काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै काठमाण्डाै उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री/वितरण बन्द गरेका छन् ।
धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाडीको लामो लाइन लागेको छ ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टीतेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाएको थियो ।
निगमले भने बजारमा वास्तविक अभाव नरहेको जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जानाजान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव सिर्जना भएको हो । निगमले यस्ता पम्पविरुद्ध तत्काल कारबाही गर्ने प्रक्रिया थालेको उहाँले बताउनुभयो ।
यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वचालित प्रणालीअनुरूप गाडी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । पेट्रोलियम पदार्थको भाउ घटेसँगै महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो ।
प्रतिक्रिया