सरकारले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन जारी गर्ने

मंसिर ९, २०८२ मा प्रकाशित | 214 views


काठमाडौँ । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन–२०८२ धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्ने तयारी स्वरूप प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो ।

मस्यौदामा मार्जिन कारोबारका लागि योग्य शेयरको व्यवस्था गरिएको छ । मार्जिन कारोबार सुविधाको प्रयोजनका लागि कम्तीमा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पूँजी बराबर र त्योभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत निष्कासन भएको शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरू पूरा गरेको सूचीकृत सङ्गठित संस्थाको शेयर मात्र योग्य हुने व्यवस्था गरिएको छ ।

त्यस्तै मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यतासमेत तोकिएको छ । मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहनेले बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले चुक्ता पूँजी कम्तीमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरू पूरा गरेको हुनुपर्नेछ ।

प्रस्तावित मस्यौदा अनुसार धितोपत्र दलाल व्यवासायीले मार्जिन कारोबार सुविधा दिनुअघि नै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरणसहित धितोपत्र बजारमा सहमतिका लागि निवेदन पेश गर्नुपर्नेछ ।

धिताेपत्र बाेर्ड (सेबोन) ले तयार पारेको नयाँ मस्यौदामा ब्रोकरको क्षमता, पूँजी संरचना, एक ग्राहकलाई दिन सकिने सुविधाको सीमा, योग्य शेयरको छनोट, जोखिम व्यवस्थापन प्रक्रिया र मार्जिन कलसम्बन्धी विस्तृत व्यवस्थासमेत समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web