सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो

कार्तिक १०, २०८२ मा प्रकाशित | 325 views


काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।

शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलालाउनुभएको थियो। विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गर्नुभएको हो ।

सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो। घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिष्मा श्रीरभोइकारले गोल गर्नुभयो ।

ट्राईनेसन्स कपमा इरानले भारत  र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो । जहाँ नेपालले भारतलाई उसैको मैदानमा हराउन सफल भयो ।

भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहनुभयो । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसक्नु भएको छ । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याउनुभएको छ ।

पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो । त्यसअघि भारत इरानसँग २-० ले पराजित भएको थियो । नेपाली टोली उपाधि जित्ने लक्ष्य लिएर शिलोङ पुगेपनि पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो ।

पछिल्लो समयम महिला फुटबलमा भारत विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारत विरुद्धको नेपालको यो चौथो जित हो । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।

यस्तै काठमाडौंसमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । यो जितसहित पछिल्लो पाँच खेलमा नेपालले भारतसँग अपराजित छ ।

भारत विरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवाले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गर्नुभएको छ। नेपाल यू१९ महिला टिमकी फरवार्ड उनले उनले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएको हो ।

यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रुपमा पहिलो जित आत्मसाथ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web