अध्यक्ष अधिकारीद्वारा गोरखनाथ आविलाई करिब तीन लाखको सहयोग घोषणा

मंसिर १८, २०८२ मा प्रकाशित | 330 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा नं ३ मा अवस्थित गोरखनाथ आधारभूत विद्यालयलाई करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

विद्यालयमा आयोजित ‘गाउँपालिका अध्यक्षसँग बा–आमा तथा छोराछोरी कार्यक्रम’मा बोल्दै अध्यक्ष अधिकारीले शैक्षिक सुधारका लागि १ लाख रुपैयाँ र शैक्षिक भ्रमणका लागि थप १ लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको हो।

शैक्षिक भ्रमण अन्तरगत विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गर्दै, पढ्दै सिक्ने अवधारणा अनुरूप ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको अध्ययन, अवलोकन गराउनलाई केन्द्रित गराइने उहाँले जानकारी दिनुभयो । यस्तै, अध्यक्ष अधिकारीले ‘संस्कार सहितको शिक्षा’लाई प्रवर्द्धन गर्न नैतिक र सांस्कृतिक शिक्षाको दुई महिने कक्षा सञ्चालनका लागि ४० हजार रुपैयाँ सहयोग तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक र स्थानीय सरकारबीचको समन्वय र सहकार्यले मात्र विद्यालयको उन्नति सम्भव हुने धारणा राख्नुभयो। साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकाको पढाइप्रति चासो राख्न र सक्रिय भूमिका खेल्न पनि आग्रह गर्नुभयो।

परम्परागत शिक्षणशैलीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले गाउँपालिकाबाट सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन र कम्प्युटर, प्रिन्टरजस्ता सामग्री उपलब्ध गराउने कार्य जारी रहेको जानकारी दिनुभयो।

“बदलिँदो समय र प्रविधिको गतिसँग तालमेल मिलाउँदै शिक्षकले पनि निरन्तर सिकिरहनुपर्ने र सिकेको व्यवहारमा उतार्नुपर्ने” अध्यक्ष अधिकारीको सुझाव थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web