कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं,चैत २४ ।  नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  देउवाले दोब्बर भन्दा बढी मत ल्याएर  संसदीय दलको नेतामा नेता रामचन्द्र पौडेललाई हराएका हुन् ।  कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् । कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरे। दोस्रो संविधानसभा निर्वाचनपछि वि.सं. २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा भने देउवा तत्कालिन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनपछि भने पौडेलले देउवालाई पराजित गर्दै संसदीय दलको नेता चयन भएका थिए । एक महिनाअघि भएको निर्वाचनमा भने पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापति चयन भएका थिए ।
 

पत्रकारको तलबमै अल्झियो सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरिय समिति बैठक

२६ चैत, काठमाडौं ।

सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समितिले नयाँ आमसञ्चार नीतिका विषयमा समितिका सदस्यहरुसँग आज छलफल गरेको छ ।

समितिका अध्यक्ष काशिराज दाहालको अध्यक्षतामा सिंहदरवारमा बसेको बेठकमा समितिका सदस्यहरुले नयाँ संविधानको भावना अनुसार आमसञ्चार नीति बनाउनु पर्ने, कार्यान्वयनको पक्षलाई विशेष जोड दिनुपर्ने, भाषिक विकासमा जोड दिनुपर्ने, बैकल्पिक सञ्चारमाध्यमहरुलाई पनि नीतिमा समावेश गर्नुपर्ने लगायतका सुझाव दिनु भएको थियो ।

समितिका अध्यक्ष दाहालले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनबारे सरोकारवाला एवं सञ्चारमाध्यमसँग समेत सुझाव लिईरहेको बताउनु भयो ।

नयाँसञ्चार नीति बनाउन लागि सरकारले गत माघ २० गते काशिराज दाहालको अध्यक्षतामा प्रेशकाउन्सिलका अध्यक्ष सहित सञ्चार क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधि सदस्य रहेको उच्चस्तरीय समिति गठन गरेको थियो ।

डोटी जिप दुर्घटना:पद्मकन्या क्याम्पसका तीन प्राध्यापकको मृत्यु

१ बैशाख, धनगढी ।
गए राति डोटीको जिजोमाडौँको खाँडमा भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु हुनुका साथै अरु सातजना घाइते भएका छन् । दूर्घटनामा मृत्यु हुने अधिकाँश एकै परिवारका रहेका छन् ।

मृत्यु हुनेमा  पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापक र उनीहरुका परिवारजन र अन्य रहेका छन् ।
 
दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम्  डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता डा जयराज पन्त, उहाँकी पत्नी सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै  अध्यापनरत हुनुहुन्थ्यो ।    

यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक डा गणेशराज पन्त र उहाँका भाइ केशवराज पन्तको समेत मृत्यु भएको छ ।

बाङ्डुग्रीसैनबाट जिजोडामाडौँतर्फ जाँदै गरेको अवस्थामा ना१ज ३२९४ नं को जिप गए राति ९ बजे दुर्घटना भएको हो ।     

दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका चेतराज बलायर, हिजोडामाडौँ गाविसकी हरिना टमाटा र ठेगाना खुल्न नसकेकी जानकी ताम्राकारको समेत मृत्यु भएको छ ।

घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो ।    

सडकबाट झन्डै पाँच सय मि तल भिरमा खसेर भएको दुर्घटनामा सातजना घाइते भएका छन् ।  

हलेसीमा भीषण आगलागी, पाँचघण्टा बित्दापनि नियन्त्रणमा आएन

दोलखा,चैत २५ । दोलखाको जिरी नगरपालिका वडा नंं २ स्थित हलेसी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।  बिहान १० बजेतिर दोबान गाउँ नजिकै भिरबाट लागेको आगो अहिले हलेसी मन्दिरको आसपाससम्म आइपुगेको छ । बिहानैदेखि चलेको तीव्र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएको हो ।
 
स्थानीयवासीले आगो नियन्त्रणमा लिन खोजे पनि हावाहुरीका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरीको टोली आगो नियन्त्रणमा लिन खटिइसकिएको प्रहरी नायब निरीक्षक विष्णुराज फुयाँलले बताए।
 
आगो कसरी लागेको हो भन्नेबारे केही खुल्न सकेको छैन । चौरासी हेक्टर क्षेत्रफलमा फैलिएको हलेसी सामुदायिक वनको आधाभन्दा बढी भूभाग अहिले डढेलोले जलिसकेको छ । हावाहुरी बढिरहेका कारण आगो माली गाउँको माथिल्लो भागतिर फैलिएको छ भने डाँडापारिको भागबाट होमडाँडा सामुदायिक वन र धाउखानी सामुदायिक वनतर्फ बढिरहेको छ ।
 
यही चैत २७ गते सामुदायिक वनको साधारणसभा तय गरिएको छ । साधारणसभा आउन दुई दिन बाँकी हुँदै सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
 
आगलागी भएको क्षेत्र सर्वसाधारणको चरन क्षेत्र भएकाले जिरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारणका चौपाया डढेलोका कारण प्रभावित भएका छन् । धुवाँका कारण अहिले गाउँ सिङ्गै अँध्यारोमा छ ।

प्राधिकरणको मापदण्डअनुसार २८ प्रतिशत भूकम्पपीडितले मात्र अनुदान पाउने !

काठमाडौं,चैत २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसार घर निर्माण गर्न अनुदान रकम दिँदा अधिकांश भूकम्पपीडित छुट्ने देखिएको छ । प्राधिकरणले दोलखाको सिँगटीका दुई गाविसमा वितरित राहतबाट करिब ७२ प्रतिशत भूकम्पपीडित छुटेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्राधिकरणले दोलखाका लादुक र लामीडाँडा गाविसमा भूकम्पपीडितलाई घर निर्माण गर्न १३ दिनदेखि परीक्षणका रूपमा अनुदान रकम वितरण गर्दै आएको छ । दुवै गाविसबाट आवेदन दिनेमा २७.६८ प्रतिशत भूकम्पपीडितले मात्रै प्राधिकरणको अनुदान रकम पाए भने बाँकी ७२.३१ प्रतिशत भूकम्पपीडित प्रक्रियाबाटै बाहिर परेका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार लादुक गाविसमा घर निर्माणको अनुदानका लागि एक हजार दुई सय ६२ ले आवेदन दिएका थिए । त्यसमध्ये दुई सय ९० ले मात्रै अनुदान रकम पाएका छन् ।  लामीडाँडामा एक हजार ५० जनाले आवेदन दिएकोमा तीन सय ५० ले मात्रै अनुदान पाएका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले प्राधिकरणको अनुदान मापदण्डका कारण ७२ प्रतिशत भूकम्पपीडित प्रक्रियाबाटै वञ्चित हुने स्थिति आएको बताए ।  ‘अनुदान रकम लामीडाँडा र लादुक गाविसमा पाइलोटिङ भयो ।  यसक्रममा २८ प्रतिशत भूकम्पपीडित मात्रै अनुदान रकमका लागि सम्झौता गर्नयोग्य ठहरिए,’ शाहीले भने, ‘बाँकी ७२ प्रतिशत भूकम्पपीडित प्रक्रियाबाटै बाहिरिने अवस्था आयो । प्राधिकरणले अनुदान वितरण गर्न बनाएको मापदण्डका कारण यस्तो अवस्था आएको हो ।’
अनुदान रकमका लागि सर्भे स्लिप, लालपूर्जा र नागरिकता अनिवार्य हुनपर्ने प्राधिकरणको मापदण्ड रहेको छ ।

 

दोधारा चाँदनीमा नेकपा (एमाले) को टोल कमिटी

पप्पु गुरुङ्ग, २७ चैत्र, दोधारा चाँदनी ।
कञ्चनपुरको दोधारा चाँदनीमा नेकपा (एमाले) ले टोल कमिटि गठन गरेको छ् । नेकपा (एमाले) दोधारा चा“दनी नगर कमिटिका अध्यक्ष किशोर कुमार लिम्बुको अध्यक्ष्यतामा आजको एक भेलाले दोधारा चा“दनी नगरपालिका वडा नं. ३, बडुवाल टोलमा टोल कमिटि गठन गरेको हो । अध्यक्षमा चन्द्र सिंह लुहार, उपाध्यक्षमा बुद्धी देबि सुनार, सचिवमा आशा राना क्षेत्री गरि ९ सदस्यीय टोलमा टोल कमिटि गठन गरिएको दोधारा चा“दनी नगर कमिटिका अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उक्त कमिटी गठनमा अनेरा स्वबियु जिल्ला अध्यक्ष ओंम बस्नेत, जिल्ला कमिटि सदस्य राम प्रसाद पौडेल, क्षेत्रिय कमिटिका हरी सिंह धनाडी, युवा संघ दोधारा चा“दनी नगर कमिटिका अध्यक्ष राम सिंह खड्का लगाएत स्थानियहरुको सा“झा सहभागिता रहेको थियो ।

कांग्रेसले सरकार ढाल्न चाहे पनि बहुमत पुर्‍याउन कठिन

१६ चैत, काठमाडौं । 
नेपाली कांग्रेस महाधिवेशन सम्पन्न भएपछि सरकारको विकल्पमा चिया चर्चा सुरु भएको हो। तर वर्तमान सरकार  सरकार परिवर्तन गर्न कांग्रेस अग्रसर भएमा उसलाई तत्कालको अवस्थामा बहुमत पुर्‍याउन कठिन छ।  संसद्मा कायम ५ सय ९७ मध्ये विपक्षमा २ सय ४९ सांसद छन्। बाँकी ४८ मत बटुल्न कांग्रेसलाई सजिलो छैन। पहिलो विकल्पमा सुविधाजनक बहुमतका लागि वर्तमान गठबन्धनबाट एमाओवादी बाहिरिनुपर्ने हुन्छ, तर अहिले त्यो सम्भावना छैन। 
 
एमाओवादीबाहेकको विकल्पका लागि कम्तीमा पनि सत्तारुढ गठबन्धनबाट फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा नेपाल बाहिरिनुपर्ने हुन्छ। राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४ र राप्रपाको १२ मत जोड्दा कांग्रेसको पक्षमा सामान्य बहुमत अर्थात् तीन सय मत पुग्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
तर, राप्रपा नेपाल र राप्रपा तत्काल ओली सरकार परिवर्तनको पक्षमा छैनन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा १८ र १९ चैतमा वीरगन्जमा हुने केन्द्रीय कमिटी विस्तारित बैठकमा वर्तमान सरकारलाई थप बलियो बनाउनुपर्नेसहितको राजनीतिक प्रस्ताव पेस गर्ने तयारीमा छन्। 
 
पार्टीबाट एकजनाले मात्र सरकारमा प्रतिनिधित्व गरे पनि राप्रपाले तत्कालै राष्ट्रिय सरकार गठनको विषयमा केही बोलेको छैन। ‘अहिलेको सरकारको विकल्प सोच्नेगरी नीति बनाउने तहमा हामी पुगेका छैनौं, हामी जहिले पनि राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार भूमिका खेल्छौं,’ राप्रपा सहप्रवक्ता किरण गिरी भन्छन्, ‘तर संघीयताको टुंगो लागेपछि मात्रै चुनावमा जानुपर्छ, त्यसका लागि प्रमुख तीन दल एक ठाउँमा हुनुपर्छ।’

पर्यटकीय ठमेल, ठाउँ एक, धन्दा अनेक

१९ चैत, काठमाडौं ।
पर्यटकीय नगरी ठमेलमा लागूऔषध कारोबारदेखि वेश्यावृत्तिको धन्दासम्म हुने गरेको छ । प्रहरीले पछिल्लो दुई हप्तामा गुन्डागर्दी, लागुऔषध कारोबार तथा वेश्यावृत्ति गर्ने १९ जनालाई पक्राउ गरेको छ ।

रात्रीजीवनको ‘हब’ बनेको ठमेलमा बेलुका सधैँ झगडा पर्ने भएकाले प्रहरीले कही दिनयता आक्रामक रणनीति लिन थालेको छ । १२ दिनमा दुई सय भन्दा धेरैलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । जसमध्य १९ जनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

खाजाघरको आवरणमा कोठी सञ्चालन
क्षेत्रपाटी चोकस्थित एउटा घरमाथि राखिएको बोर्डमा लेखिएको छ, क्षेत्रपाटी खाजा घर । झट्ट हेर्दा यहाँ चिया र खाजा बिक्री भइरहेको देख्न सकिन्छ । तर, यो खाजाघरको वास्तविक धन्दा भने फरक छ ।

खाजघरको आवरणमा त्यहाँ लामो समयदेखि वेश्यावृत्तिको धन्दा हुँदै आएको छ । प्रहरीले बुधबार दिउँसो त्यहा छापा मारी तीन जोडी र खाजाघरका सञ्चालकलाई रंगेहात पक्राउ गरेको थियो । सञ्चालक जनक थापासहित तीन युवती र ग्राहक बनेर गएका तीन पुरुष पक्राउ परेका हुन् ।

मासिक पाँच हजार दिएर युवतीलाई वेश्यावृत्ति

खाजाघरभित्र दुई वटा कोठा छन्, जहाँ बिहानदेखि बेलुकासम्म वेश्यावृत्ति हुने गरेको खुलेको छ । गाउँका सोझा युवतीलाई जागिर लगाइदिने भन्दै ल्याएर सञ्चालककले वेश्यावृत्तिमा लगाउने गरेको खुलेकोछ, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘मासिक पाँच हजार दिएर युवतीहरुलाई वेश्यावृत्तिमा लगाउँदै आएका थिए ।’

फ्ल्याट र होटेलको आवरणमा वेश्यावृत्ति

पाँच वर्षअहघिसम्म ठमेलका मसाजपार्लर र गेस्टहाउसमा खेलेआम वेश्यावृत्ति हुन्थ्यो । तर, प्रहरीले कडाइ शुरु गरेपछि धेरै मसाजपार्लर बन्द भइसकेका छन् । गेस्टहाउसमा पनि दलालमार्फत मात्र ग्राहक र यौनकर्मी महिला खोज्ने काम हुन्छ । प्रहरीलको कडाइपछि फ्ल्याट तथा सामन्य होटेलको आवरणमा वेश्यावृत्ति हुने गरेको हो ।

तेस्रोलिंगी सिक्री लुटपाटमा
ठमेलका सडकमा सिक्री लुट्ने धन्दामा संलग्न दुई तेस्रोलिंगी पनि पक्राउ परेका छन् । सिक्री लुटेर भाग्ने क्रममा बुधबार भगवानबहालको गल्लीबाट निशाा केसी पक्रउा परेकी छिन् ।

त्यस्तै सोमबार सिक्री लुटेकै आरोपमा प्रहरीले अर्की तस्रो लिंगी सिम्रन गुरुङलाई समेत पक्राउ गरेको छ । यौन सन्तुष्टि दिने भन्दै युवकसँग नजिकिएर उनीहरुले सिक्री लुट्ने गरेका हुन् । ठमेलका सडकमा तेस्रोलिंगीले खुलेआम सडकमा बार्गेनिङ गर्छन् । उनीहरुविरुद्ध पनि प्रहरीले कडाई शुरु गरेको छ ।

गाँजा देखि ब्राउनसुगरसम्म

ठमेल पर्यटकहरु पनि झुम्मिने भएकाले लागुऔषधको गोप्य कारोबारसमेत हुने गरेको छ । गत सोमबार मात्र प्रहरीले १० ग्राम ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको थियो ।

मुकुन्द श्रेष्ठ र सागर श्रेष्ठलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरुले पर्यटकलाई लागुऔषध बेच्ने गरेका थिए ।

अनुसन्धानका क्रममा ट्याक्सी चालकले लागुऔषधका सेवनकर्ता खोज्ने गरेको समेत खुलेको डिएसपी राठौरले बताए । बाटामा गाँजा, चरेस तथा हेरोइनको थारैथोरै परिमाणमा कारेबार हुने गरेको छ । त्यसविरुद्ध पनि प्रहरीले निगरानी कडा बनाएको छ ।

डिस्कोमा सधैँ लफडा

ओएमजी डिस्कोमा झागडा गर्ने सुशील गुरुङ र सोनाम गुरुङ थुनामा छन् । त्यस्तै, सिएनआई डिस्कोमा झगडा गर्ने सागर तामाङ र पासङ तामाङ पक्रानउ परेका छन् । पर्पलहेजमा झगडा गरी प्रहरीलाई नै दुव्र्यवहार गर्ने तुङवाङ लिम्बुलाई प्रहरीले बढाएको छ । प्रहरीका अनुसार लिम्बूलाई छाड्न कांग्रेसका ठूला नेताले दबाब दिए आएका छन् ।

१३ वटा मुद्दामा १९ जनामाथि कारबाही

पछिल्लो १२ दिनमा दुई सयभन्दा धेरै पक्राउ गरेकामा १३ वटा मुद्दामा १९ जनलाई भने सोह्रखुट्टे वृत्तले पक्राउ गरी कारबाही अघि बढाएको छ । वृत्तमा गत ७ चैतदेखि सरुवा भएर आएका डिएसपी राठौरले राति झगडा गर्ने, होहल्ला गर्ने तथा गुन्डागर्दी गर्नेविरुद्ध कडाइका साथा आक्रामक कारबाही शुरु गरेका हुन् ।

ठमेलमा धेरै रात्रीकालीन व्यवसाय भएकाले मदिरा पिएर झगडा हुने गरेको छ । यसअघि प्रहरीले पक्राउ गरी एक रात थुनामा राखेर छाड्ने गरेकोमा त्यसरी झगडा गर्नेलाई प्रहरीले मुद्दा नै चलाउन थालेको छ ।

आफ्नै मालिकलाई अपहरणको धम्की दिने पक्राउ

आफ्नै पूर्व मालिकलाई अपहरण गर्ने धम्की दिने एक युवकलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको छ । झोंछेस्थित चाँदीका सामान बनाउने पसलकी सञ्चालिका जानुका भट्टराईलाई बारम्बार धम्काउँदै यातना दिने नुवाकोटका प्रेम तामाङ पक्रउ परेका हुन् । तामाङले करिब ६ महिनाअघि सो पसलबाट काम छाडेका थिए ।

जागिर छाडेपछि आफूलाई पैसा नदिए पसलका बारेमा सबै पोल खोलिदिने भन्दै भट्टराईलाई पटक पटक धम्की दिएका थिए । अपहरण उद्योग मुद्दामा प्रहरीले उनलाई कारबाही अघि बढाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

बझाङमा केन्द्रविन्दु भएर भूकम्पको धक्का, दोलखामा परकम्प

काठमाडौं,चैत २२ ।  बझाङ केन्द्रविन्दु भूकम्पको धक्का गएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै सोमबार बिहान दोलखा केन्द्रविन्दु बिहान १० बजेर १६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।
 

देउवा झनझन बलियो, निरिह बन्दै पौडेल

काठमाडौं, चैत २७ ।  १३ औं महाधिवेशनबाट नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिना नवित्दै झनै बलियो बनेका छन् ।  लामो समयसम्म पार्टी हाँकेको कोइराला परिवारका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्व आफ्नो हातमा लिन सफल देउवा संसदीय दलको कार्यसमिति निर्वाचनमा पुग्दा निकै बलिया देखिएका हुन्।

संसदीय दलको कार्यसमिति निर्वाचनमा त सभापति देउवा ८० प्रतिशतभन्दा माथि देखिएका छन् । शुक्रबार भएको संसदीय कार्यसमितको निर्वाचनमा २३ मध्ये १८ पदमा देउवा पक्षधर चारजनामा चित्त बुझाएर अत्यत्यै झीनो उपस्थिति देखाउन बाध्य भएको छ ।

महाधिवेशनमा ४२ प्रतिशतको हाराहारीमा मत प्राप्त गरेका पौडेलले दलको निर्वाचनसम्म पुग्दा आफ्नो हैसियत निकै तल खस्काउन पुगेका छन् ।

संसदीय दलको नेतामा ३२ प्रतिशतमा खुम्चिएका पौडेल कार्यसमितिको निर्वाचनमा २० प्रतिशतमा झरेका छन्। आजको राजधानी दैनिकमा भुवन शर्माले समाचार लेखेका छन् ।

 

कहाँबाट भित्रिन्छन् नेपालमा ड्रोन क्यामेरा

काठमाडौं,चैत २० । मंसिर १६ गते उपल्लो मुस्ताङको ताप्तेजुङ क्षेत्रमा ड्रोन उडाएर तस्वीर लिइरहेका जर्मनीका दुई पर्यटक माइकल र आजा टोसक पक्राउ परे । इलाका प्रहरी कार्यालय लोमान्थाङले ड्रोन र क्यामेरा समेत जफत गरेपछि उनीहरु तीन दिनमा जोमसोमबाट रिहा भएको अाजको अन्नपूर्णमा समाचार छ । चैत ४ गते म्याग्दीको  घोरेपानीस्थित पुनहिलमा त्यस्तै अवस्थामा युक्रेनी नागरिक समातिए । उनको साथबाट इलाका प्रहरी कार्यालय घोरेपानीले ड्राने सेट रिमोट, दुई थान व्याट्री जफत गर्‍यो ।

पछिल्लो तीन महिनामा विश्व प्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्रामा भएका घटना हुन् यी । प्राकृतिक सुन्दरता धार्मिकस्थल, हिम शृंखला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमतिविना ड्रो क्यामेरा मार्फत तस्वीर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

खासगरी बैशाख १२ को विनाशकारी भूकम्पछि ड्रोन चलाउनेको संख्या उल्लेख्य मात्रामा बृद्धि भएपछि सरकारले गत कार्त्तिकमा ड्रोन प्रयोग सम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिका जारी भएपछि पनि अनुमतिविना विदेशी पर्यटकले ड्रोन क्यामेरा कसरी पुर्‍याए भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।

 

हरिवंश आचार्यले मट्टितेलले नुहाएपछि…

काठमाडौं । झन्डै २० वर्षअघिको कुरा हो, नाटक देखाउन सिक्किम गएका थियौँ । मदन दाइ र राजाराम पौडेलको बूढो बन्नुपर्ने रोल थियो । मेरो भने अधबैँसेको रोल थियो । हामीले ‘ह्वाइटनर’ (कपाल सेतो बनाउने रङ) लान भुलेछौँ । आइतबारको दिन भएकाले त्यहाँका बजार पनि बन्द थिए । बित्याँसै पर्‍यो, अब केले रंगाउने कपाल भन्ने भयो । नजिकैको कुनै स्कुलमा गएर चक ल्याउने र धुलो बनाएर रंगाउने जुक्ति तत्काल निस्कियो । 

चक लिन भन्दै गए, त्यहीँका एक व्यक्ति । तर, ‘स्कुल पनि बन्द रहेछ, यसले काम चल्छ’ भन्दै ग्रिलमा लगाउने सेतो रङ पो बोकेर फर्किए । नाटक गर्नैपर्‍यो, कपाल सेतो बनाउनैपर्‍यो । त्यही रङ लगायौँ । मदन दाइ र राजाराम पौडेलले पूरै कपाल रंगाए । मैले पनि कन्सिरीतिर अलि–अलि दलेँ । अरू दिनमा भन्दा त्यो दिन खुबै राम्रो सुहाएको थियो सबैलाई । स्टेजमा नाटक सुरु गरियो । केहीबेरमै मेरो त टाउको पोल्न थाल्यो । 

रङ दलेको ठाउँतिर कक्रक्क पर्‍यो । नाटक चलिरहेकै वेला मैले मदन दाइलाई खुसुक्क सोधेँ, ‘दाइ तपाईंलाई रङले केही गरेको छैन ?’ उहाँले भन्नुभयो, ‘हरि, मेरो टाउको त ‘डोरम्याट’जस्तो भइरहेको छ । राजारामलाई पनि त्यस्तै भएको रहेछ । तीनघन्टे नाटक सकेर पखाल्न गएको त पानीले केको पखालिने ? साबुन लगाउँदा पनि गएन । रङ ल्याउने व्यक्तिले नै फेरि सुनायो, ‘मसँग उपाय छ’ । हामीले उपाय सुनाउन भन्यौँ । उसले भन्यो, ‘मिट्टीको तेल’ लगाउनु न हो दाजु, पूरै जान्छ ।’ मट्टीतेल पनि उसैले खोजेर ल्याइदियो । त्यो व्यक्तिले भनेजस्तै मट्टीतेल लगाएर नुहाउँदा रङ धेरै नै पखालियो । तर, रातभरि टाउको पोलेर सुत्न सकिएन । नयाँ पत्रिका दैनिकमा खबर छ । 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web