३० असोज, चितवन ।
पवित्र तिर्थस्थल देवघाटधाममा कुकुरको बलि दिइएको छ । देवघाटको तनँहुपट्टि वेणी संगम स्थल नजिकै रहेको अघोरी बाबाको आश्रममा दशैको अष्टमीका दिन बलि दिइएको खवर सार्वजनिक भएको छ ।

देवघाटमै बस्दै आएका अखण्ड बाबा ले पञ्चबलीको नाममा डुलुवा कुकुरलाई समातेर स्थानीय माइला भन्ने शंकर बोटेलाई काट्न लगाएको स्थानीय सोम बोटेले जानकारी दिए ।

उनी देवघाटमा बस्दै आएको करिब १० बर्ष भएको बुझिएको छ ।

शंकरले आफुले अखण्ड बाबाले भनेर कुकुर काटेको र अघोरी बाबाको आश्रममा कुकुरको खुन चढाएको स्वीकार गरेको उनले बताए । बलि दिइएको कुकुरलाई आश्रम नजिकै गाडीएको छ ।

कुकुर गाडीएको क्षेत्रमा स्थानीय प्रशासनले ४ जना प्रहरी खटाएको छ । के कारणले कुकुरको बलि दिइएको भन्नेबारे भने केही खुलेको छैन ।

यसरी कुकुरको बलि दिइएको यो पहिलो पटक हो । यस्ता घटनाले विकृति बढ्ने भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ । देवघाट क्षेत्रविकास समितीले यसबारेमा छलफल गर्न आज सर्वदलिय बैठक आवहन गरेको छ ।

“कुकुरको बलि दिएको कुरा जानकारी आएको छ , देवघाट क्षेत्रविकास समितीका अध्यक्ष टंकनाथ पौडेलले भने, अनुसन्धान हुदैंछ , तथ्य कुरा आएपछि धार्मिक क्षेत्रको आचारसंहिता अनुसार समिती अगाढी बढ्छ ।”

पौडेल अध्यक्ष भएसंगै देवघाट क्षेत्रलाई मासं मदिरा निषेधित क्षेत्र बनाउने अभियानको गृहकार्यमा जुटेका छन् । धार्मिक क्षेत्रलाई कसरी शुद्धता ल्याउने भन्ने बारे गृहकार्य भइरहेका बेला दशैको अवसर पारेर कुकुरको बलि दिइएको खवर आएपछि स्थानीय ससंकित भएका छन् ।

20.12¡ÆC