कला, संस्कृति र साहित्यको संरक्षणमा नगरपालिकाको सहयोग निरन्तर रहन्छ : नगरप्रमुख श्रेष्ठ

भदौ ५, २०८३ मा प्रकाशित | 13 views

नुवाकोट । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले स्थानीय कला, संस्कृति, साहित्य र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि नगरपालिकाले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ।

सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा आज विदुर नगरपालिका–५, पिपलटारस्थित गुडविल एकेडेमीमा आयोजित अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले कला, संस्कृति र साहित्य समाजको पहिचान भएकाले यसको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

“नगरबासीको सर्वाङ्गीण विकास भनेको भौतिक विकास मात्र होइन, हाम्रो कला, संस्कृति, साहित्य र परम्पराको संरक्षण पनि हो। नगरपालिकाले यी क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्य आगामी दिनमा पनि निरन्तर रहन्छ,” उहाँले भन्नुभयो।

सुन्दरादेवी सन्देश साप्ताहिक तथा प्रकाशक किरणप्रसाद अधिकारीको पहलमा विगतमा भएका विभिन्न रचनात्मक तथा सामाजिक गतिविधिमा नगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्दै श्रेष्ठले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि नगरपालिका सकारात्मक रहने बताउनुभयो।

कार्यक्रममा उहाँले विदुर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। आफू निर्वाचित भएर आएपछि ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ अभियान सञ्चालन गर्नुका साथै विद्यालय समायोजन तथा मर्जमार्फत शैक्षिक गुणस्तर सुधारको प्रयास गरिएको उहाँले बताउनुभयो।

“हामीले विद्यालयको संख्या बढाउनेभन्दा पनि विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउन जोड दिएका छौँ। कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाले विद्यालयको वास्तविक शैक्षिक अवस्था पहिचान गर्न सहयोग गरेको छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार विगतमा करिब ३९ प्रतिशत रहेको नगरस्तरीय परीक्षाको उत्तीर्णदर अहिले दोब्बर बनाउन नगरपालिका सफल भएको छ।

शिक्षाको गुणस्तर सुधारमा सामुदायिक र संस्थागत दुवै विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै श्रेष्ठले संस्थागत विद्यालयको शुल्क निर्धारणलाई पनि व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

“संस्थागत विद्यालयको शुल्क निर्धारणमा विद्यालयको स्तर र उपलब्ध सेवाका आधारमा वैज्ञानिक वर्गीकरण आवश्यक छ। यस विषयमा नगरपालिकाले सकारात्मक भूमिका खेल्दै आएको छ र आगामी दिनमा पनि आवश्यक पहल गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ लगायत अतिथीहरुः

लोकनृत्य प्रतियोगिताले विद्यार्थीमा आफ्नो मौलिक कला, संस्कृति र परम्पराप्रति रुचि तथा अपनत्व बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका अध्यक्ष, प्याब्सन नुवाकोटका पदाधिकारी, स्थानीय तथा राष्ट्रियस्तरका कलाकार, सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web