
विदुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त विदुर नगरपालिका–१ बान्द्रे, नुवाकोटमा सञ्चालित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले “प्राविधिक शिक्षाः महत्व, अवसर र नुवाकोटमा यसको प्रभावकारिता” विषयमा नुवाकोटका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा शिक्षालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रम, उपलब्ध अवसर, रोजगार सम्भावना तथा प्राविधिक शिक्षाको वर्तमान अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेको थियो।
शिक्षालय प्रमुख कपिल पाण्डेले प्राविधिक शिक्षा आजको आवश्यकता मात्र नभई भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई सीप, दक्षता र रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

त्यसैगरी होटल म्यानेजमेन्ट विभागीय प्रमुख प्रकाश रैलाले शिक्षालयमा सञ्चालनमा रहेका कार्यक्रमहरूको अवस्था र अवसरबारे जानकारी गराउँदै हाल तीन वर्षे होटल म्यानेजमेन्ट, पशु विज्ञान र बाली विज्ञान विषय अध्यापन भइरहेको बताउनुभयो।

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोटमा स्थापना भएर सञ्चालनमा आएसगैँ हालसम्म यहाँ २३३ विद्यार्थी भर्ना भएर अध्ययनमा जोडिएका छन् । प्राविधिक विषय अध्ययनको लागी जिल्ला बाहिर नै जानुपर्ने बाध्यता रहेकोमा अहिले सहुलियत शुल्कमा नै आफ्नै ठाँउमा अध्ययन गर्न रसुवा र नुवाकोटका विद्यार्थीले अवसर पाएका छन् । यहाँको शिक्षामा बाहिर जिल्लाबाट समेत शिक्षार्थीहरु आएर अध्ययन गरिरहेको शिक्षालयको होटल म्यानेजमेन्ट तर्फको विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिनुभयो ।

तीन वर्षे प्राविधिक कार्यक्रमहरूको कुल शुल्क रु. ६० हजार मात्र रहेको छ। साथै सरकारी छात्रवृत्ति तथा उत्कृष्ट विद्यार्थीका लागि निःशुल्क अध्ययनको व्यवस्था समेत रहेको शिक्षालयले जनाएको छ।
शिक्षालयका अनुसार होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न पाँचतारे होटल तथा पर्यटन क्षेत्रका प्रतिष्ठित संस्थाहरूमा रोजगारीमा आबद्ध भएका छन्।
त्यस्तै पशु विज्ञान र बाली विज्ञान अध्ययन गरेका विद्यार्थीहरू सरकारी सेवा, कृषि तथा पशुपालन फार्म, विभिन्न कम्पनी तथा निजी क्षेत्रका प्रतिष्ठित संस्थाहरूमा कार्यरत छन्।

प्राविधिक शिक्षाले रोजगारी मात्र होइन, स्वरोजगार र उद्यमशीलता विकासमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको बताइएको छ। विदेश अध्ययन तथा रोजगारीका अवसरमा समेत सहजता हुने भएकाले विद्यार्थीहरूको आकर्षण बढ्दै गएको उल्लेख गरिएको छ।
शिक्षालयले हाल नयाँ भर्ना खुला रहेको जानकारी दिँदै इच्छुक विद्यार्थी तथा अभिभावकलाई अवसरको लाभ लिन आग्रह गरेको छ।

22.12¡ÆC