सत्तापक्ष र प्रतिपक्षबीच अनौठो घटना,सत्तापक्षको दम्भ कि प्रतिपक्षको घुर्की ?

काठमाडौं । संघीय संसदअन्तर्गतको बिहीबार बसेको प्रतिनिधी सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच अनौठो घटना देखा पर्‍यो । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्न गर्न नपाएको भन्दै झोक्किएका प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले चालू अवस्थामा रहेको बैठक बहिस्कार गरेर बाहिरिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संसद बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको सरकारका तर्फबाट गृहमन्त्री बादलले जवाफ दिए ।

गृहमन्त्री बादलले कञ्चनपुरमा बालिका बलात्कारपछि भएको हत्या प्रकरण र सांसद निरुदेवी पालमाथि भएको धम्कीलागायतका विषय समेटेर जवाफ दिए ।

उनको जवाफ सकिएपछि कांग्रेसका सांसदहरुले असन्तुष्टि जनाउँदै प्रतिप्रश्न गर्न सभामुख कृष्णबहादुर महरासँग समय माग गरे । तर, सभामुख महराले प्रतिपक्षीलाई बेवास्ता गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोल्न समय दिए ।

मन्त्री ज्ञवालीले बोलेपछि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुखसँग पटकपटक बोल्न समय माग गरिरहे । तर, सभामुख महराले सांसद रिजाललाई शुन्य र विशेष समयमा उठेका प्रश्नको मात्रै मन्त्रीले जवाफ दिएको भन्दै समय उपलब्ध गराउन मानेनन् ।

पुनः रिजालले प्रतिनिधी सभा नियामावली २१९ को ९२० अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनु पर्ने भन्दै सभामुखसँग अडान कसिरहे ।

महराले उनलाई नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था नभएको र अर्को बैठकमा बोल्ने समय उपलब्ध गराउने भन्दै बैठकअघि बढाइ नै रहे ।

कार्यसूचीअनुसार सभामुख महराले संसदीय समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए । त्यतिञ्जेल कांग्रेसका सांसदहरू उभिएर सभामुखले वाचन गरेका समितिमा रहने सदस्यहरुको नाम सुनिरहे ।

त्यसपछि पनि सांसद रिजालले सभामुखसँग प्रतिप्रश्न गर्न पाउनु पर्ने माग दोहोर्‍याइरहे । तर, सभामुख महराले समय उपलब्ध नगराई अर्थमन्त्री डा.युवराज खतिवडालाई बीमासम्बन्धी विधेयक प्रस्तुत गर्न समय दिए । यति भएपछि थप रुष्ट भएका कांग्रेसका सांसदहरु बैठक नै बहिस्कार गरेर बाहिरिए ।

प्रमुख प्रतिपक्षी दल बाहिरिए पनि सभामुख महराले बैठकको काम कारबाही रोकेनन् । उनले गृहमन्त्री बादललाई अन्तराष्ट्रिय आतंकवाद अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरूद्ध सहयोगसम्बन्धी विमस्टेक महासन्धि विधेक प्रस्तुत गर्न समय दिए ।

सो विधेयक संसदमा दर्ता भएपछि महराले शुक्रबारसम्मका लागि प्रतिनिधी सभाको बैठक स्थगन भएको घोषणा गरे ।

संसदमा भएको यस्तो दुर्लभ घटनाका बारेमा सत्तापक्ष, प्रतिपक्षी र कानुनका जानकारको आ–आफ्नै धारणा छ ।

काठमाडौं महानगरको अर्को फण्डा, उपहार किन्न ७५ लाख विनियोजन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

कामनपाले स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पूजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरेको छ ।

यस्तै मसलन्द र छपाईमा २ करोड २५ लाख, जनशक्ति तालिममा २ करोड, बैठक तथा समिति भत्तामा १ करोड ५३ लाख, बैठक तथा समिति खर्चतर्फ ३५ लाख, परामर्श शुल्क तर्फ ३० लाख, भ्रमण र दैनिक भत्तातर्फ १ करोड ६० हजार रुपियाँ विनियोजन गरिएको छ । जनप्रतिनिधिले स्थानीय निकाय संचालन गरेपछि यो वर्ष अधिकांस शीर्षकमा रकम बढाइएको हो ।

सरकारी कार्यविधिको खिल्ली उडाउँदै मेयर विद्याशुन्दर जापानतिर…

काठमाडौं । निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् । परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाएको छ ।

परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो', उनले भने, 'हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’

उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेकोबारेमा बुझ्नु पर्ने बताए । ‘आज त योबारेमा बुझ्न सम्भव छैन, अब भोलि बुझौँला,’ प्रवक्ता कुबँरले भने ।

महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । यसअघि ललितपुरका मेयर चिरिबाबु महर्जनसमेत परराष्ट्रको स्वीकृतिबिना विदेश गएका थिए । अन्नपूर्ण पोस्टबाट ।

३३ किलो सुन काण्ड: ३ सय अनुसन्धानकाे दायरामा

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा नेपालमा लामो समयदेखि सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको कारण सुन तस्करीकालागि नेपाल स्वर्ग भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

सहसचिव पौडेलको टोलीले तयार पारेको प्रतिवेदनमा सुन तस्करी, हण्डीबीच अन्तर सम्वन्ध रहेको उल्लेख छ । प्रतिवेदनमा सुन तस्करी काण्डमा अझै ३ सय भन्दा बढीको संलग्नता रहेको र उनीहरुको नाम नै किटेर कारवाहीको दायरमा ल्याउन समेत समितिले आग्रह गरेको छ ।

सरकारले गठन गरेको समितिको २ पटक म्याद थप गरिएको भएपनि अनुसन्धानको पाटो गहिरो भएकाले अझै दायरा फराकिलो भएको समिति गठन गर्न समेत सुझाव दिएको बताइएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयले एउटा टोली बनाएर अनुसन्धानलाई अझै गहन रुपमा गर्न समेत सिफारिस गरेको बताइएको छ ।

३ सय जना माथि थप अनुसन्धान गर्न सिफारिस गरेकामा केही राजनीतिक दलका नेताहरु समेत रहेको बताइएको छ ।

सरकारले गत चैत २० गते उक्त समिति गठन गरेको थियो । समितिका संयोजक पौडेलको अध्यागमन बिभागमा सरुवा भएको छ ।

मोटरसाइकलको मूल्यमा नयाँ व्यवस्था, थोरै आय भएकाले किन्नै नसक्ने !

काठमाडौं । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ ।

दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । कारोबार दैनिकले समाचार छापेको छ ।

बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बढाइएको थियो ।

बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो ।

सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुल्क र सडक मर्मत दस्तुर वृद्धि हुनु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुनील रिजालको भनाइ छ ।

नेपालको ऐतिहासिक एक दिवसीय क्रिकेट आज,‘डेब्यु’ खेलमै बलियो छाप छोड्ने दाउ

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज नेपालले खेल्न लागेको हो ।  एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग दिउँसो २ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ ।

ऐतिहासिक खेलमा नेपाल जितको खोजिमा हुनेछ । नेपालले पहिलो खेलमा नै नेदरल्यान्ड्समाथि उसैको भूमिमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ ।  नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । नेपालका कुनै पनि खेलाडीले खेल आफ्नो पक्षमा पार्न सक्ने साहस राखेका छन् ।
काठमाडौं ।

नेपाली क्रिकेट टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।

त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

नेदरल्यान्ड्स क्रिकेट टिम

पिटर सिलर (कप्तान), वेश्लेय बर्नेसी, डेन टेर ब्राक, बेन कोपर, स्कोट इडवार्ड्स, फ्रेडेरिक क्लासेन, बास डे लिड, पाउल भान मिकेरेन रहेका छन् । त्यस्तै, स्टेफन मिबुर्घ, म्याक्स ओडोव्ड, हिडे ओभरडिज्क, शेन स्नाटर र मिचेल रिपोन रहेका छन् ।

अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता प्राप्त खेलको ‘डेब्यु’ भएपनि नेपाल ५० ओभरको खेलमा अभ्यस्त भएकोले नेपालको लागि यो खेल कठिन होइन। तैपनि बलियो नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा भिड्नु परेकोले यो खेलमा प्रशस्त चुनौती छ।

पारस खड्काको अनवरत कप्तानीको निरन्तरताको फलस्वरुप नेपाल बलियो क्रिकेट राष्ट्र बनिसकेको पछिल्लो प्रतियोगिताहरुले पुष्टी गरिसकेको छ। यस्तोमा अनुभवी क्रिकेटहरु सम्मिलित यस ‘गोल्डेन जेनेरेसन’ ले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउने विश्वास गर्नु अन्यथा हुँदैन।

तैपनि क्रिकेटको अभाव, क्रिकेटको आधिकारिक निकायमा रहेको अनावश्यक विवादले नेपाली क्रिकेटको सफलतामा खुट्टा तान्ने गरिरहेको छ। यस्तो अवस्थाबाट गुज्रनु परेपनि नेपाली क्रिकेटरहरुको मेहनत र लगनशिलताले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटमा पाइला हाल्ने अवस्थामा आइसकेको छ।

कप्तान पारसले यो क्षणलाई महत्वपूर्ण भनेका छन्। पारस भन्छन्, ‘यस वर्ष जिम्बावेमा विश्वकपको क्वालिफायरमा स्थान बनाउनु हाम्रा लागि विशेष उपलब्धी होे। उक्त प्रतियोगिताबाट अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता पाउनु नेपाली क्रिकेटको लागि उच्च बिन्दु होे। यो वर्ष मेरा पुस्ताका खेलाडिहरुको लागि महत्वपूर्ण रह्यो किनकि हामी यो बिन्दुमा आउनका लागि धेरै मेहनत गरेका थियौं।’

पारसका अनुसार अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता पाउनु आईसीसी विश्व टि–२० २०१४ पछिकै सबैभन्दा खुशीको क्षण पनि हो।
सन् २०१९ को विश्वकपमा स्थान बनाउन चुकेपनि एकदिवसिय मान्यताले नेपाललाई थप खेलहरु तथा प्रतियोगिताहरु खेल्ने अवसर तथा आईसीसीको सहायता रकम पनि बढि आउने हुनाले नेपाली क्रिकेटलाई ठूलो राहत मिलेको छ।

यस महत्वपूर्ण उपलब्धिले हौसिएकाले पनि नेपालले आफ्नो स्तर बढाएर प्रदर्शन गर्नुपर्ने देखिएको छ। सोही अनुरुप नेदरल्याण्ड्स विरुद्धको यस प्रतियोगिता लक्षित गरेर तयारी गरेको नेपालले हालसम्म राम्रो नतिजा ल्याएको छ। यस्तोमा नेपाली टोलीले खेलाडिको क्षमता अनुसारको ब्याटिङ क्रम बनाउने तथा बलिङमा खेलाडिको क्षमताको उपयोग गर्न सकेमा सफलता हात पार्ने कुरामा दुईमत छैन।

कप्तान पारसको सदाबहार फर्मको कारण पनि नेपाली टोली बलियो देखिएको छ। त्यस्तैगरी तल्लो क्रममा रोहित पौडेल र आरिफ शेखको उदयसँगै नेपालको ब्याटिङको समस्या एक हदसम्म सम्बोधन भएको छ। ओपनिङमा समस्या रहेपनि सुवास खकुरेलको आगमनले यसमा पनि स्थायित्व आउने विश्वास गर्न सकिन्छ। तैपनि हालसम्म सुवासले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकिरहेका छैनन्। मध्य क्रममा शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीको जुझारु खेल पनि नेपालको बलियो पक्ष हो।

बलिङमा सोमपालसँगै ओपनिङ गर्ने कार्यमा ललित भण्डारी र करन केसी फितलो देखिएका छन्। त्यसमाथि सोमपालको बलिङमा केहि विकेट आएपनि धेरै रन खर्चिनाले नेपाललाई केहि समस्या परिराखेको छ। यसको विपरित स्पीन बलिङमा असीमित श्रोत भएकोले नेपाल ढुक्क छ। सन्दीप लामिछाने, बसन्त रेग्मी, ललित राजवंशी र शक्ति गौचनको साथमा पार्ट टाइमर शरद भएकाले स्पीन बलिङ यस प्रतियोगितामा पनि नेपालको मुख्य हतियार नै हुनेछ।

यही कारण पनि नेपालले यस खेलको लागि ३ स्पीनर खेलाउँदै एकमात्र पेसरको रुपमा सोमपाललाई मैदानमा उतार्ने प्रवल सम्भावना छ। नयाँ बल लिएर सोमपालको साथमा पारस आइ बलिङ गर्दे शरद र दिपेन्द्रको पार्ट टाइम बलिङको पनि उपयोग सम्भावना रहेको छ। त्यस्तै यस ऐतिहासिक प्रतियोगितामा खेल्दै सन्यास गर्ने घोषणा गरेका शक्तिले पहिलो खेल खेल्ने लगभग पक्का छ।

नेदरल्याण्ड्सले पनि नेपालसँगको प्रतियोगितालाई उच्च महत्व दिंदै बलियो टोली घोषणा गरेको छ।

यो खेल एउटा ट्रफीको लागि मात्र नभएर यसमा हुने हार र जितले आईसीसीको वरियतामा फरक पार्ने भएकोले नेपाल र नेदरल्याण्ड्स दुबैको लागि यो प्रतियोगिताको ठूलो महत्व छ। यस्तोमा नेपालले बलियो नेदरल्याण्ड्सलाई हराउँदै ‘डेब्यु’ खेल जित्दै विश्व क्रिकेटमा बलियो छाप छोड्न चाहन्छ।

यो हो जोशीको असली कर्तुत, आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा लेकालीको नाम

काठमाडौं । क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । तर, उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर, ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो ।

विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिनाअघि अर्थात् २४ असोज ०११ छ । स्रोत भन्छ, ‘जन्ममितिदेखि सर्टिफिकेटसम्म विवादास्पद छ ।’ जोशीको विजय मेमोरियल स्कुलमा अध्ययन गर्दाको कक्षा ९ को सर्टिफिकेट र कक्षा १० को सर्टिफिकेटमा विद्यालयको लेटरहेड नै फरक भेटिएको छ ।

एउटा लेटरहेडमा विद्यालयको नाम अंग्रेजी अक्षर ‘बी’ र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यति मात्र नभई एउटै स्कुलको नाम लेटरहेडमा विजय लेख्दा एउटामा ‘बी’बाट र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यस्तै विद्यालयको नामलगत्तै एउटामा ‘को एजुकेसन’ र अर्कोमा ‘गभर्मेन्ट रेकोग्नाइज्ड‘’ भनिएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ ।

‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर टुंगो लाग्ने गरी पार्टीभित्र छलफल हुनसकेको छैन ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छिट्टै टुंगो लगाउने पौडेलले बताए ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी चार मन्त्रालयलाई गाभेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको थियो । प्रधानमन्त्री ओलीले १० साउनमा साबिकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएका थिए ।

अब चक्रपाणि खनाल कृषि तथा पशुपक्षी मन्त्री मात्र हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई नयाँ गठन गरिएको भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बनाउने तयारी गरिएको छ । अर्याललाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्न लागिएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेपछि अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री बन्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई अर्कै मन्त्रालयको जिम्मेवारी दिन लागिएपछि अब फोरमबाट राज्यमन्त्री थपिने भएको छ । फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।

फोरमबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सहकारी विकास मन्त्रीमा मोहमद इस्तियाक राई छन् । एक राज्यमन्त्रीका लागि तीनजना नेता दौडधुपमा लागेको फोरमका एक नेताले बताए । राज्यमन्त्रीका लागि प्रमिला यादव, डा. सुरेन्द्र यादव र प्रदीप यादव लबिङमा लागेका छन् । फोरममा मधेसी समुदायबाट मन्त्री भइसकेकाले जनजाति समुदायबाट राज्यमन्त्री बनाइनुपर्ने दबाब छ ।

नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ ।

प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाण : कक्षा १० मा दुई विषयमा फेल

काठमाडौं ।  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएकोजस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । तर, विपक्षी कांग्रेस भने अझै स्पष्ट भइसकेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सुनुवाइ भएको ६ दिन पुगिसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । प्रधानन्यायाधीश हुनुअघि नै शैक्षिक प्रमाणपत्रदेखि फैसलासम्मका विषयमा चौतर्फी विवाद भएको भन्दै सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ ।

गत बिहीबार सुनुवाइ सकिए पनि पार्टीभित्र थप छलफल गर्ने भन्दै नेकपाले बिहीबार, शुक्रबार र आइतबारको बैठक स्थगित गर्न आह्वान गरेपछि सरेको थियो ।

सोमबारको बैठकमा सत्तारुढ दलले जोशीलाई सर्वसम्मत अस्वीकृत गर्ने प्रस्ताव समिति बैठकमा राखेपछि कांग्रेसबाट समितिमा रहेका सांसदले पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने समय मागेका थिए । मंगलबार कांग्रेस देशव्यापी आन्दोलनमा रहेकाले आज (बुधबार) अपराह्न ३ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

जोशी अस्वीकृत हुनुपर्नाका कारण

संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ ।

समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो ।

राजीनामा दिएर बैठककै बीचमा झोँक्किएर बाहिरिए श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।

दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने रु’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताए ।

‘त्यसो भए मलाई यो प्रवक्ता पद चाहिएन, मैले राजीनामा दिएँ भन्दै लिखित राजीनामापत्र बुझाएर उहाँ बैठकबाट बाहिरिनुभो,’ ती सचिवालय सदस्यले नयाँ पत्रिकासँग भने ।

‘मैले डा। केसी मूलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनुभएको मूल मुद्दा सही छ, माथेमा प्रतिवेदनको मूल पक्ष सकारात्मक छ, हाम्रो पार्टीका नेता–कार्यकर्ताले पनि विनापूर्वाग्रह यसलाई आत्मसात् गरी वार्ताद्वारा समस्याको समाधान गर्नुपर्छ भन्दा तीव्र विरोध गर्नेलाई पनि अहिले धन्यवाद छ,’ प्रवक्ता श्रेष्ठले डा केसीलाई भेटिसकेपछि १० साउनमा ट्विटरमा लेखेका थिए ।

उनले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको विवादित भिडियो सार्वजनिक भएपछि पनि ‘तामाङले गलत काम गरेकाले माफी माग्नुपर्ने र पार्टीको ध्यानाकर्षण हुनुपर्ने’ भन्दै सामाजिक सञ्जालमा धारणा राखेका थिए ।

जोशीको विकल्पमा मिश्र, त्यसपछि १० वर्षलाई बन्नेछ यस्तो वरीयता

काठमाडौं । संसदीय सुनुवाइ समितिमा भएको विवादमा नाटकीय परिवर्तन आए जोशी प्रधानन्यायाधीश हुने सम्भावना अझै पनि छ । तर, समितिले उनलाई अस्वीकृत गरेमा वा त्योभन्दा अघि राजीनामा दिएमा नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । यसका लागि सर्वोच्चका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र बलियो दाबेदार हुनेछन् । मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा पाँच महिनाको हुनेछ । १८ पुसमा अवकाश पाउने मिश्रपछि अर्का न्यायाधीश चोलेन्द्रशमशेरका लागि बाटो खुल्नेछ ।

तर, जोशी अनुमोदन भएमा मिश्र प्रधानन्यायाधीश हुने सम्भावना स्वतः समाप्त हुनेछ । किनकि उमेरका कारण जोशीले २४ असोज ०७६ सम्म प्रधानन्यायाधीश हुन पाउँछन् । तर, त्यसअघि नै मिश्रले १८ पुस ०७५ मा अवकाश पाइसकेका हुनेछन् । जोशी प्रधानन्यायाधीश भएमा चोलेन्द्रशमशेर राणाले २४ असोज ०७६ मा मात्र प्रधानन्यायाधीशको पालो पाउन सक्छन् । तर, अहिले नै जोशीको सट्टा मिश्र आएमा आगामी पुसमै चोलेन्द्रशमशेरको पालो आउँछ ।

तर, अहिले जोशी प्रकरणमा कुनै ‘बोल्ड डिसिजन’ भएमा उदाहरण अरू न्यायाधीशमाथि पनि दोहोरिन सक्छ । आगामी पुसमा अवसर पाए चार वर्ष र असोज ०७६ मा अवसर पाए तीन वर्ष चोलेन्द्रशमशेर प्रधानन्यायाधीश हुनेछन् ।
किनकि, २८ मंसिर ०७९ मा मात्र उनी ६५ वर्ष पुग्नेछन् । चोलेन्द्रपछि वरीयताअनुसार हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान प्रधानन्यायाधीश बन्ने लाइनमा छन् ।

महेन्द्रपथीय रणनीतिमा प्रचण्ड, ‘रअ’सँग किन यति धेरै निकटता ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन र भारतका राजनीतिक चासो र चलखेल गर्ने राजनीतिक र गुप्तचर निकायका प्रमुखसँग सम्बन्ध बढाएका छन् । कुनै बेला भारतीय र चिनियाँ एजेन्सीका अधिकारीबाट खतरामा रहेको भन्ने प्रचण्डले राजा महेन्द्र शाह पथीय राजनीतिलाई अगाडि बढाउन थालेका छन् ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष ओलीले गरे पनि चिनियाँ तथा भारतीय अधिकारीले प्रचण्डलाई चलायमान बनाउन थालेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सोमबार चिनियाँ उप विदेशमन्त्री वाङ वाजुङसँग भेट गरेका प्रचण्ड मंगलबार भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाईसीस विङ (रअ)को प्रत्यक्ष आयोजनामा हुन लागेको कार्यक्रममा पनि पुग्दैछन् ।

चिनियाँ विदेशमन्त्रीले नेपालमा भारतको सक्रियताका विषयमा प्रचण्डसँग जानकारी लिएका थिए । उनले नेपालमा भारतीय अधिकारीहरू आउने गरेको बताए पनि नेपालको विकासको लक्ष्य चीनसँगको साझेदारीमा नै हुने बताएका थिए । तर चीन यत्तिमा आश्वस्त हुने अवस्था भने छैन ।

उच्च स्रोतका अनुसार नेपालले चीन र भारतसँग समदुरी राख्ने रणनीति अपनाएअनुसार नेकपाका नेतृत्वको भेट भइरहेको हो । तर प्रचण्ड भने महेन्द्र पथीय राजनीतिमा सक्रिय भएका छन् । उनले सरकार भन्दा पनि राजनीतिक नेतृत्व र तिनका प्रतिनिधिलाई पार्टी र सकारको नीतिका बारेमा बुझाउन थालेका छन् ।

‘उच्च अधिकारीसँग पार्टीको नीति र पार्टीले सरकारमा अख्तियार गरेको नीतिका विषयमा अध्यक्ष प्रचण्डले बुझाउने गर्नु भएको छ, दैनिकजसो उहाँको भेट दुवै देशका गुप्तचर अधिकारीसँग भइरहेको हुन्छ, उनीहरू जानकारी लिन आउँछन्’, उच्च स्रोतले भन्यो, ‘तर नेपालको नीति र आयोजनाका विषयभन्दा पर गएर कुराकानी हुने गरेको छैन ।’

चिनियाँ विदेशमन्त्रीसँग पुगेका चीनका उच्च अधिकारीहरूले नेपालमा कम्युनिस्ट सरकार गठन भए पनि भारतसँग राखेको झुकावले चीनलाई अप्ठेरोमा नपार्नका लागि आग्रह गरेका थिए ।

चिनियाँ अधिकारीले नेपालको एक चीन नीति भनिए पनि ललितपुरमा राजनीतिक दलका नेताको सहभागीतामा स्वतन्त्रत तिब्बतका विषयमा भएको कार्यक्रमबारे सोधेका थिए । प्रचण्डले त्यसमा सरकार र पार्टी अनभिज्ञ भएको भन्दै ढाँटेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web