
बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।
क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गिरीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । शनिबार विदुरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामनाथ थापा, सचिवमा विष्णुप्रसाद भट्ट, सहसचिवमा टिकाराम विष्ट तथा कोषाध्यक्षमा अनिता श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा उमेश डंगोल, सुजन गिरी, राज श्रेष्ठ, सविना तामाङ र निमाया तामाङ चयन हुनुभएको क्लबले जनाएको छ ।

पुनः अध्यक्षमा चयन भएपछि अध्यक्ष अच्युतराज महन्त गिरीले क्लबलाई आगामी दिनमा अझ सक्रिय, व्यवस्थित र युवामैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुद गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत थप प्रभावकारी बनाइने बताउनुभयो ।
“युवा शक्तिलाई खेलकुदमार्फत अनुशासित, सक्रिय र स्वस्थ बनाउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष गिरीले भन्नुभयो, “क्लबले विगतदेखि गर्दै आएका सामाजिक तथा मानवसेवाका गतिविधिलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।”
उहाँका अनुसार क्लबले विगतदेखि नै खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै विपन्न वर्गका व्यक्ति तथा समुदायलाई आर्थिक सहयोग, रक्तदान कार्यक्रम, सरसफाइ अभियान, स्थानीय पर्व तथा जात्रामा स्वयंसेवक परिचालन, सर्वतपानी तथा खानेपानी वितरण जस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

विशेषगरी रगत अभावका बेला सञ्चालन गरिँदै आएको रक्तदान कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो । “रक्तदान जीवनदान हो भन्ने सन्देशसहित क्लबले निरन्तर सामाजिक अभियान सञ्चालन गर्दै आएको छ,” उहाँले भन्नुभयो ।
त्यसैगरी, सिन्दुरे जात्राका क्रममा भैरवी मन्दिर, देवीघाट तथा बाराही मन्दिर क्षेत्रमा लाग्ने जात्रामा भक्तजनलाई सहजीकरण गर्ने, स्वयंसेवक परिचालन गर्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिइने क्लबले जनाएको छ ।

बट्टार संगमचोकस्थित आफ्नै सुविधासम्पन्न भवनबाट गतिविधि सञ्चालन गर्दै आएको क्लबले युवालाई राष्ट्रनिर्माण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहभागी गराउने उद्देश्य राखेको जनाएको छ । समयको आवश्यकता र युवाको मागअनुसार विधानमा उल्लेख भएका थप कार्यक्रम विस्तार गर्दै लैजाने लक्ष्य समेत क्लबले लिएको छ ।
24.12¡ÆC