बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।

प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव ४ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ४१९ दशमलव ५२ हेक्टर अर्थात् १२.५९ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको हो ।

गत वर्षको यही अवधिसम्म बागमती प्रदेशमा २०.५१ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । वर्षामा भएको उतारचढाव र मनसुनी गतिविधिमा देखिएको ढिलाइका कारण रोपाइँको दर गत वर्षको तुलनामा कम देखिएको निर्देशनालयका बाली विकास अधिकृत गणेश भाट क्षेत्रीले जानकारी दिनुभयो । प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले धान रोपाइँ कम भएको उहाँको भनाई छ ।

प्रदेशका १३ जिल्लामध्ये रोपाइँका हिसाबले काठमाडौँ सबैभन्दा अगाडि देखिएको छ । काठमाडौँमा हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उहाँले बताउनुभयो । यस्तै, ललितपुर र भक्तपुरमा ५५–५५ प्रतिशत, काभ्रेपलाञ्चोकमा २६ प्रतिशत, दोलखामा १५ प्रतिशत, रामेछापमा १२ प्रतिशत, सिन्धुपाल्चोकमा १०.२० प्रतिशत, सिन्धुलीमा १०.१६ प्रतिशत, रसुवामा ८.४२ प्रतिशत र नुवाकोटमा ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

क्षेत्रीले दिनुभएको तथ्याङ्क अनुसार प्रदेशका मुख्य धान उत्पादन हुने जिल्लाहरूमा भने रोपाइँको गति भने निकै न्यून देखिएको छ । विशेषगरी चितवनमा ०.४४ प्रतिशत, धादिङमा ०.८५ प्रतिशत र मकवानपुरमा १.१८ प्रतिशत मात्र रोपाइँ भएको छ । वर्षामा भएको उतारचढाव र मनसुनी गतिविधिमा देखिएको ढिलाइका कारण रोपाइँको दर गत वर्षको तुलनामा कम देखिएको उहाँले बताउनुभयो ।

प्रदेशका १३ जिल्लामा कुल ४२६५५६.८ हेक्टर खेतीयोग्य जमिनमध्ये काठमाडौँमा ५९२४, ललितपुरमा ४१६३, भक्तपुरमा २६९९, चितवनमा २७३२४.९ मकवानपुरमा ८४९२.५, नुवाकोटमा १३१३१, रसुवामा १२२३ धादिङमा १११५९, सिन्धुलीमा १३४४५, रामेछापमा ७८५९, दोलखामा २८१४, काभ्रेपलाञ्चोकमा ८६३४ र सिन्धुपाल्चोकमा ७६५६ हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ ।

प्रतिक्रिया

TOP