शरद् ऋतुमा हिमाल आरोहण गर्न १ हजार २०३ जनाले अनुमति लिए

अशोज ३०, २०८२ मा प्रकाशित
Published at अशोज ३०, २०८२

92 views

काठमाडौँ । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि १ हजार २०३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५१ वटा हिमाल आरोहणका लागि ७८ देशका नागरिकले अनुमति लिएका हुन् ।

सबैभन्दा धेरै चीनबाट १०३ जना आरोहीले अनुमति लिएका छन् । यस्तै जर्मनीका १००, बेलायतका ९२ र फ्रान्सका ८२ जनाले अनुमति लिएका छन् ।

सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन् । यस्तै आमाडब्लमका लागि २७५, हिम्लुङका लागि १७६ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये २८३ जना महिला रहेका छन् ।

आरोहण अनुमतिबापत सरकारले २२ करोड ९१ लाख ८७ हजार ९८१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

हिजोसम्म सङ्कलन भएको यो रोयल्टी गएको वर्षको भन्दा तेब्बरले बढी हो । गएको वर्ष १ हजार २ सय ८० जनालाई अनुमति दिँदा ७ करोड ६३ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो । गएको वर्षभन्दा आरोहीको सङ्ख्या थोरै कम भए पनि रोयल्टी तेब्बर हुनुका कारण यस वर्ष आरोहण दस्तुर बढेर भएको हो ।

यस वर्ष आरोहणको मुख्य सिजनमा जेन–जी आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति र मनसुनजन्य प्रकोपका बीच पनि पर्वतारोहण व्यवसायमा समस्या देखिएन । शरद् याममा अझै पनि अनुमति लिने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.