अन्तर्राष्ट्रियस्तरमा गौरव दिलाउने खेलाडी कुमार तामाङ सम्मानित

अशोज १४, २०८२ मा प्रकाशित | 1226 views


नुवाकोट । सुर्यगढी गाउँपालिका–३ द्वारा मित्र राष्ट्र चीनमा २०२५ अगस्ट २१ देखि २५ सम्म सम्पन्न ANTA ग्राण्ड स्ल्याम युथ लिग फाइनलमा नेपालबाट पहिलो पटक भर्चुअल ग्यरोगी (VR) इभेन्टमा सहभागिता जनाई स्वर्ण पदक जित्न सफल खेलाडी कुमार तामाङलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष पिङल बहादुर थापा मगरले स्वर्ण पदक जितेर नेपाल मात्र नभई विशेषगरी सुर्यगढी–नुवाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुभएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुद क्षेत्रको उन्नति र प्रतिभावान खेलाडीको प्रोत्साहनका लागि वडा कार्यालय सधैं सहयोगी रहने प्रतिवद्धता समेत जनाउनुभयो।

सम्मानित हुनुभएका खेलाडी कुमार तामाङले करिब दुई दशकदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्दै नेपाली खेलकुदलाई गौरव दिलाउँदै आउनुभएको छ। साथै, उहाँ तेक्वान्दोका दक्ष निर्णायक (Referee) तथा नुवाकोट जिल्ला खेलकुद विकास समितिका सदस्यको रूपमा रहँदै खेलकुदको अनुशासन, विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलकर्मी तथा आम नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित सबैले कुमार तामाङको उपलब्धि सुर्यगढी र सम्पूर्ण नुवाकोटको गौरव भएको भन्दै आगामी दिनमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web