अध्यक्ष अधिकारीको निर्देशनमा पसलहरुको छड्के अनुगमन

अशोज २९, २०८२ मा प्रकाशित
Published at अशोज २९, २०८२

110 views

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलको निर्देशनमा सामाजिक पञ्जीकरण शाखाका कर्मचारी सहित गाउँ प्रहरीको टोलीले वडा नं ५ र ६ का पसलहरूको छड्के अनुगमन गरी म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका खाद्य तथा पेय पदार्थ जफत गरेको छ ।

अनुगमनका क्रममा विगतमा भन्दा यस्ता पदार्थको मात्रा निकै कम भेटिएकाले अवस्था सुधारोन्मुख रहेको अनुगमन टोलीको निष्कर्ष छ । साथै, अधिकांश पसलमा पसल सञ्चालकको बदनियतभन्दा पनि अनधिकृत रूपमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ सप्लाई गर्ने बिचौलियाहरूको झुक्यानमा पसल सञ्चालकहरू परिरहेको पाइएको छ ।

अध्यक्ष अधिकारीले यस्ता खाद्य पदार्थको बिक्री वितरण नगर्न विगतमा दिएको निर्देशनलाई पुनः स्मरण गराउँदै तत्कालै यस्ता पदार्थ हटाएर सफा र स्वच्छ वातावणमा गुणस्तरीय खाद्य सामग्रीको मात्रै व्यापार गर्न गाउँपालिकाभरिका सम्पूर्ण पसल व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

साथै, समान खरिद गर्दा अधिकृत विक्रेता मार्फत एक्सपाइरी डेट हेरेर मात्र खरिद गर्नुपर्ने र पसलमा सामानको सुरक्षित भण्डारणको व्यवस्था गर्नुपर्नेमा समेत अध्यक्ष अधिकारीले जोड दिनुभएको छ ।

स्थानीय सरकारको निर्देशनलाई अटेरी गरी गुणस्तरहिन खाद्य पदार्थ बेच्ने र जनस्वास्थ्यमा खेलवाड गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत उहाँले दिनुभएको छ ।

स्थानीय सरकार स्वस्थ र स्वच्छ व्यवसायको पक्षमा रहेको प्रस्ट पार्दै अध्यक्ष अधिकारीले जनस्वास्थ्यको संरक्षणका लागि चालिएका कदमलाई सहज रुपमा लिएर स्वतःस्फूर्त ढङ्गले साथ सहयोग पुर्याउनु हुन व्यवसायी वर्गमा विषेश आग्रह गर्नुभएको छ ।

विगतदेखि नै समय समयमा अनुगमन गर्दै आएको गाउँपालिकाले चाडपर्वको समयमा अनुगमनलाई तिव्र पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.