गोर्स्याङ एकता युवा क्लबको ल्होछार विशेष बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

माघ २५, २०८२ मा प्रकाशित | 376 views

गोर्स्याङ एकता युवा क्लबको ल्होछार विशेष बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

नुवाकोट । तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा तारकेश्वर–५, मानेडाँडास्थित गोर्स्याङ एकता युवा क्लबले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

गोर्स्याङ मानेडाँडामा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले तामाङ समुदायको सांस्कृतिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि तारकेश्वरको स्थानीय सरकारले गरिरहेको काम प्रशंसनीय रहेको बताउनुभयो । पालिको गतिबिधिमा आफूले निरन्तर सहयोग गर्दै आएको पनि उहाँले स्मरण गराउनुभयो ।

खुसी, एकता र सद्भावको उत्सवका रूपमा रहेको यस पर्वलाई महोत्सवका रूपमा विकास गर्न सबै मिलेर काम गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आफू अध्यक्ष हुनु अघिदेखि नै तारकेश्वरको प्रमुख तथा सुन्दरतम सांस्कृतिक उत्सवका रूपमा रहेको ल्होछार पर्वलाई व्यापक रूपमा प्रवर्द्धन गर्दै महोत्सवका रूपमा विकास गर्न भूमिका खेल्दै आएको बताउनुभयो ।
अध्यक्ष अधिकारीले आफ्नो नेतृत्वमा स्थानीय सरकारले तामाङ समुदायको भाषा–संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विद्यालय तहदेखि ‘भाषा र भूषा’ अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको निर्माण र पुनर्निर्माण, मेला–पर्व तथा उत्सवहरूको प्रवर्द्धन, गीत–संगीत, भाषा, भूषा र कलाको उत्थानका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

पहिचानको मुद्दालाई चुनावी नारामा मात्र सीमित नराखी वास्तविक रूपमा स्थापित गर्न सबै तहका सरकार र स्थानीय समुदायले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक उन्नयनको साधनका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै यसका लागि सबै सरोकारवालासँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web