दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

भदौ २९, २०८२ मा प्रकाशित | 516 views


काठमाडौँ । दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क अनि अन्य बैङ्क तथा वित्तिय संस्थामा भौतिक धेरै क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोटको सटही गर्न सकिनेछ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट साट्न सक्ने गरी व्यवस्थापन गरिएको राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डितले जानकारी दिनुभयो ।

यसपाली पाँच रुपैयाँ दरको नोट भने नयाँ पनि वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले अघिल्लो वर्षदेखि दशैँका लागि नयाँ नभइ सुकिला नोट वितरण गर्न थालेको हो । यसवर्षको बडादशैँ अर्थात् टिकाको मुख्य दिन आउँदो असोज १६ गते बिहीवार परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web