भोटेकोसी बाढीबाट प्रभावित ४६ परिवारलाई गतिशील अभियान नेपालको गैरखाद्य सहायता

कार्तिक २३, २०८३ मा प्रकाशित | 23 views

भोटेकोसी बाढीबाट प्रभावित ४६ परिवारलाई गतिशील अभियान नेपालको गैरखाद्य सहायता

नुवाकोट । गत भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका सूर्यगढी र लिखु गाउँपालिकाका मृतक तथा बेपत्ता परिवारलाई गतिशील अभियान नेपालले गैरखाद्य सहायता सामग्री वितरण गरेको छ।

बेलायतमा रहेका नेपाली व्यवसायी रविना खेतानी, हिमांशु खेतानी, सिम्रन खेतानी, श्रेया खेतानी र अनिल राजभण्डारीको पहलमा संकलित सहयोगबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा आवश्यक सामग्री उपलब्ध गराइएको हो।

सहयोग सामग्रीअन्तर्गत भरिएको ग्यास सिलिन्डर, ग्यास चुलो, डसना, ब्ल्याङ्केट, तकिया, बेडसिट तथा तन्नालगायत सामग्री रहेका छन्।

अभियानअन्तर्गत लिखु गाउँपालिकाका १७ परिवारलाई गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको उपस्थितिमा सहायता सामग्री हस्तान्तरण गरिएको छ। त्यसैगरी, सूर्यगढी गाउँपालिकाका २९ परिवारलाई गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेको उपस्थितिमा सामग्री वितरण गरिएको हो। दुवै गाउँपालिकाका गरी कुल ४६ परिवारले सहायता प्राप्त गरेका छन्।

सहायता वितरण कार्यक्रममा गतिशील अभियान नेपालका अध्यक्ष रामजी पौडेल, उपाध्यक्ष सुमन महर्जन, गोविन्द गिरी तथा सरिता आचार्यको उपस्थिति रहेको थियो।

आगामी दिनमा पनि प्रभावित परिवारको आवश्यकता पहिचान गरी अन्य प्रभावित क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने गतिशील अभियान नेपालका सदस्य समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो।

विपद्को पीडामा परेका परिवारलाई राहत पुर्‍याउन आफ्नो सीमित आम्दानीबाट समेत सहयोग जुटाउने बेलायतस्थित नेपाली व्यवसायी तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति अभियानले हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web