गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न

कार्तिक २, २०८२ मा प्रकाशित | 465 views


काठमाडौँ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरिरहेको हो ।

भरतपुर महानगरका इन्जिनियर घनश्याम मिश्रका अनुसार अहिले प्याराफिट र दुई वटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डन्डी बाँध्ने काम भइरहेको जनाउँदै उहाँले टावरको पर्खाल निर्माण गर्ने कामसमेत भइरहेको बताउनुभयो ।

धुर्मुस–सुन्तली फाउन्डेशनले काम गर्न नसकेपछि महानगरलाई यो परियोजना पालिकामा हस्तान्तरण भएको थियो । हिमालयन कालिञ्चोक बीबीआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ ।

२०८३ सालको पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँमा ठेक्का लगाएको महानगरले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ ।

पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भीआईपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज अर्थात् पानी निकास, रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने महानगरका इन्जिनियर मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।

त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका वडा नम्बर १५ मा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web