३१ भदौ, झापा ।
झापामा ११ वटा स्थानीय तह रहने गरी गरिएको पुनर्संरचना प्रस्तावप्रति विभिन्न ११ वटा राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्ट दलहरुले सबैको भावना समेटेर पुनर्संरचना गर्न र अहिले प्रस्ताव गरिएको खाकामा पुनरावलोकन गर्न माग गरेका छन् ।

झापाको बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा आज भएको छलफलमा उनीहरुले स्थानीय तहको पुनर्संरचनाको बारेमा आफ्नो असन्तुष्टिसँगै समाधानको उपाय पनि बताइदिएका छन् । ती दलहरुले आयोगले तोकेको मापदण्ड अनुसार भाषा, संस्कृति, जाति लगायतका दृष्टिले समेत संरक्षित र विशेषक्षेत्र निर्धारण गरेर पहिचानसहितको नामांकन र सबैलाई पायक पर्ने ठाउँमा केन्द्र तोकेर स्थानीय तहको पुनर्संरचना गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

झापामा स्थानीय तहको पुनर्संरचनाको विषयमा असन्तुष्ट दलहरुबाट उत्पन्न हुँदै गरेको परिस्थितिलाई सहज बनाउँदै शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने विषयमा संवाद समूह ले छलफलको आयोजना गरेको हो ।

विज्ञसहित वैज्ञानिक ढंगले झापाको स्थानीय तहको पुनर्संरचना गर्दा आफूहरुको पनि समर्थन र सहयोग रहने उनीहरुको धारणा छ । राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, तमलोपा,सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी , राष्ट्रिय जनमुक्ति पार्टी , नेपाल सद्भावना पार्टी , मधेसी जनअधिकार फोरम गणतान्त्रिक , संघीय लिम्बुवान पार्टी नेपाल ,संघीय लिम्बुवान मञ्च नेपाल लगायलका दललेसाना दल र असन्तुष्ट पक्षको समेत भावना समेटेर वैज्ञानिक ढंगको पुनर्सरचना हुनुपर्ने धारणा राखे ।

आदिवासी जनजाति महासंघले समेत असन्तुष्टि जनाएको छ । झापामा दलहरुले अहिलेसम्म स्थापित गरेको मान्यता र राजनीतिक संस्कार अनुसार सबै दलको सहमतिमा मात्र स्थानीय तहको पुनर्संरचनाको खाकाबारे निर्णय गरी आयोगमा प्रस्ताव गर्न ती दलहरुले जोड दिएको बताइएको छ ।

17.37¡ÆC