
नुवाकोट । बिदुर नगरपालिका–३, मैरिटारमा सञ्चालित चण्डी आधारभूत विद्यालयले स्थापनाको ४९औं वार्षिकोत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले शिक्षा मानव जीवनको मेरुदण्ड भएको बताउँदै आधारभूत तहमा सुधार ल्याउन विद्यालय, अभिभावक र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको पूर्वाधार, स्रोतसाधन तथा गुणस्तरीय शिक्षामा योगदान गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग हुने जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण, शैक्षिक अवस्था, समस्या र समाधानका उपायहरूको बारेमा जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयको शैक्षिक यात्रामा उल्लेखनीय योगदान पुर्याउने समाजसेवी, पूर्वशिक्षक र अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले नृत्य, कविता वाचन, खेलकुद जस्ता विविध अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए। त्यस्तै कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमुख अतिथिद्वारा पुरस्कारसहित सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले समारोह झनै आकर्षक बनेको थियो ।
15.12¡ÆC