
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ४ मा रहेको चक्रेश्वर आधारभूत विद्यालयमा आयोजित “गाउँपालिका अध्यक्षसँग बा-आमा तथा छोराछोरी विशेष भेटघाट कार्यक्रम”मा गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विद्यालयलाई करिब ५ लाख रुपैयाँ बराबरको सहयोग घोषणा गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले विद्यालयको भौतिक संरचना बालबालिकाका लागि सुरक्षित नरहेको पाइएको भन्दै तत्काल रु ३ लाख नगद सहायता उपलब्ध गराइने जानकारी दिनुभयो। साथै, विद्यालयको चौरको मर्मत तथा अन्य आवश्यक सुधार कार्यका लागि थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो।
उहाँले भन्नुभयो, “शिक्षा मात्र होइन, बालबालिकाको सुरक्षासमेत हाम्रो प्राथमिकता हो। सुरक्षित र सहज वातावरणमा पठनपाठन गर्न पाउनु उनीहरूको अधिकार हो।”
अध्यक्ष अधिकारीले शैक्षिक सुधारका लागि रु १ लाख र विद्यार्थीहरूलाई ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका स्थानहरूको प्रत्यक्ष अवलोकन गराउँदै पढाउने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमणका लागि रु ५० हजार सहयोग घोषणा गर्नुभएको हो।
विद्यालय र बालबालिकाका लागि तत्काल आवश्यक पर्ने शैक्षिक सामग्री गाउँपालिकाबाट उपलब्ध गराइने बताउँदै अध्यक्ष अधिकारीले स्टोर शाखासँग समन्वय गरी शैक्षिक सामग्री बुझिलिन र जेहेन्दार तथा निम्न आय भएका परिवारका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर वितरण गर्न आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र सरकारबीचको आपसी समन्वय र साझा प्रयासबाट मात्रै विद्यालयको उन्नति सम्भव हुने बताउँदै अध्यक्ष अधिकारीले अभिभावकहरूले पनि विद्यालय र आफ्ना नानीहरूको दुवै गतिविधिमा चासो राख्दै मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले परम्परागत शिक्षणशैलीमा मात्र भर नपरी समयसापेक्ष प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने भन्दै त्यसका लागि गाउँपालिकाले सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्ने र कम्प्युटर, प्रिन्टरजस्ता प्रविधि सामग्री सहयोग गर्ने काम गर्दै आएको जानकारी दिनुभयो।
बदलिँदो समय र प्रविधिलाई ध्यानमा राखेर शिक्षकहरूले निरन्तर सिक्ने, सिकेका कुरा शिक्षण र व्यवहारमा लागू गर्दै आफूलाई अपडेट गर्दै जानुपर्ने उहाँको सुझाब थियो।
अध्यक्ष अधिकारीले आफू निर्वाचित भएदेखि नै शिक्षामा नयाँ लहर सिर्जना गर्ने र शिक्षक, विद्यार्थी तथा व्यवस्थापनसँगसँगै अभिभावकका गुनासा सुन्ने तथा अभिभावकलाई पनि जागरुक र जिम्मेवार बनाउने उद्देश्यले अध्यक्षसँग बा-आमा तथा छोराछोरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आउनुभएको बताउनुभयो।
बुधबार आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले ‘शैक्षिक लहर, अभिभावक भेट्ने रहर’ भन्ने नाराका साथ शिक्षामा नयाँ लहर सिर्जना गर्न कार्यक्रमलाई अझै व्यापक र प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
15.47¡ÆC