बाढी प्रभावितको पुनर्लाभ र पुनर्स्थापनाका लागि रेडक्रस र विदुर नगरपालिकाबीच साझेदारी

अशोज २८, २०८३ मा प्रकाशित | 12 views

बाढी प्रभावितको पुनर्लाभ र पुनर्स्थापनाका लागि रेडक्रस र विदुर नगरपालिकाबीच साझेदारी

नुवाकोट, असोज २८ । नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच गत भदौ १० गतेको बाढीबाट प्रभावित समुदायको प्रतिकार्य, पुनर्लाभ तथा पुनर्स्थापनाका लागि साझेदारी सम्झौता भएको छ।

बाढी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्लाभ र पुनर्स्थापनामा सहयोग गर्ने तथा भविष्यमा हुन सक्ने विपद् र जलवायुजन्य जोखिमप्रति समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

बुधबार विदुर नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषीरमण खनाल, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौताअनुसार बाढी प्रभावित परिवारलाई स्वास्थ्य सहायता, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास तथा आश्रय, जीविकोपार्जन र आर्थिक पुनर्लाभ, नगद सहायता तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहयोग गरिनेछ। साथै, विपद् पूर्वतयारी र समुदायको उत्थानशीलता अभिवृद्धिका कार्यक्रम समेत सञ्चालन गरिनेछ।

रेडक्रसले बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारमा रहेका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। यसैगरी, दुई हजार घरधुरीलाई बहुउद्देश्यीय नगद सहायतास्वरूप प्रतिघरधुरी १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

त्यस्तै, एक हजार परिवारलाई जीविकोपार्जन पुनर्स्थापना सहायता, दुई हजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नहुँदासम्म घरभाडा सहायता र छ सय घरधुरीलाई संक्रमणकालीन आवासको व्यवस्था गरिनेछ।

बाढीबाट क्षतिग्रस्त खानेपानी प्रणालीको पुनर्स्थापनालाई समेत प्राथमिकता दिइनेछ। रेडक्रसले प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइन मर्मत गर्नुका साथै विदुर, बुधसिंघाट, सिर्खाली र महारानीडिही क्षेत्रमा ३० हजार जनसङ्ख्या लाभान्वित हुने गरी खानेपानी प्रणालीको मर्मत तथा पुनर्स्थापना गर्नेछ।

सम्झौताअन्तर्गत स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापना, आधारभूत तथा आपत्कालीन स्वास्थ्य सेवा, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनर्स्थापना, शिविर व्यवस्थापन र प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोगलगायतका कार्यक्रम पनि सञ्चालन गरिनेछन्।

सम्झौताअन्तर्गतका कार्यक्रमको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा उहाँले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ।

साझेदारीबाट बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा दीर्घकालीन पुनर्स्थापनामार्फत प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

-रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web