
काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४० अङ्कले घटेर २ हजार ४ सय ८७ दशमलव १७ विन्दुमा झरेको छ ।
नेप्से १ वर्षयताकै कम विन्दुमा आइपुगेको हो । यसअघि गएको वर्षको असोज १० गते नेप्से २ हजार ४ सय ८६ विन्दुमा रहेको थियो ।
आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९७ वटा कम्पनीको शेयर घटेकोमा ४५ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएन ।
आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम सामान्य बढेको छ । हिजो ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ७६ लाख ४३ हजार कित्ता शेयर ३ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ ।