयाँपत्रिका दैनिकमा समाचार छ ।

क्यान्सरबाट पीडित बालकलाई धादिङ–नुवाकोट समाज यूकेको सहयोग

अशोक ढकाल
नुवाकोटको किस्पाङ गाँउपालिका वडा नं. २ फिकुरी स्थित सिमाराङका तीन वर्षीय बालक गौरब घिमिरेको जन्मजात मिर्गौलामा क्यान्सर भएकाले धादिङ–नुवाकोट समाज यूकेले ३४ हजार ६०० रुपैयाँ सहयोग गरेको छ ।

धादिङ र नुवाकोटबाट बेलायतमा गएर बसोबास गर्ने नेपालीहरुको साझा सस्था धादिङ–नुवाकोट समाज यूकेले जन्मजात नै मिर्गौलमा खराबी भएका बालक गौरबको उपचारमा सहयोग पु¥याउन उहाँको आमा पार्वतीलाई  यही बैशाख २३ गते  विदुरमा करिब ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं. १४ पात्ले घर भएर अहिले बेलायतमा गएर बस्नुभएका धादिङ–नुवाकोट समाज यूकेका महासचिव धनबहादुर तामाङले संकलन गरी पठाएको रकम बिरामी बालकको आमालाई हस्तान्तरण गरिएको तार्केश्वर गाँउपालिका वडा नं. १ दाङसिंहका सोमबहादुर तामाङले जानकारी दिनुभयो ।

२०७२ कार्तिकमा जन्मनुभएका बालकको जन्मदता नै मिर्गौलामा नशा सानो भएर रक्तसञ्चार प्रणाली सञ्चालन नभएर क्यान्सरबाट पीडित भएका छन् । शारिरीक रुपमा समेत कमजोर देखिएका बालकको उपचारको लागी अहिले मासिक दश हजार रुपैयाँको औषधी खुवाएर बचाउदै आएको र एमआरआई, इसीजी, लगायत गरेर मात्र मिर्गौला परिवर्तन गर्न सकिने चिकित्सकहरुले सुझाब दिएका छन् ।

पीडित परिवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारको लागी विभिन्न सँस्था मार्फत प्राप्त भएको सहयोगबाट नै बालकलाई औषधि खुवाउने गरिएको छ ।

मेलमिलापसगै रगतदानमा पनि सक्रिय

जगदिश खनाल
२३ बैशाख, नुवाकोट । ‘दिगो शान्तिको लागी उन्नत सम्बन्ध’ अभियान चलाउदै आएको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटको आयोजनामा बट्टारमा भएको रक्तदानमा १२ जना दाताले रगत दिएका छन् ।

विश्व हासो दिवसको अवसर बनाएर विदुर नगरपालिका वडा नं. ४ स्थित हावाघरमा आयोजित एक दिने रक्तदान कार्यक्रममा १२ जना दाताले रगत दान गरेको र चार जना दातालाई जिल्ला अस्पताल त्रिशूलीको सम्पर्कमा हुने गरी तयारी अबस्थामा राखिएको केन्द्रका जिल्ला संयोजक सिताराम पौडेलले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम सञ्चालनको लागी तार्केश्वर गाँउपालिकाको न्यायिक समिति, शुक्रपथ फाउण्डेसन काठमाडौको सहयोग र रक्तसञ्चार सेवा केन्द्र नुवाकोटले प्राविधिक सहयोग पु¥याएको थियो । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटमा पछिल्लो तीन वर्षदेखि समुदायमा उत्पन्न देवानी प्रकृतिका विवाद समाधानको लागी दुवै पक्षलाई जीत–जीतको अबस्था सिर्जना गर्न मेलमिलाप अभियान सञ्चालन गराउदै आएको छ ।

केन्द्रको सहयोगमा नुवाकोटका साविकका सबै स्थानीय निकायमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको थिए भने तिनीहरुलाई अहिले स्थानीयतह अनुसारको संरचनामा रुपान्तरण गरी समुदायमा उत्पन्न सामान्य प्रकारणका झैझगडा, प्राकृतिक श्रोतको उपभोग विवाद, साँधसीमा विवादमा रहेको बेमेललाई मिलाउन सक्रिय रहदै आएको छ ।

जलविद्युत् लगानीका लागि दक्षिण एसियामा नेपालको अवस्था सबैभन्दा कमजोर

काठमाडौं ।  जलविद्युत् क्षेत्रमा लगानी जोखिम निर्धारणका विभिन्न सूचकांकको आधारमा विश्लेषण गर्दा दक्षिण एसियामा नेपालको अवस्था सबैभन्दा कमजोर देखिएको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ (इनर्जी–सारी-ई)ले दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनले नेपालको अवस्था दक्षिण एसियाभित्र सबैभन्दा कमजोर देखाएको छ ।
कमजोर लगानी जोखिम निर्धारणमा नेपाल देखिएको छ ।

लगानी जोखिम निर्धारणअन्तर्गत लगानी प्रबद्र्धन र सुरक्षाको आधारमा गरिएको विश्लेषणमा छ ।  सूचकांकमध्ये तीन सूचकांकमा नेपालको अवस्था कमजोर र एकमा अति कमजोर देखाइएको छ ।  दक्षिण एसियाका नेपालसहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, भुटान र माल्दिभ्समा एफडीआई सहजीकरण, सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्गचित्र, कर र प्रोत्साहन, नीति र नियमन, कानुन र विवाद समाधान र स्थानीय अनुमोनका आधारमा लगानी जोखिम निर्धारण गरिएको छ । प्रतिवेदनमा उल्लेख यी ६ मध्ये कुनै सूचकांकमा नेपालो सबैभन्दा बलियो छैन, कारोबार दैनिकमा खबर छ  ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web