किसानसंग विदुर नगरपालिकाको अन्तरक्रिया,मागमा आधारित कार्यक्रम प्राथमिकतामा-नगरप्रमुख श्रेष्ठ

बैशाख ७, २०८३ मा प्रकाशित | 85 views


नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले किसानका समस्या समाधानतर्फ सक्रिय चासो देखाएको छ।

आज आयोजित ‘कृषक समूह, डिलरसिप प्राप्त सहकारी तथा अगुवा व्यावसायिक किसानसँगको अन्तरक्रिया’ कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले किसानको उत्पादन नै आम उपभोक्ताको जीवनको आधार भएकाले किसान समाजको सबैभन्दा महत्वपूर्ण वर्ग भएको बताउनुभयो।

उहाँले किसानहरूले उठाएका जायज माग सम्बोधन गर्न नगरपालिका तयार रहेको उल्लेख गर्दै विगतका किसान लक्षित कार्यक्रमलाई समयअनुसार सुधार गरिने र किसानको चाहनाअनुसार नयाँ कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो।

नगरपालिकाको नारा “शिक्षा, संस्कृति, कृषि र पूर्वाधारको अभियानः दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान” लाई सार्थक बनाउन वडा–वडाको हावापानी र किसानको मागअनुसार एक वडा, एक पकेट क्षेत्र अवधारणामा कृषि उत्पादन बढाइँदै आएको उहाँले बताउनुभयो।

नगरप्रमुख श्रेष्ठका अनुसार किसानलाई चौबिसै घण्टा प्राविधिक सल्लाह उपलब्ध गराइँदै आएको छ। साथै उन्नत जातका बीउ, बिरुवा, माटोको अम्लीयपन घटाउन चुना तथा कृषि यन्त्रउपकरण अनुदानमा उपलब्ध गराइँदै आएको छ। यी सुविधाबाट किसानहरूले उत्पादन वृद्धि र जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा किसानहरूले बाँदरको समस्या, रासायनिक मलको सहज उपलब्धता, बीउबिजन समयमै उपलब्ध गराउनुपर्ने लगायत माग राखेका थिए। ती विषयमा नगरपालिका गम्भीर रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रमममा नगरको विभिन्न स्थानबाट सहभागी भएका किसानले नगरउपप्रमुख प्रभा बोगटी, विभिन्न वडाको अध्यक्षहरु, कृषि विकास कार्यालय, कृषि सामाग्रि कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रतिनिधि लगायतसंग सम्बन्धित आफ्ना जिज्ञासा राखेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web