एजेन्सी,जेठ २५ । इराक र सिरियामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) ले १९ जना महिलालाई जिउँदै जलाएर हत्या गरेको छ । इराकको मोसल सहरमा आईएस लडाकुहरुले सयौं सर्वसाधारणका अगाडि ती महिलालाई जिउँदै जलाएको स्थानीय अधिकारकर्मीहरुले जनाएका छन् । आइएस लडाकुसँग यौन सम्बन्ध राख्न नमानेको आरोपमा उनीहरुलाई फलामको पिंजडामा थुनी जलाएर हत्या गरेको हो । स्थानीय सञ्चारकर्मी अब्दुल्ला अल मल्लले लडाकुहरुसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनीहरुको हत्या गरेको जनाएका छन् आजको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं, जेठ २५ । ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।’ गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६/१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पूर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे । सरकारी सुविधा भन्दै सरकारले चालकसहितको एउटा गाडी दियो । तर, चालकको पारिश्रमिक आएन । इन्धन छैन । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाको मापदण्डअनुसार ११ जना सेना खटिए । तिनको बसोबासको व्यवस्थासमेत उनैले आफ्नै घरमा मिलाउनुपर्यो ।

पूर्वराष्ट्रपतिलाई भने सरकारले घर, सुरक्षाकर्मी, चालक, सहयोगी सबै उपलब्ध गराएको छ । उनलाई भने कानुन बनेको छैन भन्दै टार्ने गरेको झाको आरोप छ । पूर्वउपराष्ट्रपतिको हैसियतमा कुनै आर्थिक सुविधा छैन । सरकारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै जिम्मेवारीमा आयो । समस्या सुनाउन प्रधानमन्त्रीसँग डेढ महिनादेखि भेट्न खोज्दा कुनै प्रतिक्रिया आएन । कानुन मन्त्रीलाई नै भेटौं न त भन्दा समय पाएनन् उनले । उनी तनावमा रहनुको कारण यिनै थिए ।

‘मेरो सुरक्षा र पदीय सम्मान राख्नु राज्यको जिम्मेवारी हो भने सोहीअनुसारको प्रबन्ध हुनुपर्यो,’ उनले भने, ‘यी सबै मैले न्यायाधीशको पेन्सनबाट गर्नुपर्ने हो भने मलाई न चालक चाहियो न सेनाको सुरक्षा, सबै फिर्ता लगे हुन्छ ।’ सरकारी सम्मानसाथ भएको बिदाइ समारोहमा सरकारी सुविधा भन्दै दिएको चालक जयनारायण ठाकुरको मासिक पारिश्रमिक नदिनु अनि जानकारी नै नदिई अवकाश दिने घटनाले उनको चित्त बढी कुँडिएको रहेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, जेठ २५ । सरकार गिराउनका लागि भारतले नेताहरुबीच विभाजन ल्याउने गरी खेलिदिएपछि सरकार नेतृत्व गरिरहेको नेकपा एमालेको स्थायी समितिमा भनाभन भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भनाभन भएको हो । स्थायी समितिमा बामदेव गौतम भने मौन रहेका थिए । आफ्नो पार्टीले सरकारलाई लोकप्रिय हिसावले चलाउँदाचलाउँदै पनि सरकार परिवर्तन, भद्र सहमतिको नाममा नेपाल र खनालको अभिव्यक्ति आएपछि चिढिएका ओलीको बचाउमा उनी पक्षधर नेताहरुले जवाफ मागेका थिए । नेपाल पक्षका नेताहरुले जवाफको साटो पार्टी र सरकार आफुखुसी चलाउने भन्दै बुर्कुसी मारेका थिए ।

सरकारको नेतृत्व गरिरहेको एमाले र एमाओवादीलगायतका दलहरुको संस्थागत सहकार्य बलियो भएपछि सरकार गिराउन असफल भारत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत आन्दोलनमा रहेका मधेसी मोर्चाका नेताहरुले एमालेभित्र नेपाल समुहलाई उचालेको थियो । माधव नेपाललाई प्रधानमन्त्री बनाउने खेलमा एमालेभित्र विवाद सृजना भएको थियो ।

भारतसँग चिसिएको सम्बन्ध सुधार्ने जिम्मा नेपालका लागि भारतीय राजदूत रणजित रायकै भएको भन्दै विदेश मन्त्रालयले उनलाई त्यो जिम्मेबारी दिएपछि आफ्ना सवैभन्दा नजिकका नेताका रुपमा उनले एमालेको फरक खेमाका नेता माधवकुमार नेपाललाई भेटेका थिए ।

नेपालले रअका पूर्व प्रमुख आलोक जोशीसँग भेटेपछिका दिनमा सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

‘सरकार हामीले चलाएका छौं, राम्रो जनमतको आधार बनेको छ तर किन विरोध ?’, वैठकमा एक स्थायी समिति सदस्यले प्रश्न गरे, ‘विरोधका लागि विरोध गरेर केही हुन्न हामी कसैको गोटी बन्न हुँदैन ।’ वैठकमा चर्को विवाद भएपछि नैतिक संकटमा परेका नेपाल र चर्को दबाबमा परेका प्रधानमन्त्री ओली अन्ततः एउटा सहमतिमा पुगेका थिए । एमालेले आधिकारीक रुपमा नै राष्ट्रिय सहमतिको सरकारका लागि पहल भए स्वीकार्ने तर त्यो एमालेको नेतृत्वमा हुनुपर्ने विज्ञप्ति जारी गरेको थियो ।

यस्तो मध्यमार्गी विज्ञप्ति जारी गराउनका लागि सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले भुमिका खेलेको स्रोतले जनाएको जनप्रहार साप्ताहिकमा खबर छ ।

काठमाडौं, जेठ २५ । डन गणेश लामाले गृहमन्त्री शक्ति बस्नेतसँग यस्तो पहुँच बनाएका छन् कि ? कसैले पत्याउँदैनन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य रहेका लामा उक्त पार्टीमा असुरक्षित महसुस गरेपछि माओवादी छिर्ने तयारीमा लागेका छन् । काभ्रेमा माओवादी नेता लालध्वजमार्फत उनले पार्टीका ठूला नेताहरुसँग भेटघाट गरी सुधार सम्बन्ध बनाएका छन् । ती नेताहरुमार्फत लामाले गृहमन्त्रीसम्म समेत आफ्नो पहुँच बनाइसकेका छन् । अवैध गतिविधिमा संलग्न व्यक्तिहरुको संगत र प्रभावकै कारण मन्त्री बस्नेत माओवादी मन्त्रीहरुमध्ये सबैभन्दा अलोकप्रिय भएका छन् । प्रचण्डकै निकट भएकाले मात्र अहिलेसम्म उनको पद बचेको माओवादी नेताहरु बताउँछन् ।a

मन्त्री बस्नेत भन्दा पनि उनकी श्रीमती पहाडीले उनी मन्त्री भएको फाइदा धेरै लिएकी छिन् । प्रहरीका सरुवा बढुवादेखि गुप्तचरको भर्नासम्मको डिल खासगरी सशस्त्र प्रहरीको सरुवा र ठेक्का पहाडीले आम्दानीको स्रोत बनेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

२५ जेठ, काठमाडौं ।
वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहनुभएका गुरुङको मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको हो ।

उपचारको क्रममा रहनुभएका गुरुङको मृत्यु पुष्टि उपचार भइरहेको ग्राण्डि अस्पताल र उहाँको परिवारजनले गर्नुभएको हो ।

दिवंगत गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ११ बजेपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई एकसाता अघि अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो ।

उहाँ भारतको मेदान्त अस्पतालमा उपचार गरी गएको चैत १७ गते नेपाल फर्किनुभएको थियो । दार्जिलिङमा १९९४ फागुन १४ मा बुवा उजिर सिंह गुरुङ र आमा रेनुका देवीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँका बुबा र हजुरबुबा देवराज गुरुङ पनि सेनाका जागिरे हुनुहुन्थ्यो । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । उहाँका तीन छोरा र एक छोरी छन् ।

करिव एक हजार गितमा संगीत भर्नुभएका गुरुङले सयौं थुंगा फुलका हामी राष्ट्रिय गानमा संगित भर्नुभएको छ ।

२०१८ सालमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उहाँले सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।

स्मरणीय छ यो गीत भारतविरोधी भएको भन्दै अल इन्डिया रेडियाले प्रतिबन्ध लगाएको थियो । २०२४ सालमा दार्जिलिङबाट नेपाल आउनुभएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नाम सांगीतिक कार्यक्रम गुर्नभएको थियो ।

त्यस लगत्रै राजा मेहन्द्रले राजकीय प्रज्ञाप्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गर्नुभएको थियो ।

२५ जेठ, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आज देखि लागुहुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको छ ।

अब दैनिक दुई समय गरी औसत ९ घण्टाका दरले हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ ।

यस अघि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा लोडसेडिड।हुने गरेको थियो ।

नेपालको हालको विद्युतको माग १ हजार ३ सय ५० मेघावाट दैनिक रहेकोमा हाल दैनिक ७०० मेगावाट देखि ७ सय ५० मेघावाट सम्म विद्युत् आपूर्ति हुँदै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी लोडसेडिङ गर्ने जनाएको छ ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिनुभयो ।

२५ जेठ, काठमाडौं ।
नेपाल भ्रमणमा रहुनु भएका चिनिया जनमुक्ति सेनाका उपप्रमुख एडमिरल सुन जाड.वाओले आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री भिम रावल संग शिष्टाचार भेट गर्नु भएको छ ।

रक्षा मन्त्रालय भएको दुई पक्षीय भेटमा नेपाल र चीनको आपसी सम्बन्ध,आपसी सहयोग, कुटनीति तथा रक्षा क्षेत्रका सहयोग आदान प्रदान लगायतका विषयहरुमा छलफल भएको थियो ।

भेटका क्रममा उपप्रधानमन्त्री एवं रक्षा भिम रावलले भुकम्पको बेला चिनिया जनमुक्ति सेनाले नेपालमा पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।

भेटमा अवसरमा चिनिया जनमुक्ति सेनाका उपप्रमुख सुनले चीन सरकार नेपालको असल क्षिमेकीको हिसाबले नेपाललाई संधै सहयोग गर्ने र पुर्ननिर्माण लगायतका अन्य सहयोगका लागि सधै तयार रहेको बताउनु भयो ।

भेटका क्रममा दुबै पक्ष बीच आपसी सम्बन्धका विभिन्न विषयहरुमा छलफल भएको र एडमिरल सुनले चिनका राष्ट्रपति सिजिन पिड. यसै बर्ष भित्र नेपालको भ्रमण गर्न इच्छुक रहनु भएको बताउनु भएको रक्षा सचिव महेश दाहालले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

२४ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्नेतर्फ लाग्न युवाहरुलाई आग्रह गर्नु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औ राष्ट्रिय महाधिवेशनको आज काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन नभनि आत्मनिर्भर र पौरखी वन्न युवालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको र त्यसका लागि घरेलु तथा साना उद्योग, कृषि, र पर्यटन क्षेत्रमा युवा वर्गलाई आकर्षित गर्न जोड दिएको वताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा परनिर्भता अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको वताउनुभयो ।

२४ जेठ,काठमाडौं । नयाँ शक्ति नेपालले ३० गतेको रंगशालाको पार्टी घोषणा राष्ट्रिय भेलामा ट्राफिक जाम नहुनेगरी र्याली व्यवस्थापन गर्ने जनाएको छ । सोमबार पार्टी कार्यालय बबरमहलमा बसेको राजधानीमा उपलब्ध केन्द्रीय परिषद सदस्यहरुको बैठकले जेठ ३० गतेको पार्टी घोषणाको दिन सहभागी हुने पचासौं हजार सहभागीहरुलाई व्यवस्थित गर्नेबारे छलफल गरेको हो ।

‘जनशक्ति प्रदर्शन गर्ने नाउँमा हजारौं जनतालाई दुःख दिने गरी ट्राफिक नै अस्तव्यस्त बनाउने पुरानो प्रचलनलाई फेर्ने तयारीमा छौं,’ जनपरिचालन उपसमिति संयोजक गंगा श्रेष्ठले भन्नुभयो, ‘हाम्रा झाँकी हुन्छन्, र्याली हुन्छन्, तर ट्राफिक जाम नहुनेगरी व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं ।’

बैठकमा घोषणा सभापछिको फोहोर व्यवस्थापन, व्यवस्थित कार्यक्रम, मञ्च व्यवस्थापनलगायतका विषयमा कुराकानी भएको श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टी घोषणा राष्ट्रिय भेला आम जनता र कार्यकर्ताको उत्सवको रुपमा आयोजना गर्न लागिएको भन्दै सोही अनुसार तयारी गर्न नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले निर्देशन दिनुभयो । ‘यसलाई इतिहासमा पनि सम्झनलायक भेला बनाऔं, गम्भीरतापूर्वक काममा जुटौं,’ भट्टराईले निर्देशन दिँदै भन्नुभयो ।

‘फोहोर नगर्ने कुरा, सफा गर्ने कुरा, ट्राफिक जाम नगर्ने कुरा साना कुरा हुन्,’ संयोजक भट्टराईले भन्नुभयो, ‘तर सानातिना कुरा पनि महत्वपूर्ण हुन्छ र यसबाट नै इतिहास निर्माण सुरुवात हुन्छ ।’ उहाँले नयाँ शक्तिको गतिविधि युगान्तकारी र गेम चेन्जर होस् भन्ने जनचाहना रहेको भन्दै सानातिना कुरादेखि संसारलाई विचार दिनेसम्मको महान काम नयाँ शक्तिले गर्नुपर्नेमा जोड दिनुभयो ।

२४ जेठ, तुलसीपुर ।

दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको गएराति मुत्यु भएको छ ।

उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुर पु¥याइएका सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफलता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ग१ज ५५६० नम्बरको जीप दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

२५ जेठ, काठमाडौं ।
अन्तराष्ट्रिय स्तरमा धितोपत्रको हितमा कार्यगर्दै आएको Association of National Numbering Agencies (ANNA) अन्नाको नेपाल ९२ औं सदस्य भएको छ ।

यही जेठ २१ गते आर्मेनियमा सम्पन्न अन्नाको वार्षिक साधारण सभाले नेपाल धितोपत्र वोर्डलाई सदस्यता प्रदान गरेको हो ।

ब्ल्ल्ब्को सदस्यभएवाट नेपाली धितोपत्र बजारको विश्वभरका लगानीकर्ताहरु माझ पहिचानहुने, वित्तीय साधनको पहिचान सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको विकासको अवसर प्राप्तहुने, अन्य सदस्यको तथ्याङ्कहरुमा सहजपहुंच हुने र नेपालको धितोपत्र बजारको अन्तर्राष्ट्रियकरण भई स्तर अभिवृद्धि हुने नेपाल धितोपत्र वोर्डद्वारा सोमवार जारी विज्ञप्तिमा जनाएको छ ।

वोर्डका अनुसार ANNAले विश्वधितोपत्र सम्बन्धी उद्योगको फाइदाको लागि विश्वमा उपलब्ध धितोपत्रको चिनारी दिने, धितोपत्र तथा अन्यवित्तीय साधनहरुको विश्वस्तर विकास तथा प्रवद्र्धन गर्ने, यर्थार्थ तथा गुणस्तरीय प्रयोगलाई सुनिश्चित गर्ने लगायतका महत्वपूर्ण कार्यहरुगर्दै आएको छ ।

काठमाडौं, जेठ २४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काम नगरी तलब मात्र बुझ्ने प्रशिक्षकको तलब रोक्का हुने बताएका छन् ।

सातौं राष्ट्रिय खेलकुद र नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं सागको आयोजनालाई कसरी प्रभावकारी, व्यवस्थित र उपलब्धीमूलक बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न आयोजित अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने– ‘जुन प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण नै नगराइ हाजिर गरेको भरमा तलब मात्र बुझ्छन् ति प्रशिक्षकको हाजिर र तलब रोक्का हुन्छ ।’

सदस्य–सचिव विष्टले प्रशिक्षण नगराउने प्रशिक्षकको रिपोर्ट सम्बन्धित निकायमा बुझाउन समेत क्षेत्रीय प्रशिक्षण प्रमुखलाई निर्देशन दिदै खेलाडीलाई प्रशिक्षणको वातावरण मिलाउन सकेसम्म कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न तीनदिने अन्तरक्रियामा विभिन्न २३ खेलका प्रमुख प्रशिक्षक र पाँच क्षेत्रका क्षेत्रीय प्रशिक्षण प्रमुखहरुको उपस्थिति रहेको थियो ।

२०५४ सालपछि पहिलो पटक यस्तो अन्तरक्रिया आयोजना गरिएको विभागका निर्देशक नवीन उप्रेतीले जानकारी गराए । निर्देशक उप्रेतीले अन्तरक्रियाबाट आएका सुझावलाई समेटी पुस्तक तयार गरी हरेक जिल्ला र क्षेत्रमा पठाइने जानकारी दिए ।

अन्तरक्रियामा सहभागीबाट राष्ट्रिय टिमको विकल्पका रुपमा अर्को टिम पनि तयार गर्नु पर्ने, दीर्घकालीन योजनाको आवश्यकता, खेलेर मात्र पदकको सम्भावना नभएकोले वैज्ञानिक प्रशिक्षणमा जोड दिनु पर्ने, दैनिक प्रशिक्षणका लागि खेल सामाग्रीको व्यवस्थापन, कराते र क्रिकेटलाई १३ औं सागमा समावेश गराइनु पर्नेलगायतका सुझाव प्राप्त भएको बताइएको छ ।

निर्देशक उप्रेतीले हरेक जिल्ला र क्षेत्रको समस्या पहिचन गर्न यस्तो कार्यक्रम महत्वपूर्ण भएको बताउदै प्राप्त सुझावलाई कार्यन्वयन गर्न अभाव र दबावबाट मुक्त हुनु पर्नेमा जोड दिए ।