सुरुङदेखि स्याटेलाइट सहरसम्म – सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली

फाल्गुन १७, २०८२ मा प्रकाशित | 329 views


नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले आफ्नो विकास प्रतिबद्धता सार्वजनिक गर्दै प्रस्तुत गरिएका सम्पूर्ण योजनामा आफूले प्रत्यक्ष पहल गर्ने घोषणा गर्नुभएको छ।

“सुरुङदेखि स्याटेलाइट सहरसम्म -दूरदर्शी सोच, समृद्ध नुवाकोट” नारासहित उहाँले नुवाकोटको समग्र रूपान्तरणका लागि व्यक्तिगत जिम्मेवारी लिने स्पष्ट अडान व्यक्त गर्नुभएको हो।

‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक समन्वय, पहल र दबाब सिर्जना गर्ने काम आफूबाटै सुरु हुने मैनालीले बताउनुभयो। काठमाडौंसँगको दूरी छोट्याएर आर्थिक, शैक्षिक र स्वास्थ्य पहुँच सहज बनाउने लक्ष्यका साथ यस परियोजनालाई राष्ट्रिय प्राथमिकतामा पार्न आफूले निरन्तर पहल गर्ने उहाँको भनाइ छ।

तादी–लिखु–सिन्धुरे खोलामा कृत्रिम ताल निर्माण, ककनी–सुर्यचौर क्षेत्रमा प्याराग्लाइडिङ प्रवर्द्धन तथा दुप्चेश्वर–गोसाइँकुण्ड क्षेत्रमा केबलकार सञ्चालन जस्ता पर्यटनमुखी योजनामा पनि आफूले सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पर्यटनमार्फत स्थानीय रोजगारी र आयआर्जन बढाउने उहाँको लक्ष्य रहेको छ।

त्यसैगरी ककनी, लिखु र शिवपुरी क्षेत्रमा स्याटेलाइट ग्रामीण सहर विकासको अवधारणा कार्यान्वयन गर्न पूर्वाधार, खानेपानी, शिक्षा र स्वास्थ्य सेवामा बजेट सुनिश्चित गर्न आफूले पहल गर्ने मैनालीले बताउनुभयो। गाउँमै अवसर सिर्जना गर्ने उद्देश्यले “भिलेज आईटी पार्क” स्थापना गरी युवालाई प्रविधिमैत्री रोजगारी उपलब्ध गराउने काममा पनि आफू अग्रसर रहने उहाँको दाबी छ।

“यी सबै योजना केवल घोषणापत्रका शब्द होइनन्, कार्यान्वयनका लागि म स्वयं अग्रपंक्तिमा उभिन्छु,” मैनालीले भन्नुभयो, “दीर्घकालीन सोचसहित नुवाकोटलाई समृद्धिको नयाँ चरणमा पुर्‍याउन मेरो निरन्तर पहल रहनेछ।”

उहाँले मतदातालाई विकास, स्थायित्व र समृद्धिका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web