तीनसय भन्दाबढी परिवारलाई पानी खुवाउने ‘खरानीटार खानेपानी योजना’को निर्माण तिव्र

मंसिर १८, २०८२ मा प्रकाशित | 327 views


नुवाकोट । तादी गाउँपालिका–३ स्थित खरानीटारका तीनसय भन्दाबढी घरपरिवारका दुई हजार नागरिकलाई स्वच्छ पिउने पानी खुवाउन निर्माण थालिएको खानेपानी योजनाको कार्य तिव्रता गतिमा अघि बढाइएको छ ।

तादी–१ स्थित ओख्रेको मुहानबाट पानी ल्याएर तादी–३ खरानीटारका बासिन्दालाई खुवाउन ‘खरानीटार खानेपानी बृहत्त योजना’ अन्तरगत अहिले दोश्रो चरणको काम भइरहेको हो ।

यसअघि उपभोक्ता समिति मार्फत पाइप विस्तार सहित दोर्खुखोलामा क्रसपाइप राख्ने कार्य गरिएकोमा अहिले निर्माण व्यावसायी मार्फत पाइप विस्तारको बाँकी कार्य भइरहेको स्थानीय उपभोक्ता राजकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार उपभोक्ता समिति मार्फत तीन हजार १४० मिटर पाइप विस्तार गरिएको छ । दोर्खुखोलामा २४० मि.लम्बाईको ओभरहेड क्रस पाइपलाइन विस्तारको काम सम्पन्न गरिएको छ । अहिले दोश्रो चरणमा निर्माण व्यावसायी मार्फत बाँकी पाइप लाइन विस्तारको काम भइरहेको हो ।

९० एम.एम.को पाइप जमिनमुनी पुरेर योजना सञ्चालनको लागी सुगम कन्स्ट्रकक्सन मार्फत चार हजार २०० मि.लम्बाईको पाइप विस्तारलाई तिव्रता दिइएको हो । उक्त कार्यको लागी तादी गाँउपालिकाको आन्तरिक श्रोत अन्तरगत ४० लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

विगतमा बजेट प्राप्त भएपनि कार्यान्वयनका लागी मुहान प्राप्तीको समस्या लगायतले अबरोध भएको थियो । बजेट कार्यान्वयन गर्न नसक्दा फिर्ता भएसगैँ अन्योल बनेको उक्त योजना खरानीटारका युवाहरुको पहलमा विभिन्न तहमा रहेका प्रतिनिधिको सकारात्मक सहयोगले सम्पन्न हुने आशा जगाएको हो ।

मुहानको जग्गा प्राप्तीको समस्या व्यक्तिको योगदानबाट समाधानः
खरानीटारका स्थानीय ३०५ घरधुरीका दुई हजारभन्दा धेरै स्थानीयबासीलाई चौविसै घण्टा खानेपानी सुविधाको लागी ल्याउन लागिएको पानी विभिन्न अबरोधका बाबजुत अघि बढेकोमा स्थानीयबासी निकै उत्साहतका साथ योजना कार्यान्वयमा जुटिरहेका छन् ।

पानी ल्याउन मुख्यतः मुहानको समस्याले धेरै समय लागेको हो । पानीको मुहान भएको जग्गा व्यक्तिको नाममा पर्ने भएकाले उक्त जग्गा धनीलाई खरानीटार निवासी समाजसेवी राजिव श्रेष्ठले चार आना सट्टा जग्गा दिएर मुहान भएको खेत समितिको नाममा उपलब्ध गराउनुभएको हो ।

“सम्बन्धित जग्गाधनीसंग मुहान लिनको लागी उहाँले पनि सोही बराबरको जग्गाको माग गर्नुभएको थियो । खानेपानी समितिसंग उक्त जग्गा खरिदको लागी बजेट थिएन ।” खानेपानी उपभोक्ता एंव युवा समाजसेवी राजिव श्रेष्ठले भन्नुभयो “खरानीटार स्थित सडक पहुँचको जग्गा पानीको मुहान भएको जग्गाधनीलाई दिएर मुहान भएको जग्गा खानेपानी समितिको नाममा ल्याउन सहमति गरिएको छ ।” मुहान भएको जग्गा प्राप्तीको लागी उहाँले आफ्नो व्यक्तिगत जग्गा सट्टामा दिएर मुहानको जग्गा समितिको नाममा ल्याउन निःशुल्क उपलब्ध गराउनुभएको हो ।

योजना कार्यान्वयनमा सहयोगी हातहरुः
खारनीटारबासीले अहिले खरानीटार खानेपानी योजना अन्तरगत उपभोग गर्दै आएको पानीले अपुग हुने भएसगैँ उर्लेनीको ओख्रेबाट पानी ल्याउन थालिएको प्रयासमा विभिन्न समस्याहरु मध्ये बजेटको श्रोत सुनिश्चित र प्रशासनिक सहयोग पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

तादी गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल मार्फत प्रशासनिक सहजिकरणको लागी ठूलो योगदान र सहयोग रहेको स्थानीय उपभोक्ता बताउछन् । मुहानको लागी जग्गा प्राप्ती लगायतका प्रक्रिया एंव प्राप्त भएको बजेट कार्यान्वयनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खनालको निरन्तरको पहलकदमी, सहजिकरण एंव बजेट व्यवस्थापनमा गर्नुभएको सहजिकरणबाट योजना सफल कार्यान्वयनको चरणमा अघि बढेको हो ।

यस्तै, पहिलो चरणमा बजेट उपलब्ध गराई योजना प्रारम्भ गर्न नेपाली कम्युनिष्ट पाटीका नेता एंव बागमती प्रदेससभा सदस्य राधिका तामाङको उल्लेख्य योगदान रहेको छ । पूर्व राज्यमन्त्री एंव प्रदेसको निवर्तमान उपसभामुख तामाङको पहलमा २७ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएको हो । उक्त बजेट मार्फत समितिले तीन हजार १४० मि.पाइप लाइन बिछ्याउने कार्य र दोर्खु खोलामा २४० मि. ओभरहेड क्रस पाइप विस्तार सम्पन्न गरेको हो ।

योजना कार्यान्वयनको क्रममा दोश्रो चरण अन्तरगत अहिले गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सञ्जु प्याकुरेल (श्रेष्ठ), वडा नं १ का अध्यक्ष नकुर दोङ, ३ का अध्यक्ष सोनाम तामाङ सहितको जनप्रतिनिधि, कर्मचारी लगायतको सहयोग प्रशंसनीय रहेको छ ।

न्यून बजेट रहदाँको बखतमा समेत गाउँपालिकाले आन्तरिक श्रोत मार्फत ४० लाख रुपैयाँ उपलब्ध गराई ठेक्का प्रणाली मार्फत बाँकी काम अघि बढेसगैँ योजनाको धेरै काम सम्पन्न हुने निश्चित भएको उपभोक्ता समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दोश्रो चरणमा अहिले भइरहेको काम सम्पन्न हुदाँ खरानीटार स्थित बस्ती नजिकै पानी आइपुग्नेछ । त्यसपछि वितरणको लागी ट्याङ्की निर्माण गरेर उपभोक्ताको घरघरमा स्वच्छ पिउने पानी पुर्‍याइने भएकाले योजना सम्पन्न हुन धेरै समय कुर्न नपर्ने बताउनुहुन्छ योजना कार्यान्वयको लागी निःशुल्क जग्गादान सहित निरन्तर संघर्ष र श्रमदानमा जोडिनुभएका युवा समाजसेवी राजिव श्रेष्ठ ।

योजना सम्पन्न भएसगैँ यसअघि स्थानीय मुहानको पानी उपभोग गर्दै आएका उपभोक्तालाई चौविसैँ घण्टा स्वच्छ एंव गुणस्तरीय पानीको सुनिश्चितता हुने भएकाले उपभोक्ताहरु योजना सम्पन्नको पखाईमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web