
काठमाडौँ । माथिल्लो त्रिशूली–१ को सुरुङभित्र थप ५ वटा शव भेटिएका छन् ।
योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ । यसअघि त्रिशूली–१ को अडिट–३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव भेटिएका थिए ।
त्यसपछि निरन्तर खोजीकैक्रममा ७ वटा र बेलुका ५ वटा गरी भेटिएका शवको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट झण्डै साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोला अडिट–३ को झण्डै १०० मिटरभित्र सुरूङमा शव फेला परेका हुन् ।
भदौ १० मा बाढी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण छैन । फेलापरेका शवको पहिचान तथा सनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो ।
27.12¡ÆC