
नुवाकोट । तारकेश्वर गाउँपालिका–४, बुधसिंहमा एकै दिन दुई महत्वपूर्ण सरकारी कार्यालय उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले पशु सेवा उपशाखा र सामुदायिक सीप सिकाई केन्द्रको उद्घाटन गर्नुभएको हो ।
नव उद्घाटित पशु सेवा उपशाखाबाट पशुहरूमा लाग्ने विभिन्न रोगहरूको परीक्षण, उपचार तथा परामर्श सेवा निःशुल्क रूपमा उपलब्ध हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, सामुदायिक सीप सिकाई केन्द्रमार्फत ब्युटिसियन, सिलाई–बुनाई, हस्तकला लगायतका विभिन्न सीपहरू सिकाइनुका साथै आवश्यक सामग्रीसमेत निःशुल्क उपलब्ध गराइने छ ।
गाउँपालिका अध्यक्ष अधिकारीले स्थानीयको जीविकोपार्जन र स्वावलम्बनलाई टेवा पुर्याउने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिँदै आएको बताउनुभयो ।
सोही अवसरमा आयोजित कार्यक्रममा महिला सशक्तिकरण तथा जीविकोपार्जन अभियान अन्तर्गत वडा नं ४ को बुधसिंहका ७ वटा आमा समूहलाई कुल रु ४ लाख ५० हजार सहयोग हस्तान्तरण गरिएको छ । जसअनुसार २ नयाँ समूहलाई प्रति समूह रु १ लाख र ५ पुराना समूहलाई प्रति समूह रु ५० हजारका दरले रकम उपलब्ध गराइएको हो ।
कार्यक्रममा आमा समूहका सदस्यहरू तथा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।
अध्यक्ष अधिकारीले निर्वाचित हुनु अघिदेखि नै आमा समूहमार्फत महिला सशक्तिकरण अभियान सञ्चालन गर्दै आउनुभएको थियो । अहिले उहाँले सोही अभियान निरन्तरता दिदै आउनुभएको छ ।
15.12¡ÆC