
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं १० स्थित धार्मिक तथा ऐतिहासिक महत्वको निरञ्जना भगवती मन्दिर परिसरमा निर्माण गरिएको “जमरा घर” हस्तान्तरण गरिएको छ ।
नेपाली सेना र बेलकोटगढी नगरपालिकाको संयुक्त सहकार्यमा पुनःनिर्माण गरिएको जमराघर नेपाली सेनाको श्री नं. ६ बाहिनी अड्डाका बाहिनीपति, सहायक रथी सुभास जंग थापाले निरञ्जना भगवती मन्दिर संरक्षण समितिलाई बिहीबार आयोजित एक कार्यक्रमको बीच हस्तान्तरण गर्नु भएको हो ।
नेपाली सेनाले संचालन गरेको ‘शीघ्र प्रभावी आयोजना’ (Quick Impacts Projects) कार्यक्रम अन्तरगत ऐतिहासिक तथा धार्मिक महत्व बोकेको निरञ्जना भगवती मन्दिरपरिसरमा उक्त जमराघरको हालै पुर्ननिर्माण गरिएको थियो ।
बेलकोटगढी नगरपालिकासंगको सहकार्यमा नेपाली सेनाले निर्माण गरेका उक्त जमरा घर उद्घाटन एंव हस्तान्तरण कार्यक्रममा बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, उप–प्रमुख शिवप्रसाद दाहाल लगायतका जनप्रतिनिधि, नुवाकोटको सुरक्षार्थ रहेको श्री शेर गणका गणपति अशोक कुमार मल्ल सहित स्थानीयबासीको सहभागिता रहेको थियो ।
निरञ्जना भगवती मन्दिर परिसरमा स्थानीयहरुले परम्परागतकालदेखि हिन्दुहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा जमरा राख्ने परम्परा रहँदै आएकाले जीर्ण रहेको भवनको पुर्ननिर्माणमा नेपाली सेनाले चासो देखाई मौलिक एंव पुरातात्विक महत्वको संरचना निर्माण गरिएका हो । उक्त कार्यमा नगरपालिकाबाट पनि केही आर्थिक सहयोग भएसगैँ जमराघरको पुर्ननिर्माण कार्यले सार्थकता पाएको हो ।
“धेरै वर्ष पहिला निर्माण गरिएको जमराघर जीर्ण अवस्थामा रहेकोले नयाँ जमराघर पुनःनिर्माण गरी धार्मिक रीतिरिवाजको संरक्षणमा टेवा पु-याउन नेपाली सेनालाई समुदायबाट भएको माग अनुरुपको जिम्मेवारी पूरा गरिएको बाहिनीपति सहायक रथी सुभास जंग थापाले जानकारी दिनुभयो ।
नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई प्रत्यक्ष लाभान्वित हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालनको क्रममा जमराघरको पुर्ननिर्माण गरिएको श्री शेर गणका गणपति अशोक कुमार मल्लले जानकारी दिनुभयो । नेपाली सेनाले शीघ्र प्रभावी योजना मार्फत धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक कार्यहरु सम्पादन गर्दै आएको उहाँको भनाई छ ।
समुदायमा शान्ति सुरक्षा, विपत व्यवस्थापन, धार्मिक एंव साँस्कृतिक सम्पदाको संरक्षण तथा जगेर्ना लगायतका गतिविधि मार्फत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको नेपाली सेनाले निरञ्जना भगवती मन्दिर परिसरमा पुनःनिर्माण गरिएको हो ।
यस कार्य अन्तरगतको नयाँ जमराघर निर्माणले दशै पर्वको समयमा सामूहिक जमरा राख्नलाई निकै ठूलो सहयोग पुगेको मन्दिरका पुजारी भोलाराज पौडेलको भनाई छ ।