भैरवी फर्निसिङ्ग सेन्टरको समन्वयमा बाढी प्रभावितलाई राहत वितरण

भदौ २८, २०८३ मा प्रकाशित | 7 views

भैरवी फर्निसिङ्ग सेन्टरको समन्वयमा बाढी प्रभावितलाई राहत वितरण

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको छ।

विदुर नगरपालिका–२ बट्टारस्थित भैरवी फर्निसिङ सेन्टरका सञ्चालक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व कृष्णप्रसाद भट्टको समन्वयमा विभिन्न स्थानका सहयोगी दाता तथा संस्थाको संयुक्त पहलमा बाढी प्रभावित परिवारलाई अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराइएको हो।

बाढीबाट प्रभावित ४७ परिवारलाई भान्सामा प्रयोग हुने किचेन टेबल उपलब्ध गराउनुका साथै उक्त टेबल बसोबास गर्ने स्थानसम्म लैजान ढुवानी भाडाबापत प्रतिपरिवार एक हजार रुपैयाँ नगदसमेत उपलब्ध गराइएको छ।

बाढीपछि विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका प्रभावित परिवार स्थायी तथा अस्थायी रूपमा कोठा लिएर बस्न थालेका अवस्थामा भान्साका लागि आवश्यक किचेन टेबल उपलब्ध भएपछि राहत प्राप्त गर्ने परिवारले खुसी व्यक्त गरेका छन्। बाढीका कारण घर तथा घरायसी सामग्रीमा क्षति पुगेपछि नयाँ स्थानमा बसोबास गर्न थालेका प्रभावित परिवारका लागि दैनिक जीवनमा आवश्यक पर्ने सामग्री सहयोगी बनेको उनीहरूको भनाइ छ।

त्यस्तै, सात परिवारलाई भान्सामा आवश्यक पर्ने भाँडावर्तनसमेत उपलब्ध गराइएको छ। बाढीमा आमाको मृत्यु भएपछि स्तनपानबाट वञ्चित भएका एक जना नाबालकका लागि ल्याक्टोजिन उपलब्ध गराउनुका साथै बालकका संरक्षकलाई नगद दुई हजार रुपैयाँसमेत सहयोग गरिएको छ।

उक्त नाबालकका लागि आवश्यक ल्याक्टोजिन आगामी दिनमा पनि निरन्तर उपलब्ध गराइने लायन्स इन्टरनेशनल ३२५–केका जोन चियरपर्सन तथा भैरवी फर्निसिङ सेन्टरका सञ्चालक कृष्णप्रसाद भट्टले जानकारी दिनुभयो।

बाढी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन लायन्स इन्टरनेशनल ३२५–केका जोन चियरपर्सन कृष्णप्रसाद भट्ट र रिजन चियरपर्सन रोजिता वस्तीको अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाबाट आवश्यक सहयोग संकलन गरिएको थियो।

राहतका लागि नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मञ्जिल बाबु मास्के, फेनफिट नेपालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रजापती, द्वितीय उपाध्यक्ष प्रकाश रायमाझी, कोषाध्यक्ष कालीमान खत्री तथा सहकोषाध्यक्ष रेशमराज ज्ञवालीले नगद सहयोग उपलब्ध गराउनुभएको थियो।

त्यस्तै, सात परिवारलाई खाद्यान्नसहितको राहत सामग्री उपलब्ध गराउन लायन्स क्लब अफ सिलिगुढी गो गेट्सले सहयोग गरेको थियो।

यसैगरी, बाढीबाट प्रभावित १० जना विद्यार्थीका लागि आवश्यक स्टेशनरी सामग्रीसमेत उपलब्ध गराइएको छ। बालबालिकालाई आवश्यक स्टेशनरी सामग्री नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ नुवाकोटका अध्यक्ष एवं समीर स्टेशनरीका सञ्चालक बासुदेव गजुरेलले उपलब्ध गराउनुभएको हो।

लायन्स इन्टरनेशनल ३२५–केको तर्फबाट बाढीपछि नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्रीसमेत वितरण गरिएको छ। बाढी आएको केही समयदेखि नै विदुर नगरपालिकाको त्रिशूली नदी वारिपारिका प्रभावित क्षेत्रमा लायन्स इन्टरनेशनल ३२५–केका जोन चियरपर्सन कृष्णप्रसाद भट्टको पहलमा राहत सामग्री उपलब्ध गराइएको हो।

बाढीबाट प्रभावित नागरिकको तत्कालको आवश्यकता पूरा गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउँदै जोन चियरपर्सन भट्टले आगामी दिनमा पनि थप दाताबाट सहयोग जुटाएर अति आवश्यक सामग्री प्रभावित परिवारसम्म पुर्‍याउने बताउनुभएको छ।

बाढीका कारण घर, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री गुमाएका प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web