
धादिङ । नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भट्टेडाँडा ललितपुरको आयोजनामा सदस्यहरूको उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने तालिम सम्पन्न भएको छ।
संस्थामा आबद्ध सदस्यहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य सहित जेठ ३० र ३१ गते बागमती गाउँपालका–३ छपेलीमा र असार १ र २ गते बागमती गाउँपालिका–४ स्थित प्युटारमा ‘सरसफाइ सामाग्री उत्पादन सम्बन्धी” सञ्चालन गरिएको तालिम सहभागिहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ। दुई स्थानमा सञ्चालन गरिएको तालिमबाट एकसय तीन (103) जनाले सिप सिकेर आफै व्यावसाय सुरु गर्न सक्ने भएका छन् ।

तालिममा सहभागी सदस्यहरूले झोल साबुन, सरफ तथा हार्पिक लगायत दैनिक प्रयोगमा आउने सरसफाइका सामग्री उत्पादन गर्ने व्यावहारिक सीप हासिल गरेका छन्। सहभागीहरूलाई सामग्री उत्पादनका विधि, गुणस्तर कायम गर्ने तरिका, लागत व्यवस्थापन तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी गराइएको शाखा प्रमुख रेशुका थिङले जानकारी दिनुभयो ।
तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो। “सीप सिक्नु मात्र ठूलो उपलब्धि नभई त्यसलाई निरन्तर अभ्यास र व्यवसायमा रूपान्तरण गर्नु नै वास्तविक सफलता भएको हो ।” शाखा प्रमुख थिङले भन्नुभयो “सिकेको सीपलाई व्यवसायिक रूपमा प्रयोगमा ल्याएर दिनहुँ दक्ष बन्दै जान सकेमा आयआर्जनमा महत्वपूर्ण योगदान पुग्नेछ ।

सहभागीहरूको उत्साह, चासो र सिकाइप्रतिको लगाव प्रशंसनीय रहेको थियो । छोटो अवधिको तालिममा नै सहभागीहरूले सरसफाइ सामग्री उत्पादन गर्ने सीप प्रभावकारी रूपमा सिक्न सफल भएका छन् । बजारमा सरसफाईका सामग्रीहरूको माग निरन्तर रहेको र उत्पादनको गुणस्तर कायम गर्न सके बिक्री वितरणमा समस्या नहुने भएकाले सदस्यलाई तालिम प्रदान गरिएको हो ।

कम लगानीमा नै व्यावसाय सञ्चालन गरेर नामा आर्जनमा समेत सहयोग पुग्ने भएसगैँ नेशनल लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना सदस्यहरुलाई उनीहरुको रोजाई अनुरुप अथवा आफैले अध्ययन सर्वेक्षण गरेर सिप विकासका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सोही अनुसार सदस्यहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने सँस्थाले जनाएको छ।


25.31¡ÆC