कृषि क्षेत्रको विकासमा बेलकोटगढी नगरपालिकाको प्राथमिकता

चैत्र १७, २०८२ मा प्रकाशित | 145 views


बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले किसानलाई लक्षित गर्दै विभिन्न योजना, कार्यक्रम तथा सेवामार्फत कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको छ । कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउँदै नगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

नगरप्रमुख गुरुङले कृषि क्षेत्र नै स्थानीय अर्थतन्त्रको मुख्य आधार भएकाले किसानको उत्पादन वृद्धि, आयआर्जन बढाउने र कृषिलाई व्यवसायिक बनाउने दिशामा नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सहुलियतपूर्ण कार्यक्रम तथा सेवाहरु सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

त्यस्तै, उपप्रमुख शिवप्रसाद दाहालले किसानको आवश्यकता र मागलाई आधार बनाएर योजना छनोट गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गर्दै नवीनतम र किसानमैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले प्रत्यक्ष रुपमा कृषकलाई लाभ पुग्ने विश्वास लिइएको छ ।

बेलकोटगढी नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख डा. अञ्जु शर्मा चापागाईंका अनुसार नगरपालिकाले कृषि तथा पशुपंक्षी पालनलाई विशेष प्राथमिकता दिँदै विगतमा सफल भएका कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्दै थप नयाँ तथा प्रभावकारी कार्यक्रममार्फत किसानलाई सेवा पु-याउँदै आएको छ ।

पशुचिकित्सक समेत रहनुभएका डा. चापागाईंका अनुसार किसानलाई अनुदानमा आवश्यक कृषि तथा पशुपंक्षी सम्बन्धी सामग्री उपलब्ध गराउने, निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने, प्रयोगशाला सेवा उपलब्ध गराउने तथा कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्ने जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।

उहाँले बेलकोटगढी नगरपालिकाले यही सातादेखि जिल्लाकै सुविधासम्पन्न तथा अत्याधुनिक ‘ए.एस.टी. ल्याब’ प्रयोगशाला सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । उक्त प्रयोगशालामार्फत पशुपंक्षीमा देखिने सूक्ष्म किसिमका रोगको समेत परीक्षण तथा पहिचान गर्न सकिनेछ । किसानलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रयोगशाला सेवा पूर्ण रूपमा निःशुल्क रहने उहाँले स्पष्ट पार्नुभयो ।

बेलकोटगढी नगरपालिकामार्फत किसानलाई उपलब्ध प्रमुख सेवाहरु: (किसानलाई अनुदान, प्राविधिक सेवा र अत्याधुनिक प्रयोगशाला सुविधा ।)

–किसानको मागमा आधारित अनुदान कार्यक्रम
– पशुको उत्पादन वृद्धि गर्न अनुदानमा गोठ सुधार कार्यक्रम
– डेरी सञ्चालनका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध
– पशुपंक्षीमा निःशुल्क खोप कार्यक्रम सञ्चालन
– रेबिज नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन
– निःशुल्क अत्याधुनिक प्रयोगशाला सेवा
– गोबर परीक्षण, रगत परीक्षण, पोस्टमार्टम तथा बन्ध्याकरण सेवा
– वडागत रूपमा प्राविधिकमार्फत सेवा प्रवाह
– निःशुल्क कृत्रिम गर्भाधान (एआई) सेवा नियमित सञ्चालन
– किसानलाई नियमित प्राविधिक परामर्श सेवा उपलब्ध

नगरपालिकाले कृषि तथा पशुपंक्षी क्षेत्रलाई अझ व्यवस्थित, आधुनिक र उत्पादनमुखी बनाउँदै किसानको उत्पादन तथा आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web