नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिँदै

कार्तिक २२, २०८२ मा प्रकाशित
Published at कार्तिक २२, २०८२

62 views

काठमाडौँ । भारतको बिहारमा दोस्रो चरणको विधानसभा चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिँदैछ । मधेश प्रदेशको महोत्तरीसहित धनुषा, सर्लाही तथा रौतहट जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् तीन दिन सीमा नाका बन्द हुने जनाएका छन् ।

आज बेलुका ६ बजेदेखि यही मङ्गलवार बेलुका ६ बजेसम्म सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । यस्तै सप्तरी प्रशासनले भोलि आइतवार रातिदेखि ७२ घण्टाका लागि सीमा बन्द हुने जनाएको छ ।

सप्तरीसँग सिमाना जोडिएको बिहारको मधुबनी र सुपौल जाने मुख्य नाकासहित अन्य सीमा हुँदै आवतजावत गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । दोस्रो चरणमा बिहारका मधुवनी, सुपौलसहित २० जिल्लामा एक सय २२ विधानसभा सिटका लागि मङ्लवार मतदान हुँदैछ ।

मङ्गलवार हुने मतदानको शान्ति–सुरक्षाका लागि सीमा नाका बन्द गर्न लागिएको हो । मानवीय तथा आकस्मिक सेवाबाहेक तीन दिन आवागमन पूर्ण रूपमा रोकिनेछ । सीमा बन्द भएसँगै जनकपुर–जयनगर रेल सेवा पनि चल्ने छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि मात्रै सेवा सुरु हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.