
नुवाकोट । ऐतिहासिक तुलजा भवानी (तलेजु) मन्दिर र साततले दरबार पुनर्निर्माण कार्यअन्तर्गत जग सतहको संरक्षण कार्य अघि बढाउनका लागि मंगलबार विशेष शुभसाइतमा भूमि पूजा सम्पन्न गरिएको छ ।
चीन सरकारको सहयोगमा जारी पुनर्निर्माण परियोजनाअन्तर्गत आयोजित भूमि पूजामा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिने यस सम्पदाको पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन विदुर नगरपालिकाबाट आवश्यक सहयोग तथा सहजीकरण भइरहेको नगरपालिकाले जनाएको छ । तोकिएको समयसीमाभित्र पुनर्निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यसहित चीन सरकारका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
भूमि पूजाको अवसरमा पुरातत्व विभागका महानिर्देशक, नगरप्रमुख राजन श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, श्री शेर गण (नेपाली सेना), जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न कार्यालयका प्रमुख, वडाध्यक्षहरु, जनप्रतिनिधि, स्थानीयवासी तथा पुनर्निर्माण कार्यमा संलग्न चिनियाँ प्राविधिकसहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
16.6¡ÆC