जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

भदौ १८, २०८३ मा प्रकाशित | 6 views

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।

नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन । खोज तथा उद्धारको प्रयास निरन्तर भैरहेको नेपाली सेनाले जनाएको छ ।

लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ । आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ ।

परियोजनाका ४१ जना सम्पर्कविहीन छन् । यस्तै ३०० भन्दा धेरै सुरुङमा फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट ४४ जनाको टोली हिजो आइपुगेको छ ।

नेपाली सेनाको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । हिजो दिनभर हेडवक्र्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ । त्रिशूली ३ ‘ए’मा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन । नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ ।

यो सुरुङभित्र ३५ जना फसेको अनुमान छ । यस्तै २१३ जना सम्पर्कविहीन भएको त्रिशूली ३ ‘बी’मा आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसक्षेत्रमै खोजी भएको सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ शुरु गरिएको छ । यस सुरुङमा ८ जना सुरुङमा फसेको अनुमान गरिएको छ ।

निरन्तरको वर्षाले नदीमा पानीको सतह बढिरहेकाले उद्धारमा सोचेअनुरूप प्रगति हुन नसकेको चिलिमे जलविद्युत् कम्पनीले जनाएको छ । यसअघि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा २५० मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत्गृहतर्फ खोजी थालिएको छ ।

९३ जना सम्पर्कविहीन भएको यहाँ नेपाली सेनासँगै चिनियाँ टोलीले पनि काम गरिरहेको छ । सातजना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web