पप्पु गुरुङ्, १० साउन, कञ्चनपुर । भारतिय प्रहरी हतियार सहित नेपाली भुमीमा आएर मदिरा पसल बन्द गर्न धम्की दिएका छन् । गए राती करिब ८ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर क्षेत्रमा गाँउमा भारतिय प्रहरी गाँउ पसेर मदिरा उत्पादन तथा पसलमा बन्द गर्न धम्की दिनुको साथै तत्काल बन्द नगरे तोडफोड गर्ने चेतावनी समेत दिएको स्थानियहरुले बताएका छन् । राती आधुनिक हतियार संग आएको ७ जनाको टोलीले हतियार ताक्दै पसलमा सर्च समेत गरेको बताईएको छ् । कुतियाकबर क्षेत्रको नेपाल–भारत सिमा स्तम्भ नं. २७ नजिक नेपाली भुमिमा भारतिय नागरिकद्धारा अबैध घरेलु मदिरा उत्पादन तथा पक्की मदिरा बिक्रि बितरण भईरहेको बताईएको छ् । उक्त मदिरा पसलमा भारतिय नागरिकहरुले मदिरा खरिद गर्ने भएको कारण भारतिय प्रहरीले बन्द गर्न धम्की दिएको भारतिय प्रहरीको भनाई रहेको बताईएको छ् । एक साता अघि भारतिय प्रहरीले नेपाली मदिरा पसलमा छापा मारेर मदिरा तथा मदिरा जन्य पदार्थ नियन्त्रणमा लिएर गएको स्थानियहरुले बताएका छन् ।

काठमाडौं,असार १० । दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् । लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन् । पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडिबढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायबीच छलफल गरेका छन् ।

आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको काम विस्तारमा सहयोग गर्न नेपाली प्रतिनिधिलाई आग्रह गरेको आजको राजधानी दैनिकमा समाचार छ । पेट्रोलियम पदार्थको आफूर्ति व्यवस्था सहज बनाउन भारतले रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तार गर्ने भनेपछि सो कार्य अगाडि बढाउन लागिएको हो ।

आईओसी र नेपाली प्रतिनिधिबीच बिहीबार भएको छलफलका क्रममा पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारत तयार भएको आईओसी प्रतिनिधिले बताएका छन् ।

काठमाडौं,असार १० । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारामा पर्न थालेका छन् । संसदीय दलको कार्यसमितिका सदस्य र दल अन्तर्गत रहने संसदीय समितिका संयोजक प्रस्ताव गर्दा पौडेलले ४५ प्रतिशत हिस्सा मागेका हुन् । भागबन्डाका विषयमा कुरा नमिल्दा दुई नेताबीच भनाभन समेत भएको थियो । स्रोतअनुसार बिहीबार गठन भएको दल अन्तर्गतको १२ संसदीय समितिमा पौडेलले न्यूनतम ५ संयोजक माग गरेपछि दुई नेताबीच विवाद भएको हो । संसदीय दलको कार्यसमिति सदस्यमा समेत पौडेलले ४५ प्रतिशतको हिस्सा पाउनुपर्ने लिखित नै माग गरेका थिए ।

देउवाले १२ समितिका संयोजकमध्ये पौडेल पक्षका तीन जनाको नाम मात्रै प्रस्ताव गरेका थिए । संसदीय दलको कार्यसमितिमा विवाद भएपछि पौडेल पक्षका दुई जना थप गरी ५ जनालाई संयोजक दिन देउवा तयार भएका हुन् । एकपक्षीय रुपमा संसदीय समिति बनाउन खोजेको भन्दै दलको कार्यसमितिमा मनोनीत पौडेल पक्षका तीन जना भने बैठकमा अनुपस्थित भए । निर्वाचित सदस्यहरू भने बैठकमा सहभागी थिए ।

१२ समितिमध्ये पौडेल पक्षबाट विधायन समितिमा तारणदत्त चटौत, अर्थ समितिमा मोहनप्रसाद बराल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बलबहादुर केसी, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा जीवन परियार र राज्य व्यवस्था समितिमा नवीन्द्रराज जोशीलाई संयोजक बनाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट रहेका सुधीरकुमार शिवाकोटीलाई कृषि तथा जलस्रोत समितिको संयोजक बनाइएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

देउवाले अन्य समितिहरूमा आफू निकटकालाई संयोजक बनाएका छन् । त्यस अनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा अम्बिका बस्नेत, सामाजिक न्याय तथा मानवअधिकार समितिमा मोख्तार अहमद, विकास समितिमा जीवनबहादुर शाही, वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मा, सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी र सार्वजनिक लेखा समितिमा भरतकुमार शाह संयोजक छन् । समितिका सदस्यहरू भने व्यवस्थापिका संसद् अन्तर्गत समितिमै रहेका सदस्यहरू रहनेछन् ।

काठमाडौं,असार १० । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौा रुपैयाा खर्च गर्दै छ । तर, खर्च प्रक्रिया व्यवस्थित गर्न सकेको छैन । सरकारले गत २६ चैतमा पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडास्वरूप मासिक एक लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यहीअनुसार सरकारी कर्मचारीले ललितपुर बागडोलस्थित रविभक्त विष्टको घर भाडामा लिएर यादवलाई आवास मिलाएका थिए ।

तर, १२ कात्तिकमा यादव सो घरमा सरेपछि मात्र घरभाडा कर कसले तिर्ने भन्नेमा सरकार र घरबेटीबीच विवाद छ । सरकारले निर्णय गरेभन्दा बढी तिर्न कानुनी रूपमा अप्ठ्यारो छ, जबकि करबाहेक एक लाख ३० हजार आफ्नो हातमा आउने गरी सहमति भएको विष्टको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कात्तिकदेखिकै भाडा नपाएका विष्टले यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । यसअघि घरबेटीले घर खाली गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत निवेदन दिएका थिए । बरू संसद्मा कांग्रेस सांसदले पूर्वराष्ट्रपतिको घरभाडा सरकारले नतिर्ने भए आफूहरूले लेबी उठाएर तिर्ने बताइसकेका छन् । त्यसो त बागडोलस्थित भाडाको घरको नजिकै यादवकै आफ्नो निजी घर पनि छ ।

उता, सरकारले कुनै सुविधा नदिएको भन्दै आफू मानसिक तनावमा परेको पूर्वउपराष्ट्रपति परमानन्द झाले बताउँदै आएका छन् । इन्धन र चालकको पारिश्रमिकसमेत नपाएको उनले गुनासो गरेका छन् ।

झा सरकारले दिएका सुरक्षाकर्मीसहित गौरीघाटस्थित आफ्नै घरमा बस्दै आएका छन् । सरकारले पूर्वउपराष्ट्रपति झालाई ६० लाखसम्मको गाडी, दुईदेखि तीन सय लिटरसम्म पेट्रोल, चालक, गाडी मर्मत खर्च र सुरक्षा दिने निर्णय गरेको छ ।

काठमाडौं,असार १० । पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।

फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको आजको अन्नपूर्णमा समाचार छ ।

डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् । फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । गौचनले एकेडेमीबाट वार्षीक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

काठमाडौं,असार १० । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीवानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ ।

घटनाअघि नै तालिवानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेका हुन् ।

काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ (धम्क्याएर पैसाँ उठाउने) नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, असार ९ । ओलम्पिक डेका अवसरमा आयोजित पुरुष बेसबल प्रतियोगितामा आर्मी बिहीबार विजयी भएको छ । पुल्चोकमा भएको खेलमा आर्मीले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो । स्पोर्ट्स फर अल कमिसन र नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित प्रतियोगिताको महिला सफ्टबलमा भने एपीएफले आर्मीलाई ९–१ ले हरायो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रम आयोजक संघका महासचिव दीपक न्यौपानेले सञ्चालन गरेका थिए भने संघका उपाध्यक्ष प्रदीपकुमार खत्रीले स्वागत मन्तब्य राखेका थिए ।

काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ ।

सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा(Ryosho Tanigama) बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो इतिहास बोकेको युनिभर्सिटीसंग खेलाडी, प्रशिक्षक, विज्ञलगायत सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बिहीबार स्वदेश फर्किएका सदस्य–सचिव विष्टले जानकारी गराए ।

‘विशेष गरी हामीलाई आवश्यक परेको खण्डमा विज्ञ समेत उपलब्ध गराइ दिने सहमति भएको छ । समझदारी पत्र अनुसार सम्झौता तीन वर्षका लागि भएको हो ।’– सदस्य–सचिव विष्टले भने ।

सदस्य–सचिव विष्टका अनुसार त्यसबेला युनिभर्सिटीको १२५ वर्षगाँठ मनाउने कार्यक्रम पनि रहेकाले कार्यक्रममा विभिन्न १४ देशका खेल निकायका प्रतिनिधि सहभागी थिए ।

भ्रमणकै दौरान सदस्य–सचिव विष्ट र जाइकाको मुख्यालयका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यसक्रममा जाइकाले विगतमा नेपालमा पठाउने स्वयंसेवक प्रशिक्षकको संख्यामा बृद्धि गर्न सकिने जाइकाका उप–निर्देशक यागो नओको (Yago Naoho) ले प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै भूकम्पले क्षति पु¥याएको भौतिक संरचना बनाइ दिने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपालस्थित जापान राजदूतावासमा प्रस्ताव राखेमा प्रकृया सुरु गरिदिने जाइकाका प्रतिनिधिले प्रतिबद्धता जनाएको सदस्य–सचिव विष्टले जानकारी गराए ।

काठमाडौं,असार ९ । सरकारले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकलेले वैदेशिक रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको लगाएको हो । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा परी १३ नेपालीको मृत्यु भएपछि सरकारले ती देशहरूमा जान प्रतिबन्ध लगाएको हो। यस्तै, बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। साथै काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ । तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई चार वर्षको लागि नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक राधेश पन्तको कार्यकाल सकिएपछि उनको ठाउँमा अधिकारीलाई ल्याइएको हो।

काठमाडौं,असार ९ । दोश्रो मदन आश्रित राष्ट्रिय टि-२० क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ फाईनल खेलमा जनकपुरलाई ४९ रनको भारी अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो । पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए ।

सप्तरीमा शुक्रबार सम्पन्न फाईनल खेलमा टस हारेर सुरुमा ब्याटिङ्ग गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै एक सय ७८ रन बनायो, पुलिसको लागी प्रेम तामाङ्गले २४ बलमा ३ चौका र १ छक्काको मद्दतले ३० रन बनाए भने योगेन्द्र कार्की २९ तथा दिपेन्द्र ऐरिले २६ रन बनाए। जनकपुरका मेहबुब आलम ३ विकेट तथा राज मोहमद र संजोक कर्णले समान २-२ विकेट लिए ।

यता एक सय ७९ रनको बिशाल लक्ष्य सहित मैदानमा उत्रिएको जनकपुर नेपाल पुलिस क्लब सामु निर्ह बन्न पुग्यो, उसले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर मात्र एक सय २९ रन बनाउन सक्यो। जनकपुरको लागी सौंरभ नागबंशी नटआउट ३५ तथा गोपाल सिंहले नटआउट २९ रन बनाए भने अरु ब्याट्मेनले दोहोरो अंक बनाउन सकेनन्। नेपाल पुलिसका रामनरेश गिरीले ३ विकेट लिए भने दिपेन्द्र ऐरी २ तथा कुशल भुर्तेल र मञ्जित श्रेठले समान १-१ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी (बिराटनगर ) का पुष्प थापा , उत्कृष्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर जनकपुर टिमका राज मोहम्मद भए।

बिजेता टिम तथा खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेल, जिल्ला खेलकुद विकास समितिका अधिकृत लक्ष्मण मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले पुरस्कृत गरेका थिए।

एजेन्सी,असार ९ । भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान अनिल कुम्बले नियुक्त भएका छन् । बिहीबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले धर्मशालामा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक घोषणा गरेका हुन् । नयाँ प्रशिक्षकका लागि ५७ आवेदन मध्ये २१ जनालाई अन्तर्वार्ता लिइएको थियो ।कुम्बलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बताएको छ ।

उनले वेष्ट इन्डिजसँग हुने टेस्ट सिरिजबाट भारतीय टिम सम्हाल्ने छन् । मुख्य प्रशिक्षक कुम्बले नियुक्त भएपनि बलिङ, ब्याटिङ र फिल्डिङ प्रशिक्षक नियुक्त गर्न भने केही दिन लाग्ने बिसिसिआईले जनाएको छ । सचिन तेन्दुलकर, सौरभ गांगुली, भिभिएस लक्ष्मण र संजय जगदा सदस्य रहेको सल्लाहकार समितिले कुम्बलेलाई प्रशिक्षकका लागि छनोट गरेको हो । सन् २००० मा कपिल देवले राजिनामा दिएपछि भारतीय नै प्रशिक्षक भएको यो पहिलो पटक हो ।

कुम्बलेसँग इन्डिएन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको प्रशिक्षक भएको बाहेक अन्य अनुभव छैन । १८ वर्ष भारतीय टिमबाट क्रिकेट खेलेका स्पीनर कुम्बलेले टेस्ट क्रिकेटमा ६ सय १९ विकेट लिएका छन् । सन् २००७ मा टेस्ट टिमको कप्तान भएपछि उनले सम्हालेका १४ खेलमा भारतले तीन वटामा जितको थियो भने पाँच वटामा हार वेहोरेको थियो । ६ खेल बराबरी भएका थिए ।

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिनाका विश्वचर्चित फुटबलर लियोनेल मेसी अहिले उनको दाह्रीका कारण चर्चामा छन् । यसअघि बार्सिलोना या अर्जेन्टिनाबाट खेल्दा सफाचट भएर चिल्ला गालामा मैदानमा उत्रने मेसी यो पटक झुस्स खैरा दाह्रीमा देखिएका छन् ।

सधैं सफाचट देखिने मेसीले दाह्री पालेपछि धेरै नसुहाएको टिप्पणी पनि गरिरहेका छन् । फाइनल प्रवेशका लागि अमेरिकाविरुद्ध फ्री किकबाट सुन्दर गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल गर्ने खेलाडी बन्दै मेसीले नयाँ उचाईं पनि हासिल गरेका छन् । एकातर्फ अर्जेन्टिनालाई लगातार सफल बनाइरहेका मेसीले पालेको दाह्रीका कारण प्रशंसकमा उत्सुकता बढेको छ ।

मेसी साधरणतया आफ्नो 'चकलेटी' लुकले परिचित छन् । तर अब उनले पालेको दाह्रीले उनका समर्थकमा भने दिनप्रतिदिन उत्सुकता बढाइरहेको छ । मेसीले आफ्नो स्वरुप परिवर्तन गर्नैका लागि दाह्री पालेका हुन् या अरु पनि केही कारण छ ? मेसीका करोडौं फ्यानको दिमागमा अहिले यो प्रश्न घुमिरहेको छ । तर मेसीले दाह्री पाल्नुको कारणबारे 'गोलमोटोल' जबाफ दिएर प्रशंसकको उत्सुकता झनै बढाइदिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेसीले कोपा अमेरिकाको फाइनल खेल अगाडि दाह्री नकाट्ने दृढता लिएका छन् ।

समाचार अनुसार मेसीको दाह्रीसँग अमेरिकामा जारी कोपा अमेरिकामा अर्जेन्टिनाले अहिलेसम्म पाएको सफलताको रहस्य जोडिएको छ । मेसी कोपा अमेरिकाको फाइनलमा पुगेजस्तै अब चिलीलाई हराउँदै उपाधि नै चुम्नेतर्फ केन्द्रित भएका छन् । सोही कारण उनले कोपा अमेरिकाको फाइनल अगाडि मेसीले दाह्री नकाट्ने निर्णय लिएका हुन् ।

२८ वर्षीय मेसीले आफूले दाह्री काट्न खोजे पनि आफ्ना फुटबलर साथीहरुले काट्नै नदिने प्रतिक्रिया दिएका छन् । उनले यस्तो प्रतिक्रिया दिएपछि उनको दाह्रीबारेको रहस्य अझै बढाएका छन् । अर्जेन्टिना सेमिफाइनलमा आयोजक अमेरिकालाई ४-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । उसले यो पटक गत संस्करणको बिजेता चिलीसँग उपाधिकालागि भिडन्त गर्नेछ ।

अर्जेन्टिना र चिलीबीच कोपा अमेरिकाको सयौं संस्करणको फाइनल भिडन्त यही आइतबार हुँदैछ ।

अन्नपूर्ण पोष्ट