घ्याङस्वारा अर्गानिक चियाको मूल्य प्रतिकेजी ६ हजार निर्धारण

-रामहरि न्यौपाने,
लाकुरीभञ्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको प्रति किलोग्राम रु छ हजार मूल्य निर्धारण गरिएको छ ।

पञ्चकन्या–४ घ्याङस्वारा स्थित बाझो जग्गालाई कृषि योग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसगैँ तयारी चिया प्रतिकेजी रु छ हजार शुल्क तोकिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार स्थानीय सरकार सञ्चालन ऐन अन्तरगत बनाइएको ‘घ्याङस्वारा अर्गानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ, मूल्य निधारण, विक्री तथा वितरण सम्बन्धि कार्यविधि–२०८३’ अनुसार चियाको मूल्य निर्धारण गरिएको हो ।

“घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियाका बिरुवा मध्ये करिब १३ हजार बोटबाट उत्पादन सुरु भएको छ ।” अध्यक्ष तामाङले भन्नुभयो “अर्थोडक्स र अर्गानिक चियाको गुणस्तर सहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको माग लगायतलाई मध्येनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुला भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन र यस अन्तरगत बनेको कार्यविधिमा उल्लेख भए अनुसार ‘घ्याङस्वारा चिया व्यवस्थापन समिति’ मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समितिका सदस्य सचिव सरोजकुमार खातीले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिलो पटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसगैँ चियाको आर्थिक कारोबार मार्फत पालिकालाई आम्दानीसंग जोड्न व्यावसायिक प्रयोजनको लागी योजना सहितको लक्ष्य लिइएको छ । गाँउपालिकाले उत्पादन गरेको चियाको मूल्य पाचसय ग्रामको रु तीन हजार, दुईसय पचास ग्रामको रु. एक हजार ५००, एकसय ग्रामको रु ६००, पचास ग्रामको रु ३०० र पच्चिस ग्रामको रु १५० उल्लेख गरिएको छ ।

उच्च हिमाली एवम् पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अर्गानिक चियाको अहिलेको बजार मूल्य अनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्य सचिव तथा रोजगार सिप तथा उद्यमशिलता केन्द्रका संयोजक खातीको भनाई छ ।

गाउँपालिकाले गत बैशाखमा यहाँको चियालाई ‘घ्याङस्वारा अर्गानिक चिया’ नाम दिएर सार्वजनिक गरेको थियो । त्यस पश्चात ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रिया पूरा गरेर बजार (उपभोक्ता) मा लैजान मुख्य अबरोध रहेको मूल्य निर्धारण सहितको सञ्चालनको प्रक्रिया पूरा गरेको जनाएको छ ।

पञ्चकन्या–४ स्थित घ्याङस्वाराको तीनसय ३२ रोपनी सार्वजनिक जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा चियाको बिरुवा लगाइएको छ । ती मध्ये अहिले १२ हजार ५० बोटले उत्पादन दिन सुरु गरेको हो ।

चार वर्षअघिसम्म बाझो रहेका तथा झारपातले ढाकिएका यहाँको सार्वजनिक जग्गालाई कृषि योग्य बनाइ जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी सहितको सयौँ स्थानीयवासीको श्रमदानबाट ८३ हजार बिरुवा रोपिएका छन् ।

उत्पादन भएका पातलाई तयारी चिया बनाउन आवश्यक प्रशोधन ककनीमा रहेको चिया तथा कफी विकास कार्यालयले सहयोग पु¥याएको छ ।

समुन्द्री सतहबाट एक हजार ८०० देखि दुई हजार २०० मिटर उचाईमा अवस्थित घ्याङस्वारामा गाउँपालिकाबाट चियाको व्यावसायिक उत्पादन सहित स्थानीय किसानलाई अनुदानमा वितरण गर्न ८४ हजार बिरुवा समेत तयार भएको गाउँपालिकाको उपाध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । यस मार्फत स्थानीय क्षेत्रमा किसानलाई चिया मार्फत रोजगार, कृषिमा आत्मनिर्भर तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने लक्ष्य लिइएको छ ।
– रासस ।

TOP