१७ कार्तिक, कास्की ।
कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ ।

मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिनुभयो ।

विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव–स्टेसनमा जोडिएका उपकरणको समेत परीक्षण गरिने उहाँले बताउनुभयो ।

परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मङ्सिर अन्तिमदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएको छ । उक्त आयोजनाको लागत करिब रु पाँच अर्ब २८ करोड रहेको छ । विसं २०६९ पुसबाट आयोजना निर्माण सुरु गरिएको थियो ।

19.12¡ÆC