
नुवाकोट । भोटेकोसी बाढीपछि त्रिशूली नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको नुवाकोटको देवीघाटस्थित तुइन चाडपर्वको समयमा समेत सञ्चालनमा नआउँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ।
विदुर नगरपालिका–५ देवीघाट र विदुर नगरपालिका–३ खङ्गभञ्ज्याङका बासिन्दालाई त्रिशूली नदी वारपार गर्न सहज बनाउने विकल्पका रूपमा रहेको उक्त तुइन दशैँ सुरु हुन लागेदेखि बन्द छ। दशैँको मध्य समयदेखि नै सञ्चालनमा नरहेको तुइन अहिलेसम्म पनि सञ्चालनमा नआउँदा स्थानीयवासी प्रभावित भएका छन्।
तुइन सञ्चालनमा हुँदा जोखिमपूर्ण भए पनि नदी वारपार गर्न केही सहज भएको थियो। तर, तुइन बन्द भएपछि यस क्षेत्रका बासिन्दा मैरीटारस्थित पुल तथा सिँचाइको पुलनजिक रहेको मोटरबेल तुइनसम्म पुग्नुपर्ने बाध्यतामा छन्। यसले स्थानीयको दैनिक आवतजावतलाई थप कष्टकर बनाएको छ।

देवीघाटमा सञ्चालित तुइन । उक्त तुइन दशैँ लागेपछि हाल बन्द अबस्थामा रहेको छ ।
स्थानीयवासीका अनुसार तुइन सञ्चालनबारे बुझ्दा लठ्ठा खिइएको, झुन्ड्याउने क्लिप खिइएको लगायतका समस्या देखाउँदै सञ्चालनमा ल्याउन नसकिएको बताउने गरिएको छ। तर, तुइनको अवस्था, मर्मतसम्भार र पुनः सञ्चालनबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी आउन सकेको छैन।
उक्त तुइनको रेखदेख तथा व्यवस्थापनको जिम्मेवारी रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले समेत यस विषयमा स्पष्ट जानकारी नदिएको स्थानीयको गुनासो छ। बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको तुइन लामो समयसम्म बन्द रहँदा यसको व्यवस्थापन र सञ्चालनप्रति प्रश्न उठ्न थालेको छ।
‘यस्तो विषम परिस्थितिमा तुइन किन सञ्चालन भएन? जनताले कहिलेसम्म सास्ती खेप्नुपर्ने?’ स्थानीयवासीको प्रश्न छ।
सम्बन्धित निकाय र जनप्रतिनिधिले तुइनको अवस्थाबारे स्पष्ट पार्दै आवश्यक मर्मतसम्भार गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउन तत्काल पहल गर्नुपर्ने देखिएको छ।
21.77¡ÆC