काठमाडौं,चैत १८ । आयोजक भारत र वेस्ट इन्डिजबीच बिहीबार मुम्बईमा ट्वान्टी–२० विश्वकपको सेमिफाइनल भिडन्त हुँदा उच्च फर्ममा रहेका विराट कोहलीले पाउँदै आएको वाहवाही खोस्नेमा क्रिस गेल प्रतिबद्ध छन् ।आक्रामक ओपनरले प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध विजय हासिल गर्दा ११ छक्कासहित अविजित शतक बनाएका थिए । तर, त्यसपछि एकपटक मात्र ब्याटिङ मौका पाउँदा उनी चार रनमा समेटिए ।
समूह चरणमा पाकिस्तानविरुद्ध अर्धशतक तथा अस्ट्रेलियाविरुद्ध अविजित ८२ रन बनाउँदै भारतलाई दुवै खेलमा विजय दिलाएका कोहली प्रतियोगितामा सबैभन्दा ठूलो स्टारका रूपमा स्थापित भएका छन् । मुम्बईको वाङ्खडे रंगशालाको फ्ल्याट विकेट ब्याट्सम्यानका सधँै प्रिय हुने गरेको छ । त्यसैले आयोजक र २०१२ को च्याम्पियनबीच हुने अन्तिम चारको खेल ठूला सट खेल्नेहरूबीचको पनि भिडन्तमा प्रमाणित हुनेछ । नागरिक दैनिकमा समाचार छ ।
'म क्रिस गेल के हो भनेर देखाउन चाहन्छु,' गेलले मंगलबार विपक्षीलाई चुनौती दिँदै भनेका थिए, 'मैले प्रतियोगितामा दुईपटकमात्र ब्याटिङ गर्ने मौका पाएको छु । तर, सेमिफाइनल मेरा लागि प्रतियोगितामा सुरुआतजस्तै हुनेछ । ब्याटबाट उच्च प्रदर्शन गर्दै म टोलीको जितमा महत्वपूर्ण योगदान गर्न चाहन्छु ।'
३६ वर्षे गेलले प्रतियोगितामा सर्वाधिक १ सय ८४ रन बनाएका कोहलीलाई 'विश्व विजेता' का रूपमा बयान गरे पनि बिहीबारको खेलमा दुवै टोलीले त्यस्ता व्यक्तिगत प्रतिभालाई धेरै वास्ता नगर्ने बताए । 'क्रिस गेल सधै सकारात्मक खेलाडी हो । आफूविरुद्ध कसले बलिङ गरिरहेछ भन्ने उसलाई वास्ता हुँदैन,' गेलले भने, 'क्रिस गेलले खाली आक्रमण गर्न जानेको छ । ट्वान्टी–२० क्रिकेट र क्रिस गेलको स्वभाव पनि यस्तै हो ।
भारतका प्रशिक्षक रवि शास्त्रीले आफ्ना बलरहरू गेलबाट सचेत रहेको बताउँदै उनलाई धेरै खुल्न नदिने बताए । 'हाम्रा बलरले गेललाई लक्ष्य बनाएर खेल्नेछन्,' बुधबार पत्रकार सम्मेलनमा शास्त्रीले भने । कोहलीले लगातारको उच्च प्रदर्शनबाट आफूलाई क्रिकेटका महान हस्तीमा प्रमाणित गर्दै लगेको भारतका पूर्व अलराउन्डर शास्त्रीको भनाइ थियो । 'विश्वकपको यो अवस्थासम्म आइपुग्दा कोहलीलाई जस नदिइरहन सकिन्न । उनको कडा मिहिनेत र उच्च प्रदर्शन हाम्रा लागि सधँै महŒवपूर्ण रहँदै आएको छ,' शास्त्रीले भने, 'कोहलीले कुनै दिन आफूलाई क्रिकेटको सर्वकालीन महान हस्तीमा उभ्याउने छन् ।'
२००७ मा सम्पन्न पहिलो संस्करणको विजेता भारत ट्वान्टी–२० विश्वकपको दुई संस्करण जित्ने पहिलो टोली बन्ने अभियानमा बिहीबारको खेल जितेर एक कदम नजिक पुग्न चाहन्छ । त्यसका लागि टोलीलाई घरेलु मैदानको फाइदा पनि हुनेछ । त्यसो भए प्रेरणादायी कप्तान महेन्द्रसिंह धोनीले पनि उच्च अवस्थामा रहँदा संन्यास घोषणा गर्न पाउने थिए । धोनीले यही विश्वकपपछि संन्यास लिने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।
पहिलो खेलमा न्युजिल्यान्डसँग स्तब्ध भए पनि भारतले त्यसपछि लगातार तीन खेलमा विजय हासिल गर्दै सेमिफाइनल सुरक्षित गरेको थियो । ठिक विपरीत वेस्ट इन्डिजले भने सुरुका तीन खेल जितेर अन्तिम चारमा ठाउँ पक्का गरिसकेपछि अर्थहीन खेलमा कमजोर मानिएको अफगानिस्तानलाई नतिजा सुम्पिएको थियो ।
एजेन्सी,चैत १९ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि उचाल्ने भारतको सपना चकनाचुर भएको छ । विहीबार राति भएको खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले हारेपछि भारतको सपना तुहिएको हो । जितको लागि १९३ रन पछ्याएको वेष्ट इण्डिजले मात्र ३ विकेटमा लक्ष्य हासिल गर्यो । वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्स भाग्यमानी सावित भए । जसले ५१ बलमा ८२ रनको उत्कष्ट पारी खेले । उनले आफ्नो पालिमा भारत विरुद्ध ५ छक्का प्रहार गरे । यस्तै उनकै पारीमा दुई पल्ट ‘नो बल’ हुन पुग्यो । सिमोन्स बाहेक जोनसन चाल्र्सले ५२ रनको पारी खेले भने आन्द्रे रसेलले २० बलमा ४३ रनको पारी खेले । निकै आशा गरिएका क्रिस गेल मात्रै ५ रनमा आउट भएपछि र १९ रन मात्रै बनाउँदा २ विकेट गुमाएपछि वेष्टइण्डिज दबाबमा आएको थियो । दबाबकाबीच मैदान छिरेका जोनसन चाल्र्स र लेन्डल सिमोन्सले १०३ रनको साझेदारी गरेपछि संकट टरेको थियो । वेष्ट इण्डिजले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको भारतले मात्र २ विकेटमा १९२ रनको विशाल रन जोडेपछि खेल उसकै पक्षमा जाने अनुमान गरिएको थियो । तर वेष्ट इण्डिजले त्यो अनुमान व्यर्थ बनाईदियो ।
वेष्ट इण्डिजलाई १९३ रनको विशाल लक्ष्य दिएको भारतले के कारण हार्यो त ? विश्लेषकहरुको तर्क यस्तो छ :
* भारतका अजिन्का रहाणे र विराट कोहली ११ देखि १६ ओभरको बीचमा धर्मराए । उनीहरुले यो बीचको बलमा गतिलो प्रदर्शन गर्न सकेनन् । ११ देखि १६ ओभरको बीचमा भारतले ४७ रनको स्कोर बनाएको थियो । जबकी वेष्ट इण्डिजले ६७ रन बनाएको थियो ।
* २ विकेट गुमाएपछि विराट कोहली र कप्तान महेन्द्रसिंह धोनीले पारीको अन्यमा सर्ट लिएनन ।
* वेष्ट इण्डिजका सिमोन्सको पारीमा २ पटक भएको नो बल नै भारतलाई महंगो पर्न गयो ।
* टस हारेपछि भारत फिल्डिङमा पर्नु ।
* सिमोन्स र चाल्र्सको योगदान नै वेष्ट इण्डिजको लागि जित बन्यो भने भारतको लागि हार ।
unn.com.np
काठमाडौं,चैत २२ । केहिदिन देखि स्थिर रहदै आएको सनचाँदीको भाउ आरालो लागेको छ । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ २ सय रुपयाँ घट्दै ५३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार र शुक्रबार ५४ हजार रुपैयाँ प्रतितोलामा कारोबार सुन आइतबार पनि स्थिर रहँदै सोही भाउमा कारोबार भएको थियो। त्यस्तै ७ सय १० रुपैयाँ प्रतितोलामै केही दिन कारोबार भएको चाँदीको भाउ पनि आज ५ रुपैयाँले घटेर ७ सय ५ कायम भएको छ।
२८ चैत, काठमाडौं ।
राजधानीका क्यासिनोहरूले चोरबाटोबाट नेपालीलाई जुवा खेलाउने गरेका छन्। भारतीय निर्वाचन आयोगको नक्कली परिचयपत्रका आधारमा क्यासिनोले नेपालीलाई जुवा खेलाउने गरेका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रहरी बनेर ठगी गरेको आरोपमा गत मंगलबार पक्राउ परेका टोपबहादुर कुँवर र निमबहादुर कुँवर नियमित क्यासिनो जाने गरेको अनुसन्धानमा खुलेको छ। क्यासिनो जान उनीहरूले भारतीय निर्वाचन आयोगको नक्कली मतदाता परिचयपत्र बनाएका थिए।
प्रहरीले दीपक र निमबहादुरको साथबाट पाँच थान भारतको नक्कली परिचयपत्रसमेत बरामद गरेको छ। उनीहरूले क्यासिनोको लतमा परेर त्यस्तो कार्ड बनाएको महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले बताए। उनीहरू सांग्रिला र हायात होटेलमा रहेको क्यासिनोमा जाने गरेका थिए।
क्यासिनो जानकै लागि नेपाली जुवाडेले भारतीय निर्वाचन आयोगको परिचयपत्र बनाएको यो दोस्रो घटना हो। दुई महिनाअघि महानगरीय प्रहरी वृत्त कालिमाटीले गुर्जुधाराका श्रवणकुमार शाहीलाई सोल्टी होटेलस्थित क्यासिनो माजोङबाट पक्राउ गरेको थियो। क्यासिनोमा पटकपटक नेपालीलाई छिराउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानी शाहीलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा उनी नियमित क्यासिनो जाने गरेको र अरू पनि धेरैजना जाने गरको खुलेको थियो।
क्यासिनो व्यवस्थापन नियमावली ०७१ ले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेको छ। नेपाली प्रवेश गराएमा इजाजत नै रद्द हुन सक्नेसम्मको प्रावधान नियमावलीमा छ। पहिला पनि क्यासिनोमा प्रवेश निषेध गरे पनि नेपाली लुकिछिपी छिर्ने गरेका थिए। नयाँ नियमावलीमा कडा प्रावधान राखेपछि क्यासिनो सञ्चालकले आफ्ना नियमित ग्राहकलाई नक्कली परिचयपत्र बनाएर छिराउने गरेका हुन्।
राजधानीमा हाल चारवटा क्यासिनो सञ्चालनमा छन्। सोल्टी होटेलमा माजोङ, बौद्धको हायात होटेलमा क्यासिनो प्राइड, याक एन्ड यतीमा क्यासिनो रोयल र सांग्रिला होटेलमा क्यासिनो मिलिनियर्स क्लब सञ्चालनमा छन्। चारैवटा क्यासिनोमा विदेशी लगानीकर्ता छन्।
काठमाडौं,चैत १७ । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने छ। ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन बृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरुपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत लोडसेडिङ न्यूनमात्र रहनेछ। हाल बिजुलीको माग १३ सय मेगावाट छ भने उत्पादन ८ सय २९ मेगावाट मात्र छ। नेपालले लोडसेडिङ घटाउन हाल भारतबाट ३ सय १५ मेगावाट हाराहारीमा आयात गरिरहेको छ। कान्तिपुर दैनिकमा समाचार छ।
आगामी वर्ष बिजुलीको माग बढेर १४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण विद्युत प्राधिकरणको छ। त्यतिबेलासम्म मुलुकमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये ४० वटाको निर्माण सम्पन्न भई त्यसबाट ३ सय ५८ मेगावाट बिजुली उत्पादन सुरु भइसक्नेछ।
ती अधिकारीका अनुसार निजी क्षेत्रका ३८ आयोजना सम्पन्न भई ३ सय १४ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ भने विद्युत प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट ४४ मेगावाट बिजुली थपिनेछ।
१९ चैत, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ ।
सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो ।
एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए।
असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको नागरिक दैनिकमा समाचार छ ।
१ बैशाख, मंगलसेन ।
मंगलबार बेलुकी अछामको साँफे हाटबजारमा रहेका ११ पसलमा भएको आगालागी बाट १ करोड बढीको सामान जलेर नष्ट भएको छ ।
आगालागि बाट १ करोड ३ लाख ६ हजार हाराहारिको सामान नष्ट भएको अछामका प्रहरी नायब उपरिक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो ।
मगलवार राति सवा ९ बजे प्रेम आउजीको पसलको आईरनबाट बिजुली शर्ट भएर लागेको आगोबाट बजारको जिरो प्वाईन्ट देखि पश्चिम तिरका ११ पसलका सामान पूर्ण रुपमा नष्ट भएका थिए ।
यसैवीच आगलागी पिडितका लागी राहत जुटाउने उद्देश्यले बजार ब्यवस्थापन समिती अध्यक्ष मोहन कुवर संयोजक रहने गरि उद्धार तथा राहत कोष गठन गरिएको अछाम संवाददाता टेकराज भण्डारीले बताएका छन् ।
सप्तरीको दौरीभर्वामा आगलागी
सप्तरीको दौरीभर्वा गाविसमा आज बिहान आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन घरमा रहेको नगद जिन्सी तथा केही जनावर क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागीमा लाखौको क्षति
यसैगरी भोजपुरको बिभिन्न स्थानमा भएको आगलागीमा लाखौको क्षति भएको छ ।
जिल्लाको श्यामशिला ६ स्थित तलक बहादुर पाण्डेको ढुङा माटोले बनेको तिन तले घर तथा घरभित्र रहेको सरसामान जलेर नष्ट भएको छ ।
बिहान करिब साढे दश बजे जंगलमा लागेको आगो सल्किएर पाण्डेको घरमा आगलागी भएको थियो । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा अपरान्ह ३ बजे नियन्त्रण गरिएको प्रहरी चौकी बास्तिमले जनाएको छ ।
त्यसैगरी भोजपुरको देवानटार ९ स्थित बर्दी माया राईको घरमा सांझ ५ बजेतिर अचानक आगलागी हुँदा उनको घर, गोठ, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको छ ।
काठमाडौं,चैत ३० । चीनले आसपासमा सरकारी भवनबाहेक अन्य बस्ती नबसाउने सर्तमा तातोपानी नाका खुला गर्ने अनौपचारिक जानकारी सरकारलाई दिएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चीन सरकारका प्रतिनिधिले विभिन्न तहमा यस्तो जानकारी गराएका हुन्। तिब्बत सरकारले तातोपानीको विषयमा बेइजिङको निर्देशन आबश्यक पर्ने र त्यहीअनुरुप काम भइरहेको जानकारी सरकारलाई दिएको छ।
भूकक्पपछि चीनले खासास्थित आफ्नो भन्सार र अन्य कार्यालय हटाएको छ। चिनियाँ सेनाको एक टुकुडी र अन्य सुरक्षा निकायले त्यो क्षेत्रको सुरक्षा भने दिइरहेका छन्।
चीनले खासाको बजारलाई न्यालोममा लैजाने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ। कान्तिपुर दैनिकमा समाचार छ – खासाबाट १५ किलोमिटर पर रहेको न्यालोम तातोपानीको सुख्खा बन्दरगाहबाट २७ किलोमिटर टाढा पर्छ।
काठमाडौं,बैशाख १ । भारतीय नाकाबन्दीका बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सन चुलो एक थान मात्र बिक्री भएको छ। चीनले नेपाललाई केरुङ नाका हुँदै चार महिना अघि १३ सय थान र साढे तीन महिना अघि हवाई मार्ग हुँदै १० हजार थान इन्डक्सन चुलो उपलव्ध गराएको थियो। भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि सर्वसाधारणको चुलो बल्न छाडेको बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सनमध्ये १३ सय थान नेशनल ट्रेडिङका अधिकारी गत मंसिर २७ गते केरुङ नाका पुगेर बुझेका थिए। गत पुस १४ गते पुन: चीनले हवार्इ मार्गबाट १० हजार थान चुलो पठाएको थियो। दोस्रोपटक पठाएको चुलो जिम्मा लिने निकाय नहुँदा त्रिभुवन विमास्थलमा अलपत्र छन्।
बिक्रीको जिम्मा लिएको नेसनल ट्रेडिङका पदाधिकारीले चुलो बिक्री गर्न सक्दो प्रयास गरे पनि कुनै उपलब्धि हात नलागको बताए। नाकाबन्दीको सुरुवाती चरणमा बजारमा इन्डक्सनको चर्को माग भएपनि चिनियाँ चुलो बिक्री नहुनुमा महंगो मूल्य कायम गरिनुलार्इ लिइएको छ।
नेशसनल ट्रेडिङका महापेरवन्धक सत्यनारायण मेहताले मूल्य निर्धारण समितिले निकै बढी मूल्य तोकेका कारण बिक्री नभएको बताए। मूल्य निर्धारण समितिले चिनियाँ इन्डक्सनको प्रतिथान मूल्य ११ हजार नौ सय ९६ रुपैयाँ मूल्य तोकेको थियो । नागरिक दैनिकमा समाचार छ – चुलो भने अहिलेसम्म एक थान मात्र विकेको छ ।
२४ चैत, काठमाडौं । राष्ट्रिय प्रसारण लाइन ओझेलममा छ , सिन्धुलीको अमले गाँउ ।तर बत्ति बालेर गाँउ झलमल्ल पार्नेमा भने जिल्लाकै पहिलो बनेको छ ।
अमलेका दुई सय घरधुरीले छेलाखाला बिजुली बाल्छन । राष्ट्रिय प्रसारण लाइनबाट कल्पना गर्न नसकिने सुविधा यहाँका मरिणखालाका लघुविद्युतले दिएको आजको नागरिक दैनिकमा समाचार छ ।
मासिक ५० रुपैया तिरेपछि २४ घण्टा बिजुली उपलब्ध छ । जिल्ला विकास समितीले १२ लाख, उर्जा विकास कम्पनीको ४२ लाखले बनेको २४ किलोवाट लघुविद्युत आयोजनापछि उक्त क्षेत्रमा विद्युत फालाफाल छ ।
सदरमुकामबाट विकेट क्षेत्रमा रहेको यस गाविसमा बिजुली बाल्ने सपना पूरा गर्न स्थानीयले कम्ती दुःख गरेका होइनन् ।
बिजुली बाल्न प्रत्येक घरधुरीबाट १३ हजारका दरले रकम संकलन गरिएको थियो ।
जलविद्युत आयोजना निर्माण गर्न निकै परिश्रम गर्नु परे पनि हाल बिजुलीले सबैमा उज्यालो छाएको स्थानीय बताउँछन् । हाइड्रोपावरको रेखदेख गर्न दुईजना कर्मचारी राखिएको छ ।
काठमाडौं,चैत २६ । भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ। अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात पनि भएको छ । तर बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको आपूर्ति सहज छैन । तुलनात्मक रुपमा पेट्रोल र मट्टितेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ। निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मागअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए । ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर डिजेल अभाव छ। पेट्रोल र हवाई इन्धनमा समस्या छैन ।’
इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ। ‘व्यावसायिक उपभोक्ताले फेरि पनि अभाव हुने आशंकामा चहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने।
उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ तर अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ। इन्धन आपूर्ति कम भएर कालोबजारी बढ्नुमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै जिम्मेवार रहेको आरोप लागेको छ। सरकारले वैकल्पिक मार्गबाट इन्धन ल्याउन निर्देशन दिएपछि मात्र उनले ग्लोबल टेन्डर गरेका थिए।
टेन्डरबाट विराट पेट्रोलियमलाई भारतको सिक्किमबाट पेट्रोल र डिजेल ल्याउन उनले २० करोड रुपैयाँ पेस्कीदिएका थिए। मनोमानी ढंगले विराटलाई तेल ल्याउन पेस्की दिएको विषय विवादमा तानिएपछि विराटले तेल ल्याउन गरेको सम्झौता तोड्यो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
काठमाडौं,चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओली उडेको १० दिनपछि हिमालय एयरलाइन्सले प्रुभिङ फ्लाइन (प्रमाणित उडान) गराएको छ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाले उडान प्रमाणित नै नगर ियही चैत ७ गते प्रधानमन्त्रीको टोलीलाई चीन उडाएको थियो । सोही टोली लिएर चैत १४ गते काठमाडौं फर्किएपछि हिमालयले बुधबार औपचारिक रुपमा काठमाडौं–दिल्ली–काठमाडौं रुटमा सफल प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको छ ।
हिमालयले जारी गरेको प्रेस विज्ञप्तिमा यो वायुसेवाले व्यावसायिक उडानको तयारीको प्रदर्शन गर्न प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको छ । नेपाल–चीनको संयुक्त लगानीमा नेपालमा सञ्चालन तयारीमा रहेको ९ एन एएलएम कल साइनको जहाजले प्रुभिङ फ्लाइट गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।