चीनले भारतको प्रस्तावलाई अस्विकार गर्यो

२० चैत, बेइजिङ ।
चीनले संयुक्त राष्ट्रसंघमा आतंकवाद मुद्दा लैजाने भारतीय चाहनाको विपक्षमा आफूलाई उभ्याएको छ।
 
पञ्जावको पठानकोट एयरबेसमा भएको आतंकवादी आक्रमणको मुद्दालाई भारतले संयुक्त राष्ट्रसंघमा उठाउँदै जैस ए मोहम्मद प्रमुख मौलान मसुद अजहरमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 
भारतले अल कायदा सेक्सन कमिटीमा रहेका मौलाना मसुद अजहरमाथि राष्ट्रसंघ मार्फत कारबाही चलाउन खोजेको थियो।
 
समाचारअनुसार संयुक्त राष्ट्रसंघमा १५ देशमध्ये १४ देश मोलानामाथि प्रतिवन्ध लगाउने पक्षमा थिए। तर पनि चीन एक्लै अर्कातर्फ उभिएपछि आतंकबादी संगठनका पक्षमा निर्णय गएको आरोप भारतीय सञ्चारमाध्यमहरुको छ। चीनले भारतीय मागका पक्षमा जान नसक्ने बताएको छ।
 
चीनको विदेश मन्त्रालयका प्रवक्ता होङलीले कुटनीतिक जवाफ दिँदै आफ्नो मुलुक सवैखालको आतंकबादको विपक्षमा रहेको बताएका छन्। आतंकवादका विरुद्धमा राष्ट्रसंघले निर्वाह गर्ने केन्द्रीय तथा समन्वयकारी भूमिकामा चीनको सधै साथ रहने उनले स्पष्ट पारे।
 
मौलानामाथि प्रतिबन्ध लगाउने भारतको प्रस्तावमाथि अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए। संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो। चीन्ले आफ्नो भिटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो।
 
पाकिस्तानसहित चीन पनि अब मौलानासँगै अभिएकोमा भारतीय पक्ष भने रुष्ट छ।

नेपाल र नामिबियाबीचको खेलको टिकट बिक्री सुरु,यसरी पाईन्छ टिकट

काठमाडौं,चैत २५ ।  आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेलको टिकट बिक्री सुरु भएको छ । आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुने खेलको टिकट बिहीबारबाट बिक्री सुरु भएको हो । टिकटको मूल्य १०० रुपैयाँ राखिएको छ । टिकट खरिद इसेवाबाट गर्नु पर्नेछ ।
 

मोटरसाईकल दुर्घटनामा स्वयम्भूमा दुई जनाको मृत्यु

२१ चैत, काठमाडौं ।
मोटरसाईकल दुर्घटनामा परि काठमाडौंको स्वयम्भूमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एक गम्भिर घाईते भएका छन् ।

प्रहरीका अुनसार गएराति बा ३० प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकपेटीमा ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं कलंकीका २८ वर्षीय शैलेन्द्र रिसाल र मोटरसाइकलमा पछाडि बसेका २९ वर्षीय सोनु रिसालको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाईकलमा तीन जना चढेको र एकको भने उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकल लाइसेन्स परीक्षामा नेपालमै एमबीबीएस गरेका चौथाइ फेल

काठमाडौं,चैत ३० । मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपालबाटै एमबीबीएस गरेका डाक्टरमध्ये एक चौथाइ फेल भएका छन्। काउन्सिलका अनुसार मुलुकका १५ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ हजार ३७ डाक्टरले लाइसेन्स परीक्षा दिएकामा ७ सय ८४ मात्र पास भएका छन् भने २ सय ५३ फेल भए। मुलुकबाटै एमबीबीएस गरेका कुल विद्यार्थीमध्ये २४ दशमलव ४ प्रतिशत फेल भएका हुन्।
 
‘स्वदेश वा विदेश जुनसुकै ठाउँमा डाक्टरी पढ्ने नेपाली विद्यार्थीको आधार पैसा नभएर मेरिट लिस्ट हुनुपर्ने पुष्टि यो नतिजाले गरेको छ,’ काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले भने, ‘मेडिकल पढ्न मेरिट लिस्टलाई नै अझ बलियो आधार बनाउनुपर्नेतर्फ सबैले सोच्नुपर्छ।’
 
केही वर्षयता एमबीबीएस अध्ययनका लागि सहज गन्तव्य बनेको बंगलादेशको स्थिति भने झन् बेहाल छ। बंगलादेशका २७ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय ९३ डाक्टर लाइसेन्स परीक्षामा सहभागी भएकामा ९३ जना फेल र १ सय जना पास भए। ५१ दशमलव ८ प्रतिशत सहभागी मात्र लाइसेन्स हासिल गर्न सफल भए।
 
कान्तिपुर दैनिकमा समाचार छ – चीनका २२ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय ३३ डाक्टरले लाइसेन्स परीक्षा दिएकामा ४३ जना पास हुन सके भने ९० जना फेल भए। चीनबाट एमबीबीएस पास गरेर परीक्षा दिनेमध्ये करिब ६८ प्रतिशत फेल भएका हुन्। भारतका ३ मेडिकल कलेजबाट पढेर आएका ४ विद्यार्थीमध्ये एक जना र पाकिस्तानका ३ मेडिकल कलेजबाट पढेका ७ मध्ये ५ जना फेल भएका छन्।

डोल्पामा अझै पुगेन सडक, दुई वर्षको लक्ष्य आठ वर्षसम्म अधुरै

जाजरकोट, चैत २९ । दुई वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा सडक पुर्याउने लक्ष्यका साथ सरकारले २०६४ सालमा जाजरकोट–डोल्पा–भेरी करिडोर मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दियो। तर आठ वर्ष बित्दा डोल्पा सिमानामा पनि सडक पुगेको छैन। राष्ट्रिय महत्वको आयोजना भएपनि बजेटमा प्राथमिकतामा नपारिँदा १ सय १८ किलोमिटर लम्बाईको यो सडक निर्माणमा ढिलाइ भएको सम्बद्ध अधिकारीहरुले बताएका छन्।
 
सेनालाई जिम्मा दिइए पनि सुरुका २ वर्ष जाजरकोट र रुकुमबीचको रेखांकन विवादले सडक निर्माण अलपत्र बन्यो। सेनाले निर्माण सुरु गरेको पनि ६ वर्ष बित्यो। तर सरकारले हेरक वर्ष न्यून बजेट छुट्याउने र प्राथमिकता नदिँदा निर्माण कार्य सुस्त बनेको छ।
 
सरकारले चालू आर्थिक वर्षमा पनि २ वर्षमा दुनैमा सडक पुर्याउने योजना अघि सारेको छ। तर यो वर्ष यो आयोजनाका लागि जम्मा १५ करोड रुपैयाँ मात्र पाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

राप्रपा परित्याग गरी पुराना पञ्च नेता बाबुरामकाे नयाँ शक्तिमा

काठमाडौं,चैत १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवम् उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य पर्शुराम खापुङ्ग पार्टी परित्याग गरी नयाँ शक्ति अभियानमा जोडिएका छन्।  खापुङ्गले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राप्रपा छलछाम, जालझेल, चाकडी चाप्लुसी, चुक्ली, अवसरवाद हावी भएकोले त्यसबाट देश र जनताको सेवा सम्भव नदेखेकोले आफूले आजैको मिति देखि पार्टी परित्याग गरेर नयाँ पार्टी निर्माणकोलागि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अभियानसँग मिलेर काम गर्ने बताए। 
 
उनले भने,'ठूलो आन्दोलनपछि पनि जनता सन्तुष्ट छैनन। सरकार गफाडीको जत्था जस्तो भयो, भूकम्पपीडितले राहत पाएनन्। जनताले अहिलेसम्म परिवर्तनको महसुस गर्न पाएका छैनन। राप्रपा, एमाले, काग्रेस, माओवादी मधेसवादी र जनजाति पार्टी कोहीबाट पनि अब देशको सेवा सम्भव नदेखेर नयाँ शक्तिसँग मिलेर नयाँ पार्टी निर्माण अभियानमा लाग्ने गरी राप्रपा परित्याग गरेको हुँ।'
 
खापुङले नयाँ शक्तिका संयोजक डा. भट्टराई बामपन्थी सोचबाट आए पनि अहिले प्रजातन्त्र र लोकतन्त्र बाटो हुँदै समृद्ध मुलुक निर्माणमा लागेकोले नयाँ पार्टी निर्माणको लागि अभियानमा लागेको स्पष्ट पारे। 
 
उनले राप्रपाले नयाँ संविधान जारी भएपछि सोही अनुसार पार्टीलाई अगाडि बढाउनु पर्नेमा त्यस विपरित कार्य गरेको भन्दै आफूले सक्दो सुधारको प्रयास गरे पनि त्यहाँबाट अब देशले निकास पाउन सम्भव नरहेको देखेर पार्टी परित्यागको निर्णयमा पुगेको बताए। 

एमाओवादी नेता झक्कु सुवेदीका छोरा विप्लव माओवादीमा प्रवेश

काठमाडौं,चैत २७ । क्रान्तिकारी ध्रुविकरणले तीव्रता पाइरहेको बेला एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी धु्रविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले खादा–टीका लगाएर स्वागत गरेका थिए ।
ध्रुविकरण कार्यक्रममा बोल्दै उपत्यका इन्चार्ज सन्तोष बुढाले हालै सम्पन्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले लिएको निर्णयअनुरुप क्रान्तिकारी साथीहरुलाई क्रान्तिको महायात्रामा गोलबन्द हुन आह्वान गरिएको र सोही अनुरुप क्रान्तिकारी साथीहरु माओवादीमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले यो क्रम देशभर तीव्र रुपमा चलिरहेको बताए ।
सोही क्रममा विभिन्न पार्टीहरु छरिएर रहेका क्रान्तिकारीहरु राष्ट्रिय स्वाधीनताको रक्षा र अधुरो नेपाली क्रान्तिलाई पूर्णता दिन माओवादीमा गोलबन्द आह्वान पनि गरेका थिए ।
नेता बुढाले माओवादीहरुबीच एकता हुने चर्चा आत्मसमर्पणवादी र विसर्जनवादीहरुले चलाएको र एकताको विषयलाई नेकपा माओवादीले एजेण्डा नबनाएको समेत स्पष्ट पारेका छन् ।
एमाओवादी संसदीय माओवादी बन्न पुगेको र वैद्य माओवादी अकर्मण्यताको खाडलमा पुगेको बताए । एमाओवादी र वैद्य माओवादीभित्र रहेका सच्चा क्रान्तिकारीहरुलाई क्रान्तिकारी पार्टी नेकपा माओवादीको एकीकृत जनक्रान्तिकारीको कार्यदिशमा एकजुट हुन पनि उनले आह्वान गरे । क्रान्तिकारी शक्तिलाई दबाल संसदवादी शक्तिहरु विदेशीसँग गठजोड गरेर लागिरहेको त्यसलाई विफल पार्न नेकपा माओवादी पनि दृढताका साथ अघि बढिरहेको उनले बताए ।
त्यस्तै पार्टी नवप्रवेशी सन्तोष सुवेदीले एमाओवादी संसदीय भासमा फसेको र यसले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै काम नगर्ने निष्कर्ष आफू पुगेपछि क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीमा आवद्ध हुन भएको बताए ।
‘एमाओवादी नेतृत्वमा चित्र र चरित्र कतैकही मेल नखाएको र यसबाट महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकोले आज म एमाओवादी पार्टी त्यागेर क्रान्तिकारी पार्टी नेकपा माओवादीमा आएको छु’ सुवेदीले भने ।
उनले एमाओवादीका क्रान्तिकारी साथीहरु छिट्टै पार्टी छाडेर समयमै क्रान्तिकारी पार्टीमा सामेल हुन आग्रह गरेका छन् । एमाओवादी क्रमशः एमालेकरण हुँदै गएको र यसले सधैं जनतालाई धोका मात्र दिने गरेको बताए । सुवेदी एकीकृत नेकपा माओवादीका नेता झक्कु सुवेदीका जेठा छोरा हुन् । कार्यक्रमा माओवादी केन्द्रीय सदस्य माईला लामा,गुणराज लोहनी, आदर्श लगायतका नेताहरुको पनि उपस्थिति थियो ।

क्लिण्टनको छनोटमा नेपाली विद्यार्थी

२६ चैत, न्युयोर्क ।
अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिण्टनले संचालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामिण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुतिका लागि छानिएका हुन् ।

विश्वभरीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ हजार भन्दा धेरै विद्यार्थीहरुमध्येबाट सरीफ उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । गत अप्रिल १ मा सरीफले क्लिण्टनसहितको उपस्थितिमा युनिभर्सिटीको कार्यक्रम उद्घाटन सत्रमा संखुवासभाको  मुढे र चिराईंतेमा आफूहरुले शुरु गरेको जडीबुटी खेतीसम्बन्धी परियोजना र त्यसले गाउलेको जीवनमा ल्याएको परिवर्तनबारे आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा सरिफसहित उत्कृष्ट पाँचैजना विद्यार्थीलाई साँढे ६ हजार सहभागीका बीच पूर्व अमेरीकी राष्ट्रपति क्लिण्टनले स्टेजमा परिचित गराएका थिए ।  सरीफसहित संस्थापक रहेको परिवर्तनका लागि जडीबुटी (हबर््स फर चेञ्ज) नामक संस्थाले संचालन गरेको कार्यक्रमबाट जिल्लाका मुढे र चिराँईंतेका स्थानीयले आधुनिक तरिकाबाट चिराईतो खेती र त्यसको विक्रीमार्फत आफ्नो आयस्तरमा ७५ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् ।

२ वटा चिराईंतो नर्सरीबाट शुरु भएको आफ्नो परियोजनामा हाल २३ जना स्थानीयले रोजगारी पाएको जानकारी दिंदै सरीफले आगामी दिनमा यसलाई अझ बृहत रुपमा अघि बढाइने बताए । अघिल्लो वर्ष पनि सोही कार्यक्रमको उत्कृष्ट १५ भित्र पर्न सफल सरीफले पुरस्कार बापत प्राप्त रकम स्थानीयका लागि जडीबुटी आयोजना निर्माणमा खर्च गरेका थिए ।

नेपाल प्राकृतिक श्रोतसाधनमा निकै धनी रहेकाले ग्रामिण स्तरमा पाइने असंख्य जडीबुटीहरुको व्यवशायिक खेती र व्यापारमार्फत त्यस क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने सरीफले आफ्नो खोजमार्फत पुष्टी गरेका छन् ।'

कार्यक्रममा सरीफसहित प्रस्तुतिका लागि छानिएका सबै विद्यार्थीहरुलाई युनिभर्सिटीका संरक्षकसमेत रहेका पुर्व अमेरिकी राष्ट्रपति बिल क्लिण्टनले बधाई तथा शुभकामना दिएका थिए । विश्वभरीका राजनेताहरुबीच पनि विकास र अन्य विषयमा अन्तक्र्रिया गराँउदै आएको क्लिण्टन युनिभर्सिटीले युवा विद्यार्थीहरुबीच पनि यसखाले कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा उत्कृष्ट छनोट भएपछि आफूलाई थप हौसला मिलेको बताँउदै सरिफले आफू अध्ययन सकेर नेपाल फर्किएपछि  नेपालका ग्रामीण क्षेत्रका जीविकोपार्जनको स्तर सुधार्न काम गर्ने वाचा गरे ।  क्लिण्टनसहित विश्वका ६ हजार बढी सहभागीमाझ आफ्नो प्रस्तुतिले नेपाल र नेपालीकै गौरव बढाएको सरीफको विश्वास छ ।

अमेरीकामा छोराको छनौट र प्रस्तुतिबाट सरीफका अभिभावक निकै खुसी भएका छन् । उनको सफलताबाट नेपालले समेत गौरव गर्नुपर्ने उनीहरु बताँउछन् । सरीफका पिता वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठ नेपालमा पनि यस्ता थुप्रै प्रतिभाशाली विद्यार्थीहरु रहेको  तर राज्यले उनीहरुको प्रतिभा उजागर गर्न कुनै अवसर नदिएको बताउँछन् ।

सानैदैखि तीक्ष्ण र सीर्जनशील काम गर्न रुचाउने सरीफको सफलताले आफूहरुमात्र नभै देशकै  शीर उँचो बनाएइको सरीफकी आमा स्वरुपाको भनाइ छ । आफ्नो अनुसन्धान र परियोजनामार्फत  क्लिण्टन युनिभर्सिटीजस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाबाट परिचित हुन पाउने बिरलै भाग्यमानी नेपाली युवामध्ये एक हुन् ।

एसएलसी परीक्षार्थी । घरदेखि केन्द्रसम्म नै टहरोमा

प्रमिला सुनार-२१ चैत, त्रिशुली, नुवाकोट ।
विद्यालय तहको अन्तिम कक्षाको रुपमा रहेको प्रवेशिका अर्थात एसएलसी परीक्षा विद्यार्थीहरुले टहरामा नै बसेर दिएका छन् । भूकम्पको कारण घरबास गुमाएका विद्यार्थीहरुले अस्थायी आावासको लागी बनाएको टहरामा तयारी गरी परीक्षापनि टहराबाट नै दिएका छन् ।

जारी रहेको एसएलसी परीक्षाको पहिलो दिनको परीक्षा दिएका नुवाकोटका विद्यार्थीहरुले भूकम्पको कारण घर, विद्यालयमा पुगेको क्षतिले राम्रोसंग तयारी गर्न नसकेकाले अपेक्षा गरे अनुसारको परीक्षालाई राम्रो बनाउन नसकेको बताए ।

शुलक्षण उच्चमाविमा अध्ययन गरी ओममाने पब्लिक स्कुलबाट परीक्षा दिएका आयुश सुब्बाले पाल, त्रिपाल र जस्तापाताको टहरामा बसेर अध्ययन गर्दा पनि आधा पनि कोर्स सकिएको थिएन्, परीक्षा अपेक्षा गरेअनुसार राम्रो गर्न सकिएन ।

शिक्षा कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा कायम गरिएको २३ वटा परीक्षा केन्द्र मध्ये १५ वटाको भवन जस्तापाताले छाएको अस्थायी टहराबाट सञ्चालन गरिएको छ । भवनहरुमा क्षति पुगेकाले नै सुन्दरी क्यौरिनी उच्चमावि गेर्खु र स्याउरेभूमे उच्चमावि सिक्रेको परीक्षा केन्द्र सारिएको छ । अस्थायी टहरा भएपनि व्यवस्थापनमा सहज हुने गरी मिलाएको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

अपाङ्ग र अशक्तलाई समस्या
तुप्चेको चण्डेश्वरी उच्चमाविमा अध्ययनत दृष्टिबिहिन विद्यार्थी राजेन्द्र रुम्बाले ओममाने पब्लिक स्कुल गेर्खुबाट परीक्षा दिएका छन । सामान्य विद्यार्थीहरुसगै बसेर अध्ययन गरेका रुम्बाले परीक्षा दिन सोही विद्यालयका कक्षा ८ का विपिन नेपाललाई सहयोगी राखेका छन् ।

सहयोगी मार्फत परीक्षा दिदाँ आफूले भने अनुसारले लेख्न नसक्ने, ह्रश्व–दीर्घ मिलाउन नजान्ने, हिज्जे र भाषाशैली समेत बिग्रने भन्दै ब्रेनलिपी मार्फत परीक्षा दिन पाउनुपर्ने माग गरेका छन् ।

“विद्यालयमा पढ्ने समयमा समेत सहयोग भएन्, परीक्षा दिने समयमा समेत परीक्षा नियन्त्रण कार्यालयले उपेक्षा गरेको छ ।” जिल्लाबाट एसएलसी परीक्षाको परीक्षा दिइरहेकालाई एक घण्टासम्म अतिरिक्त समय थप दिइएको जिल्ला शिक्षा अधिकारी खड्काले बताए ।

इल क्लासिको :महारथीको भिडन्तवाट उपाधि भन्दा भविष्यको खोजीमा जिदानको

स्पेन । इल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोनाबीच शनिबार हुने खेलका लागि करौडौं फुटबल प्रेमीहरु प्रतिक्षा गरिरहेका छन्। विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्तले संसारकै ध्यान फेरि स्पेन तिर नै तानेको छ । शनिबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउँमा स्पेनको समय अनुसार राति ८.३० बजे खेल सुरु हुँदैछ ।

लिगाको ३० खेल पछि बार्सिलोना ७६ अङ्कका साथ शिर्ष स्थानमा छ । १० अङ्कले पछि पर्दै तालिकाको तेस्रो स्थानमा रहेको रियल अङ्क दुरी घटाउँने दाउमा छ भने अब ८ खेल मात्र बाँकी छदा घरेलु मैदानमा खेल जितेर म्याड्रिड माथिको दबाबलाई एकछत्र पार्ने रणनीतिमा बार्सिलोना देखिएको छ ।

जिदानको भविष्य

प्राय: क्लासिको खेलहरुबाट नै स्पेनिस लिगाको उपाधिको धार छुट्टिदै आउँने गरेको ईतिहास भए पनि यस पटक त्यस्तो प्रतिस्पर्धा देखिदैन । १० अंकले अगाडि रहेको बार्सिलोना ३९ खेल सम्मको आफ्नो अपराजित यात्रालाई कायम राख्ने रणनीतिमा छ । यता बार्सिलोनालाई हराउँन सके रियलका लागि प्रतिष्ठाको बिषय बन्ने हुँदा यसैको दाउमा देखिन्छ ।

तर यो खेल रियल म्याड्रिडका प्रशिक्षक जिनेदान जिदानलाई व्यक्तिगत रुपमा सबै भन्दा महत्वपूर्ण छ । हार वा जितले नै उनको प्रशिक्षकको करियर रियलसँग जोडिएको हुँदा ज्यादै महत्वपूर्ण बनेको हो ।

घरेलु मैदानमा ४-० शुन्यको गोल अन्तरले हारे पछि राफेल बेनेटिजलाई प्रशिक्षकबाट बिचैमा बर्खास्त गरेका कारण पनि जिदान पनि दबाबमा छन् । रियलका प्रशिक्षकको भविष्य क्लासिको खेल सँग पनि जोडिने हुँदा नजिताले जिदानको भविष्य निर्धारण गर्ने धेरैको अनुमान छ ।

यस अघि क्लासिको हार व्यहोरेपछि नै बेनेटिजलाई पनि खतराको घण्टी बजेको थियो । यसको अलवा प्रावपधिक कमजोरीबाट कोपा डे रे बाट पनि रियल बाहिरिनु पर्यो र अन्तत: जिनेदान जिदानले सिजनको बिचैमा बेनेटिजलाई बिस्थापित गरेका थिए ।

तर, घरेलु मैदानमा एथ्लेटिक म्याड्रिडसँग हारेपछि जिदानको पनि घण्टी बजिसकेको धेरैले बिश्लेषण गरेका छन् । आँफुलाई बचाउने सुनौलौ मौका शनिबार हुने क्लासिको खेलबाट पाउने छन् ।

तर, लयमा रहेको बार्सिलोनालाई रोक्न सजिलो छैन ।

उता बार्सिलोनालाई आफ्नो अपराजित यात्रालाई बलियो प्रतिस्पर्धीसँग जोगाउन सके त्यसलाई उपलब्धिको रुपमा ठान्ने छ। बार्सिलोनालाई उपाधि रक्षाको लागि मात्र हार जितको नतिजाले खासै असर पार्ने देखिँदैन। यदि खेलमा हार व्यहोरे पनि रियल माथि ७ अंकको अग्रता कायमै रहने छ ।

कस्तो छ इल क्लासिको रेकर्ड ?

शनिबार हुने क्लासिको दुवै टोली बीचको २३१ औं भिडन्त हो । मैत्रिपूर्ण तथा अन्य खेल गरी २६३ पटक एक अर्काबीच भिडे पनि अफिसियल रुपमा भने २ सय ३१ पटक भिड्दैछन्। ला-लिगाको लागि भने शनिबार १ सय ७२ औ पटक आमान्नेसामान्ने हुँदैछन् ।

समग्रमा अफिसियल खेलमा म्याड्रिडले ९२ र बार्सिलोनाले ९० खेलमा जित हासिल गरेका छन् । ४८ खेल भने बराबरीमा नै सकिएको छ। तर, मैत्रिपूर्ण खेललाई पनि गणना गर्दा २६३ खेलमा बार्सिलोनाले १०९ खेलमा र म्याड्रिडले ९६ खेलमा जित दर्ता गरेको छ। ५८ खेल बराबरीमा सकिएको छ ।

यस्तै लिगामा मात्र १७१ पटक भएको भेटमा म्याड्रिड ७१ खेलमा बिजयी छ भने बार्सिलोनाले ६८ खेलमा जित दर्ता गराएको छ । ३२ खेल बराबरीमा सकिएको छ ।

अन्तिम क्लासिको सन् २०१५ नोभेम्बर २१ तारिख भएको थियो । रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४ -० को बिशाल गोल अन्तरले बिजयी बनेको थियो । अहिलेसम्म क्लासिकोमा मेस्सिले सर्बाधिक २१ गोल गरेका छन् । यता रोनाल्डोले १५ गोल गर्न सफल भएका छन् ।

रोनाल्डो र मेस्सीको चर्चा

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको व्यक्तिगत प्रतिस्पर्धालाई यस पटक पनि हेरिएको छ । यस अघिको एल क्लासिकोमा दुवै जनाको खासै चर्चा थिएन । कारण, रोनाल्डोले सिजनको शुरुवातमा खासै लयमा थिएनन् भने मेस्सी घाईते भएर टिममा भर्खर फर्केका थिए । तर, अहिले दुवै लयमा फर्किएकाले पुनः चर्चा बढेको हो।

रोनाल्डोले क्लबका लागि यस सिजनमा लिगा र च्याम्पियन्समा गरी ३८ खेलमा ४१ गोल गरेका छन् । उनले लिगामा २८ र च्याम्पियन्समा १३ गोल गर्दै दुवै तर्फ टप स्कोरर छन् । यता फिफा बालोन डि’ओर -२०१५ का बिजेता लियोनल मेस्सीले पनि ३८ नै खेल खेल्दै बार्सिलोनाका लागि ३७ गोल गरेका छन् ।

अघिल्लो एल क्लासिकोबाट नै कमब्याक हुँदै मेस्सी पुन लयमा फर्किएका थिए । लस पाल्मासँगको खेलमा घाईते बनेका मेस्सी यस सिजनमा करिब २ महिना मैदान बाहिर रहे । यता ब्राजेलीयन स्टार नेयमार र उरुग्वेका स्ट्राइकर लुईस स्वारेज बार्सिलोनाका पछिल्ला खेलहरुमा अत्यन्तै राम्रो प्रदशन गरेकोले पनि बार्सिलोनाका समर्थकहरु धेरै ढुक्क देखिएका छन् । म्याड्रिडका घाईते बनेका खेलाडीहरु ग्यारेथ बेल र करिम बेन्जिमा पनि खेलमा फर्किएका हुँदा रियलका समर्थकहरुले पनि त्यसै आशा मारेका छैनन् ।

पेब्रसेल्स आक्रमण पछिका क्लासिको

यस बर्ष युरोपमा आतङ्ककारी त्रासले सताएको छ । फुटबल प्रेमीहरुलाई निर्धक्क फुटबल हेर्ने अबस्था रहेन । नोभेम्बरमा भएको पेरिस हमलाको एक साता पछि यस सिजनको पहिलो क्लासिको सम्पन्न भयो । रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाओमा एल क्लासिको खेल भईरहँदा १ हजार भन्दा बढी प्रहरीहरु परिचालन गरिएको थियो ।

सिजनको दोस्रो क्लासिको ब्रसेल्स आक्रमण पछि हुँदैछ । क्लासिको खेल हेर्न संसार भरका फुटबल प्रेमी हजारौ युरो खर्च गरेर बार्सिलोना आउँने हुँदा यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

गत नोभेम्बरमा जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल खेल हुँदा राष्ट्रिय रंगशाला बाहिर पेरिसमा बिस्फोट भएको थियो । उक्त खेल हेर्न फ्रान्सका राष्ट्रपति अाेलन्ड सहित ८० हजार दर्शकको उपस्थित थिए । खेलकोबीचमै बाहिर बिस्फोट भएको अावाज सुनिएको थियो ।

रंगशाला बाहिर निस्कन नपाएपछि दर्शकहरु मैदानमा प्रवेश गरेका थिए। त्यसैले पनि फुटबल हुँदा सुरक्षा ब्यबस्था झन् कडा पारिँदै लगिएको छ ।

साभार: अनलाईन खबर

राम्रो पढ्नेलाई त्रिविले नै जागिर दिने

२८ चैत, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ ।
 
विश्वविद्यालयले अब टपर विद्यार्थीलाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य गराउने नीति ल्याउँदैछ ।

वैशाख ९ गते बस्ने त्रिवि सभाले सो नीति पास गरी कानुनी मान्यता दिने तयारीसमेत त्रिविले गरेको योजना महशाखा प्रमुख ऋदिशकुमार पोखरेलले बताए । नागरिक दैनिकमा समाचार छ ।  
 
विश्वविद्यालयका योजना महाशाखा प्रमुख पोखरेलले विश्वविद्यालयले विद्यार्थीको क्षमताको कदर गर्दै विश्वविद्यालय नियममा संशोधन गरी आगामी वर्षदेखि लागू हुने गथरी उत्कृष्ट विद्यार्थीलाई सम्मान स्वरुप विश्वविद्यालयमै रोजगारीको व्यवस्था गर्न लागेको जनाए।
 
‘हाललाई विश्वद्यिालय अन्तर्गत रहेको ४ संकार र ५ अध्ययन संस्थामा उत्कृष्ट हुने ९ विद्यार्थीका लागि पहिलो चरणमा रोजगारीको व्यवस्था गर्ने गरी हामीले त्रिवि नियम संशोधन तथा परिमार्जन गर्दैछौ, प्रमुख पोखरेलले भने,‘विद्यार्थीले त्रिविबाट प्राप्त गरेको ज्ञान र सीप बर्सेनी विदेशी भूमिमा गएर प्रयोग गर्ने गरेको पायौं।’
 
विश्वविद्यालयमा हाल दैनिक औसत तीन् शिक्षक कर्मचारीले अवकाश पाउने गरेको तर त्यसअनुसार पदपूर्ति गर्न नसकेको उनले जनाए।

मधेसीमोर्चाको हल्लैहल्लामा फेरी पेट्रोलियम पदार्थ र ग्यास अभाव

१६ चैत, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्किपछि र मधेसवादी दलहरुले पुनः आन्दोलन चर्काउने भन्न थालेपछि हल्लैहल्लामा फेरि एकपटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुन थालेको छ । ग्यासको अभाव केही दिन अघिदेखि नै जारी रहेकोमा राजधानीका अधिकांश पेट्रोल पम्पहरुले सोमबार पेट्रोल छैन भन्ने बेहोराका सूचना टाँसेका थिए । झन्डै चार महिनासम्म चरम इन्धन अभाव भोगेका सर्वसाधारण जनता पछिल्ला घटनाक्रमले पुनः एकपटक त्रासमा परेको पाइएको छ । यो अवस्थाले गर्दा उनीहरु जसरी हुन्छ इन्धनको जोहो गर्ने ध्याउन्नमा लागेका छन् । 

नाकाबन्दी खुले पनि कुल मागको ७० प्रतिशत इन्धनमात्र भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराइरहेको समयमा नाकाबन्दीको हल्लाले तीन दिनयता थप तेल अभाव भएको छ । सर्वसाधारणले आवश्यकताभन्दा बढी तेल जम्मा गर्न थालेको मात्र नभई कालोबजारी गर्ने व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न खोजेको उपभोक्ता अधिकारकर्मी र सरकारी अधिकारीहरुको कथन छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web