उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण

सोल, चैत १९ । उत्तर कोरियाले पुनः अर्को आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको आणविक विवादको समाधान खोज्नका लागि  विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो। 
 
दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो। उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ।  उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो। शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तरले केही प्रतिक्रिया दिएको छैन।  दक्षिण कोरियाको पूर्वी नगर सान्दोकबाट शुक्रबार अपरान्ह १२.४५ बजे उत्तर कोरियाले सो परीक्षण गरेको दक्षिणको रक्षा मन्त्रालयले जानकारी दिएको छ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबारमात्र संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी मापदण्डको प्रयोगगरी उत्तरलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएका थिए।  उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ। उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ। 
 
केही हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो। सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो।  उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिण कोरियाले बताउँदै आएको छ। रासस/एएफपी

प्रतिक्रिया

TOP