‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

अशोज ५, २०८३ मा प्रकाशित | 14 views

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
–रामहरि न्यौपाने
नुवाकोट । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा हुनुहुन्थ्यो । त्रिशूली नदीको किनारबाट केही दुरी पर घर भएकाले नदीमा ठूलो बाढी आएपनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उहाँलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाएपनि त्यसले निम्त्याउन सक्ने विपत्तिको आकार उहाँले अनुमान गर्न सक्नुभएन ।
घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोसीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पु-याएको छ । ठूलो बाढी तीव्र गतिमा अघि बढिरहेको छ । तपाईंहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस् । ढुङ्गे चोकभन्दा अझ माथि जान अनुरोध गर्दछौँ ।” माइकिङ गर्ने प्रहरी हबल्दार अर्जुन न्यौपानेलाई चिन्नुभएका उहाँले प्रहरीको नजिकै पुगेर सोध्नुभयो, “बाढी धेरै ठूलो हो ?” जवाफ आयो, “हो, धेरै ठूलो छ ।”
तर, ‘धेरै ठूलो’ भन्ने चेतावनीले बाढीको वास्तविक भयावहता उहाँको मनमा उतार्न सकेन । “नतिनी विद्यालय जाने बेला भएको थियो । सबैजना सगैँ निस्कनुपर्ला भन्ने लाग्यो ।” प्याकुरेलले भन्नुभयो ।
त्यसपछि उहाँ परिवारका सदस्यसँगै घरबाट निस्कने तयारीमा लाग्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक गतिमा फैलियो । बाढीले घरलाई चारैतिरबाट घे-यो । केही मिनेटमै ढुङ्गे बजार र आसपासका घरबस्ती बाढीको भेलमा परिणत भए ।
घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे । बाढीको भेलबीच ज्यान जोगाउन सफल उहाँको घर अहिले ‘हरियो घर’का रूपमा परिचित छ ।
“सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन ।” उहाँले भन्नुभयो ।
बाढी हेर्न नदीतर्फ जाँदा आफैँ भेलमा :
विदुर–१० वेत्रावतीका शशी डंगोलले पनि टिमुरेमा बाढीले क्षति पु-याएको केही समयमै साथीमार्फत ठूलो बाढी आउँदै गरेको सूचना पाउनुभएको थियो । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस् । धेरै ठूलो बाढी आउँदैछ ।”
चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाउनुभएका डंगोल सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गर्नुभयो ।
तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहनुभएका उहाँ स्वयं भने बाढीको अवस्था हेर्न
नदी किनारतर्फ लाग्नुभयो । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उहाँलाई घे-यो । “बाढी हेर्न नदीतर्फ जाँदै थिएँ । एक्कासि चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेण्डले ज्यान बच्यो ।” डंगोलले भन्नुभयो ।
बाढीमा परेर उहाँको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाई र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उहाँलाई पीडा दिएको छ ।
“आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन”, भावुक हुदैँ उहाँले भन्नुभयो । “ठूलो बाढी त आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने थाहा भएन ।”
अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएः
रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । भूकम्पपछि विस्थापित भएपछि उहाँ पछिल्ला १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदी किनारको खाल्डेमा बस्दै आउनुभएको थियो ।
भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उहाँ खाल्डे र नजिकैको सातबिसेमा बस्ने दुई सय ५० भन्दाबढी परिवारसम्म खबर पु-याउन दौडिनुभयो । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट पनि नबित्दै बाढी बस्तीमा आइपुग्यो ।
उहाँले भेलबाट भागेर ज्यान त बचाउनुभयो, तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाउनुभयो । उक्त वस्तीका एकसय भन्दाबढी हराइरहेका छन् ।
“ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते) को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास नै फेर्न नपाउदैमा छोपिहाल्यो ।” तामाङले भन्नुभयो ।
सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन :
भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्र गतिमा फैलिएको थियो । टिमुरेबाट बाढीको सूचना त्रिशूली नदी किनारका बासिन्दासम्म पुगे पनि त्यसले पु-याउने क्षतिको अनुमान कल्पनाभन्दा धेरै गुणा ठूलो बन्यो ।
विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार विसं २०१८ सालतिर पनि त्रिशूलीमा ठूलो बाढी आएको कुरा हजुरबुबाबाट सुन्नुभएको थियो । तर, त्यसबेला मानवीय भएन, भौतिक क्षति सामान्य रहेको उहाँको स्मरण छ ।
“हजुरबुबाले २०१८ सालमा पनि ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब तीन सय मिटर पर र झण्डै एक सय मिटर उचाइमा रहेको मेरो चार रोपनी धान खेत बगर बनायो ।” श्रेष्ठले भन्नुभयो ।
बाढी आउँदैछ भन्ने खबर थाहा पाएपनि यती ठूलो विध्वंस होला भन्ने धेरैलाई लागेन ।  टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीले निमेषभरमै सिध्यायो ।
  नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भएपनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको थियो ।
उहाँका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
“सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भन्नुभयो “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्ने मात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ ।”
भदौ १० को बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरेपनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउने बित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web